विश्वकप २०२६ः अर्जेन्टिना र इङ्ग्ल्यान्डको सेमिफाइनल भेट तय

काठमाडौं, २८ असार । साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा सम्पन्न रोमाञ्चक क्वार्टरफाइनल खेलमा निर्धारित ९० मिनेटसम्म १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा दुई गोल थप्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान बनाएको हो ।

अर्जेन्टिनाले खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गरेको थियो । खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । प्रारम्भिक गोलपछि अर्जेन्टिनाले बलमाथि नियन्त्रण कायम राख्दै थप अवसर सिर्जना गरे पनि पहिलो हाफमा अर्को गोल गर्न सकेन ।

दोस्रो हाफमा स्विट्जरल्यान्डले खेलमा फर्किने प्रयास ग¥यो । खेलको ६७औँ मिनेटमा डान एनडोयेले उत्कृष्ट फिनिसिङ गर्दै बराबरी गोल गरेपछि खेल थप रोमाञ्चक बनेको थियो । त्यसपछि दुवै टोलीले जितका लागि लगातार आक्रमण गरे पनि निर्धारित समयमा थप गोल हुन सकेन ।
स्विट्जरल्यान्डका लागि खेलको ७२औँ मिनेट निर्णायक मोड बन्यो ।

फरवार्ड ब्रेल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्नुप¥यो । त्यसपछि स्विट्जरल्यान्ड बाँकी समय १० खेलाडीमा सीमित रह्यो । संख्यात्मक रूपमा कमजोर बने पनि स्विट्जरल्यान्डले निर्धारित समयसम्म अर्जेन्टिनालाई रोक्न सफल भयो ।

खेल अतिरिक्त समयमा पुगेपछि अर्जेन्टिनाले आफ्नो अनुभव र आक्रमण क्षमताको प्रदर्शन ग¥यो । अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । त्यसपछि स्विट्जरल्यान्ड बराबरीको प्रयासमा अगाडि बढ्दा सिर्जना भएको अवसरलाई सदुपयोग गर्दै लाउटारो मार्टिनेजले अतिरिक्त समयको अन्त्यतिर अर्को गोल गरे । त्यससँगै अर्जेन्टिनाले ३–१ को जित निकाल्दै लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने अभियानलाई कायम राख्यो ।

यसअघि सम्पन्न अर्को क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्द सेमिफाइनलमा स्थान बनाएको थियो । पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको नर्वेले खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपको गोलमार्फत अग्रता लिएको थियो । तर दोस्रो हाफमा इङ्ग्ल्यान्डले प्रभावशाली पुनरागमन ग¥यो ।

इङ्ग्ल्यान्डका स्टार मिडफिल्डर जुड बेलिङघमले दुई महत्वपूर्ण गोल गर्दै टोलीलाई जित दिलाए । उनको उत्कृष्ट प्रदर्शनकै बलमा इङ्ग्ल्यान्डले आठ वर्षपछि पुनः विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजनले इङ्ग्ल्यान्डलाई उपाधिको बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ ।

अर्जेन्टिना र इङ्ग्ल्यान्डबीचको सेमिफाइनल अब प्रतियोगिताकै सबैभन्दा प्रतीक्षित खेलमध्ये एक बनेको छ । एकातिर लियोनल मेसीको नेतृत्वमा साविक विजेता अर्जेन्टिना उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ भने अर्कोतर्फ लामो समयपछि विश्वकप जित्ने लक्ष्यसहित इङ्ग्ल्यान्ड मैदानमा उत्रनेछ ।

विश्व फुटबलका दुई शक्तिशाली टोलीबीच हुने यो सेमिफाइनलमा अनुभवी खेलाडी, युवा प्रतिभा र रणनीतिक प्रतिस्पर्धाको रोचक भिडन्त हुने अपेक्षा गरिएको छ । विश्वभरका फुटबल समर्थकको ध्यान अहिले यही खेलमा केन्द्रित भएको छ । विजेता टोलीले फिफा विश्वकप–२०२६ को फाइनलमा स्थान बनाउँदै विश्व च्याम्पियन बन्ने अवसरका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्