विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै

 

काठमाडौं, ३ असोज । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ । संविधान जारी भएको दिन ३ असोजलाई हरेक वर्ष राष्ट्रिय दिवसका रूपमा मनाउने क्रममा काठमाडौंको टुँडिखेलमा मुख्य समारोह आयोजना गरिएको हो ।

टुँडिखेलमा आयोजित मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री वालेन शाह ‘बालेन्द्र’, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, प्रतिनिधिसभाका सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले मार्चपास प्रस्तुत गरेका थिए। विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले झाँकी र सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै संविधान दिवसको अवसरलाई राष्ट्रिय उत्सवका रूपमा मनाएका थिए । कार्यक्रममा संविधानको महत्व, राष्ट्रिय एकता तथा लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणसँग सम्बन्धित सन्देशसमेत प्रस्तुत गरिएको थियो ।

मुख्य समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाहले संविधानका व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न राज्य सञ्चालनमा संलग्न व्यक्तिहरू इमानदार र निरन्तर सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने पक्ष जिम्मेवार नभए संविधान कागजमा सीमित हुन सक्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री शाहले संविधानले नेपाली जनतासामु गरेका प्रतिबद्धता केवल कानुनी व्यवस्था नभई राष्ट्रिय जीवनको आधार भएको बताउनुभयो । विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, विकास र समृद्धि, सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानवअधिकार तथा कानुनी राज्यलाई संविधानले मार्गनिर्देशक आधारका रूपमा स्थापित गरेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले संविधानको अक्षर र भावनाप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि राज्यका सबै तह र संयन्त्र जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । संघीय लोकतान्त्रिक व्यवस्थाको उद्देश्य व्यवहारमा स्थापित गर्न संविधानले परिकल्पना गरेका अधिकार, जिम्मेवारी र संस्थागत व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो रहेको उल्लेख गर्दै त्यसविरुद्धको प्रयासलाई थप सशक्त बनाउनुपर्ने बताउनुभयो । विकास र समृद्धिका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण र सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति गर्ने प्रक्रिया अवलम्बन गरेको प्रधानमन्त्री शाहले बताउनुभयो ।

 

उहाँले सुशासनलाई नाराका रूपमा नभई व्यवहार र कार्यसम्पादनसँग जोडेर अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो । संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वय कायम गर्दै राष्ट्रिय विकासको साझा उद्देश्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।

यसैबीच, संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री शाहलगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दै संविधानको पूर्ण कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, राष्ट्रिय एकता तथा समृद्धिका लागि सबै पक्षलाई जिम्मेवार भएर अघि बढ्न आह्वान गर्नुभएको छ ।

संविधान दिवसले संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणसँगै संविधानले प्रत्याभूत गरेका लोकतान्त्रिक अधिकार, सामाजिक न्याय, समानता र कानुनी शासनलाई व्यवहारमा प्रभावकारी बनाउन जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्