भोटेकोशी बाढीः एक हजार ३८४ शव फेला,  प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने क्रम जारी

काठमाडौँ, २८ भदौ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीमा परी हालसम्म एक हजार ३८४ जनाको शव फेलापरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले आज सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२९ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डिएनए नमूना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार २३० शव व्यवस्थापन गरिएको छ । पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ ।
शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ८४६ गरी कुल तीन हजार १३२ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । यसैगरी पहिचान हुन नसकेका एक हजार ३३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताउनुभयो । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म चार हजार ८९ जना बेपत्ता छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल दुई हजार ७१२ जनालाई राखिएको प्रहरीले जनाएको छ ।
यसैगरी,यही भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग रकम सङ्कलन भइरहेको छ । विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकाय, सङ्घसंस्था, जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, स्थानीयलगायतले रकम सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने क्रम जारी छ ।
जेनजी पर्साद्वारा १५ लाखको राहत सामग्री सङ्कलन
वीरगन्ज ९पर्सा०ः भोटेकोशी बाढी प्रभावितको निम्ति पर्सा जिल्लाका जेनजीहरुले रु १५ लाख बराबरको राहत सामग्री सङ्कलन गरेका छन् । उनीहरुले बाढी प्रभावितका निम्ति खाद्यान्न, लत्ताकपडा, खाना पकाउने भाँडा, ओढ्ने÷बिछ्याउनेलगायत सामग्री जुटाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का युवा नेता सुधीर पटेलको नेतृत्वमा सङ्कलन गरिएको राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । स्थानीय प्रशासनसँग समन्वय गरी उक्त सामग्री वितरण गरिने उहाँले बताउनुभयो ।
वीरगन्जस्थित शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि प्रधानमन्त्री राहत कोषमा रु दुई लाख ५१ हजार आर्थिक सहयोग गरेको छ । समाजसेवी नीरज सर्राफले रु दुई लाख ५१ हजार सहयोग गर्नुभएको छ ।
यस्तै नेपाल पुलिस स्कुल शान्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर सङ्कलन गरेको रु ९५ हजार ७८३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् ।
रुकुम पश्चिमका निजी विद्यालयद्वारा आठ लाख सहयोग
त्रिवेणी९रुकुम पश्चिम०ः भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि रुकुम पश्चिमका निजी तथा संस्थागत विद्यालयहरूले रु आठ लाख ७२ हजार सहयोग गरेका छन् ।
निजी तथा संस्थागत विद्यालयहरूको छाता सङ्गठन प्याब्सन रुकुम पश्चिमका सचिव विमलकुमार शर्माका अनुसार जिल्लाका १४  विद्यालयबाट उक्त रकम सङ्कलन गरिएको हो । बाढीपीडितको राहतका लागि जिल्लाबाट प्याब्सन राहत कोषमा उक्त रकम जम्मा गरिएको उहाँले बताउनुभयो ।
मुसिकोट नगरपालिका–५ को न्यू मुनलाइट बोर्डिङ स्कुलले रु दुई लाख तीन हजार, मुसिकोट–१ को विजयश्वरी बोर्डिङ स्कुलले रु दुई लाख एक हजार, मुसिकोट–४ को सिस्ने एकेडेमी प्रालिले रु ५३ हजार, मुसिकोट–५ को सिस्ने सनराइज बोर्डिङ स्कुलले रु ६० हजार, मुसिकोट–७ को साइकुमारी बोर्डिङ स्कुलले रु २५ हजार, मुसिकोट–६ को रुकुमेली ब्राइट फ्युचर बोर्डिङ स्कुलले रु ५० हजार, मुसिकोट–१ को रातोतारा बोर्डिङ स्कुलले रु १३ हजार, चौरजहारी नगरपालिका–१ को भ्याली पब्लिक बोर्डिङ स्कुलले रु ५० हजार, आठबिसकोट नगरपालिका–९ को पिस जोन एकेडेमीले रु ५७ हजार र सिर्जना एकेडेमीले रु ५१ हजार सहयोग गरेका छन् ।
यस्तै बाँफिकोट गाउँपालिका–२ को नमुना ज्ञान ज्योति बोर्डिङ स्कुलले रु २८ हजार, बाँफिकोट–४ को सिस्ने श्यार्पु बोर्डिङ स्कुलले रु २२ हजार, बाँफिकोट–६ को हाइलाइट बोर्डिङ स्कुलले रु चार हजार र सानीभेरी गाउँपालिका–३ को सानीभेरी बोर्डिङ स्कुलले रु ५२ हजार  सहयोग गरेको सचिव शर्माले बताउनुभयो ।
होस्टल व्यवसायी सङ्घद्वारा दुई लाख ७० हजार सहयोग
काठमाडौँः रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगका लागि होस्टल व्यवसायी सङ्घ नेपालले रु दुई लाख ७० हजार सहयोग गरेको छ । सङ्घका अध्यक्ष किरण शर्माको नेतृत्वको टोलीले अर्थमन्त्री डा स्वर्णिम वाग्लेमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो ।
भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउन सहयोग गरिएको सङ्घका कोषाध्यक्ष रमा योगीले जानकारी दिनुभयो । कोषाध्यक्ष योगीका अनुसार उक्त सहयोग रकम सङ्घमा आबद्ध होस्टल व्यवसायीको सामूहिक सहयोग, सद्भाव र मानवीय भावनाबाट जुटाइएको हो ।
सङ्घले सहयोग रकम आर्थिक सहायता मात्र नभई विपदमा परेका नागरिकप्रतिको साथ, सद्भाव र मानवीय ऐक्यबद्धताको प्रतीक भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्