काठमाडौँ, ८ असोज । असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानपछि सरकारले सम्भावित मौसमी विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी, समन्वय र सतर्कता बढाउन आग्रह गरेको छ । मौसम प्रणालीका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सम्बन्धित निकाय र सर्वसाधारणलाई आग्रह गरिएको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै सम्बन्धित सरकारी निकायलाई आवश्यक तयारी र प्रभावकारी समन्वयका साथ पूर्वसतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले बुधबार सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना औँल्याएको उल्लेख गर्दै सम्भावित जोखिम व्यवस्थापनका लागि समयमै तयारी गर्न आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री शाहले सम्भावित जोखिमबाट सुरक्षित रहन सम्पूर्ण नागरिकलाई पनि सचेत र सावधान रहन अनुरोध गर्नुभएको छ । विपद् आउनुअघि नै आवश्यक तयारी गर्न सके सम्भावित मानवीय तथा भौतिक क्षति कम गर्न सकिने भएकाले पूर्वसूचना र सम्बन्धित निकायका निर्देशनलाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ ।
हाल देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिनुका साथै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी र प्रतिकार्यको तयारी तीव्र पारिएको छ ।
मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । त्यस्तै, कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
विभागले मौसम प्रणालीको प्रभावका कारण विभिन्न भौगोलिक क्षेत्रमा जोखिमको अवस्था फरक हुन सक्ने जनाएको छ । गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमती प्रदेशको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्कता आवश्यक रहेको विभागको भनाइ छ ।
भारी वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव आउन सक्ने र तराई तथा होचा भूभागमा डुबानको जोखिम बढ्न सक्ने भएकाले स्थानीय अवस्था हेरेर आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । सम्भावित वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले यात्रु तथा यातायात व्यवसायीले मौसमको अवस्था र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई ध्यान दिनुपर्ने देखिएको छ ।
यसैबीच, भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावनालाई ध्यानमा राख्दै गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मौसम विज्ञान विभाग पुगेर सम्भावित जोखिम तथा सरकारी तयारीबारे जानकारी लिनुभएको छ । सम्बन्धित निकायबाट मौसमको पछिल्लो अवस्था तथा जोखिमबारे जानकारी लिएर आवश्यक तयारीका विषयमा छलफल गरिएको हो ।
मौसमविद्का अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण देशका विभिन्न भागमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने अवस्था बनेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेकाले पहाडी तथा तराई क्षेत्रमा डुबान, कटान र पहिरोको जोखिम बढ्न सक्ने विभागले जनाएको छ ।
लुम्बिनी र गण्डकी प्रदेशमा तुलनात्मक रूपमा बढी वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रका जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । विगतमा बाढी, पहिरो, डुबान वा कटानको जोखिममा परेका बस्ती तथा सडकखण्डमा स्थानीय तह र सम्बन्धित निकायले पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने देखिएको छ ।
विभागले हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्ने योजनामा रहेका व्यक्तिलाई पनि मौसममा सुधार नआएसम्म यात्रा स्थगित गर्न वा आफ्नो योजना पुनर्विचार गर्न आग्रह गरेको छ । विशेषगरी ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने यात्रुले मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न तथा आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ ।
मौसमजन्य जोखिमका बेला सूचना प्रवाह, स्थानीय तहबीचको समन्वय, उद्धार सामग्रीको तयारी तथा जोखिमयुक्त बस्तीमा समयमै सतर्कता अपनाउनु महत्वपूर्ण हुन्छ । सम्भावित बाढी, पहिरो वा डुबानको अवस्थामा सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउन सक्ने भएकाले स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीचको समन्वय प्रभावकारी बनाउन आवश्यक हुन्छ ।
पछिल्ला वर्षहरूमा मौसमी विपद्का कारण सडक, पुल, बस्ती तथा अन्य पूर्वाधारमा क्षति पुग्दै आएको अवस्थामा मौसम पूर्वानुमानअनुसार जोखिमको पहिचान गरी पूर्वतयारी गर्नु अझ महत्वपूर्ण देखिएको छ । विशेषगरी पहाडी सडक तथा नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकले स्थानीय रूपमा उपलब्ध पूर्वसूचना तथा चेतावनीलाई बेवास्ता गर्नुहुदैन ।
सरकारले सम्बन्धित निकायलाई तयारी र समन्वय बढाउन आग्रह गरिरहँदा नागरिकस्तरमा पनि सावधानी उत्तिकै आवश्यक छ । मौसम प्रतिकूल भएका बेला अनावश्यक यात्रा नगर्ने, जोखिमयुक्त नदी तथा खोलाको आसपास नजाने, पहिरोको जोखिम भएका क्षेत्रमा सतर्क रहने तथा आधिकारिक सूचनालाई आधार बनाएर निर्णय गर्ने अभ्यासले जोखिम घटाउन सहयोग पु¥याउन सक्छ ।
सम्भावित विपद्को पूर्वानुमान सार्वजनिक भइसकेको अवस्थामा त्यसलाई क्षति भएपछि उद्धार गर्ने तयारीका रूपमा मात्र नहेरी जोखिम घटाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने देखिन्छ । सम्बन्धित निकायको समयमै तयारी, प्रभावकारी समन्वय र नागरिकको सचेत व्यवहारबीचको सहकार्यबाट आगामी दिनमा सम्भावित मौसमी विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिनेछ ।
यसैगरी, असोज ९ देखि ११ गतेसम्म सुदूरपश्चिमसहित यहाँका विभिन्न क्षेत्रमा भारी वर्षाको पूर्वानुमानअनुसार कैलालीमा बाढी, पहिरो, नदी कटान र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउने निर्णय गरिएको छ ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बुधबारको बैठकले नेपाल मौसम विज्ञान विभागले उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएपछि त्यसअनुसार जिल्लामा सतर्कता अपनाउने निर्णय गरेको हो ।
यस्तै, जिल्ला प्रशासन कार्यालय महोत्तरीले पूर्वसचेतताका लागि सार्वजनिक अपिल गरेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा, महोत्तरीले यही असोज ९ गते शुक्रबारदेखि तीन दिन मधेस मुलुकका विभिन्न भेगमा हावाहुरीसँगै मेघगर्जन हुने, चट्याङ पर्ने र भारी वर्षा हुने अनुमान प्रक्षेपण गरेसँगै प्रशासनले सर्वसाधारणलाई सुरक्षित रहन सार्वजनिक अपिल गरेको हो ।
उता,आगामी शुक्रबारदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरिएकाले सुदूरपश्चिम प्रदेशमा पनि सजकता अपनाउँदै विपद् प्रतिकार्यका लागि सरोकारवाल संयन्त्र तयारी अवस्थामा राखिएको छ ।
सम्भावित वर्षात्मा उच्च जोखिममा रहेका बझाङ, बाजुरा, दार्चुला र अछाममा उच्च सर्तकता अप्नाउन ‘एलर्ट’ जारी गरिएको जल तथा मौसम विज्ञान कार्यालय अत्तरीया, कैलालीका निमित्त प्रमुख सञ्जयकुमार शाहले जानकारी दिनुभयो । “चुरे क्षेत्रमा वर्षात् हुने भएकाले यी दुई जिल्लालाई पनि उच्च जोखिममा राखेर एर्लट गरिएको छ ।”
यसैबीच, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई अपिल गर्नुभएको छ ।नेपाल मौसम विज्ञान विभागले प्रदेशमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अतिभारी वर्षा हुनसक्ने सम्भावित प्रक्षेपण गरेपछि उहाँले सो आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले बुधबार अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढीपहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताउनुभएकाले नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्