काठमाडौँ, ११ असोजः पूर्वप्रधानमन्त्री एवं वरिष्ठ वामपन्थी नेता झलनाथ खनालले प्रमुख वामपन्थी दलका शीर्ष नेतृत्वमा स्पष्ट राजनीतिक दृष्टिकोणको अभावका कारण पछिल्लो निर्वाचनमा वामपन्थी शक्तिहरूले ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभएको छ ।
लेखक जयवल्लभ भट्टद्वारा लिखित ‘पुर्खाका पाइला’ कृतिको विमोचन समारोहमा पूर्वप्रधानमन्त्री खनालले वामपन्थी शक्तिहरूबीच कार्यगत एकता गरेर निर्वाचनमा गएको भए आज वामपन्थी शक्तिहरूको क्षति न्यून हुने थियो भन्नुभयो । निर्वाचनअघि नै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वामपन्थी शक्तिहरूबीच कार्यगत एकता गरेर निर्वाचनमा जान आफूले पटकपटक आग्रह गरेको स्मरण गर्दै उहाँले आफूले दूरदर्शिताका साथ यस्तो प्रस्ताव राखे पनि तत्कालीन नेतृत्वले आआफ्नै ढङ्गले निर्वाचनमा जाँदा क्षति भएको उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री खनालले अहिले पनि वामपन्थी दलका कार्यकर्ताले पार्टी नबदलेको, केवल मत परिवर्तन गरेको अवस्था रहेको दाबी गर्दै विगतका कमजोरी र गल्तीको आत्मालोचनासहित जनताको सामाजिक समस्या समाधान गर्न नेतृत्व क्रियाशील भए अझै पनि वामपन्थी शक्तिहरू पुरानै जनआधारमा फर्किन सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिलेको आवश्यकता वामपन्थी शक्तिहरूबीच कार्यगत एकता गर्दै क्रमशः वामपन्थी एकतातर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले अहिलेको सरकारले मुलुक निर्माणका लागि विगतमा शासन सञ्चालन गरिसकेका तथा लामो राजनीतिक अनुभव भएका व्यक्तिहरूको अनुभवबाट सिक्नुपर्ने बताउनुभयो । सरकारले कार्यक्षमतामा प्रभावकारी रूपमा अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “देश बनाउने हुटहुटी छ भने अनुभवी राजनीतिक व्यक्तिहरू र पूर्वप्रधानमन्त्रीहरूसँग विचारविमर्श गरेर उहाँहरूको अनुभव ग्रहण गर्नुपर्छ ।”
कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरिमोहन भण्डारी, प्याप्सनका अध्यक्ष कृष्ण अधिकारीलगायतले ‘पुर्खाका पाइला’ कृतिले इतिहास, समाज र राजनीतिक चेतनालाई जोड्ने प्रयास गरेको उल्लेख गर्दै कृतिको महत्वबारे धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्