नेपालको दोहोरो सफलता ः प्रिमियर कप उपाधिसँगै एसिया कपमा स्थान

 

काठमाडौँ, २८ भदौ । नेपाली क्रिकेटले फेरि एकपटक एसिया कपको ढोका खोलेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) लाई फाइनलमा ४४ रनले पराजित गर्दै नेपालले तेस्रो संस्करणको एसिसी प्रिमियर कपको उपाधि जित्नुका साथै सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेको छ ।

मलेसियामा भएको फाइनलमा नेपालले प्रस्तुत गरेको ३१४ रनको चुनौती पछ्याएको युएईलाई ४९ दशमलव एक ओभरमा २६९ रनमै समेट्दै नेपालले उपाधि आफ्नो पक्षमा पारेको हो । यससँगै नेपालले प्रिमियर कपको उपाधि दोस्रोपटक जितेको छ । अझ महत्वपूर्ण पक्ष, नेपालले दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान बनाएको हो ।

नेपालले यसअघि सन् २०२३ मा पनि युएईलाई नै पराजित गर्दै एसिया कपमा छनोट भएको थियो । यसपटक पनि निर्णायक खेलमा युएईलाई नै पराजित गर्दै नेपालले एसिया कपको यात्रा तय गरेको हो । गत संस्करणको विजेता युएई भने यसपटक एसिया कपमा पुग्न असफल भयो ।

नेपालले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा युएईका लागि राहुल चोपडाले उत्कृष्ट शतकीय पारी खेले । उनले १०५ बलमा तीन चौका र चार छक्काको मद्दतमा अविजित १०० रन बनाए । तर अन्य ब्याटरबाट अपेक्षित साथ नपाउँदा उनको शतक टोलीलाई जित दिलाउन पर्याप्त भएन ।

युएईका सोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रीत सिंहले ३३ तथा खुजैमा तनवीरले १५ रन बनाए । नेपालका बलरले नियमित अन्तरालमा विकेट निकाल्दै युएईलाई लक्ष्यसम्म पुग्न दिएनन् । करण केसीले तीन विकेट लिए भने ललितनारायण राजवंशीले दुई विकेट हात पारे । कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुलशनकुमार झाले एक–एक विकेट लिए ।

त्यसअघि क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रनको बलियो योगफल तयार गरेको थियो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेल्दै इनिङको आधार तयार गरे ।

आसिफले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो दोस्रो शतक हो । महत्वपूर्ण फाइनलमा आएको उनको शतकले नेपाललाई ठूलो योगफलतर्फ अघि बढाउन निर्णायक भूमिका खेल्यो ।

त्यसपछि गुलशनकुमार झाले आक्रामक अर्धशतक प्रहार गरे । उनले केवल ३८ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा गुलशनको यो छैटौँ अर्धशतक हो ।

अर्जुन कुमालले ४३ तथा कप्तान रोहितकुमार पौडेलले ४० रन जोड्दै नेपालको इनिङलाई थप मजबुत बनाए । दीपेन्द्रसिंह ऐरीले १८, ईशान पाण्डेले १३ तथा बसिर अहमदले अविजित १५ रन बनाए ।
युएईका इब्रार अहमदले चार विकेट लिए भने खुजैमा तनवीरले दुई तथा हैदर अली र अबीद उस्मानीले एक–एक विकेट लिए ।

फाइनलमा नेपालले देखाएको प्रदर्शनमा ब्याटिङबाट बनेको बलियो आधार र बलिङमा निरन्तर विकेट लिने क्षमता जितको मुख्य आधार बन्यो । ३१३ रन बनाएपछि दबाबमा परेको युएईलाई नेपाली बलरले २६९ रनमै रोके । यसले प्रतियोगिताभर नेपालले देखाएको सन्तुलित प्रदर्शनलाई पनि पुष्टि गरेको छ ।

प्रिमियर कपको उपाधि जित्नुका साथै एसिया कपमा स्थान बनाउनु नेपाली टोलीका लागि आगामी अन्तर्राष्ट्रिय यात्राको दृष्टिले महत्वपूर्ण उपलब्धि बनेको छ । अब नेपालले सन् २०२७ मा बङ्गलादेशमा हुने एसिया कपमा एसियाका शीर्ष टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ ।

यसअघि सन् २०२३ मा पहिलोपटक एसिया कप खेलेको नेपालले भारत र पाकिस्तानजस्ता विश्वस्तरीय टोलीसँग प्रतिस्पर्धा गरेको थियो । दोस्रोपटक एसिया कपमा पुगेको नेपालले आगामी प्रतियोगितामा अझ बलियो तयारी र आत्मविश्वासका साथ प्रस्तुत हुने अवसर पाएको छ ।

प्रतिक्रिया दिनुहोस्