निखिल उप्रेती निर्देशित ‘आचार्य’को टिजर सार्वजनिक

काठमाडौँ, १० भदौ । अभिनेता तथा निर्देशक निखिल उप्रेतीको निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘आचार्य’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरमा निखिललाई एक्सनप्रधान तथा प्रभावशाली अवतारमा प्रस्तुत गरिएको छ । टिजरका दृश्यमा उनको एक्सन, द्वन्द्व र रहस्यमय चरित्रलाई प्राथमिकता दिइएको देखिन्छ । यसले चलचित्र एक्सन र नाटकीय कथावस्तुमा केन्द्रित रहेको संकेत गरेको छ ।

‘आचार्य’बाट निखिल करिब एक दशकपछि पुनः पर्दामा देखिन लागेका हुन् । चलचित्रले उनको अभिनयसँगै निर्देशकीय यात्रालाई समेत अगाडि बढाउनेछ । यसअघि उनले सन् २०१५ मा ‘भैरव’ निर्देशन गरेका थिए । ‘आचार्य’ उनको निर्देशनमा बनेको दोस्रो चलचित्र हो ।

चलचित्रमा ‘आचार्य’को अर्थ कुनै जात वा समुदायसँग जोडिएको नभई युद्ध र कूटनीतिमा निपुण गुरुका रूपमा प्रस्तुत गरिएको छ । निखिल स्वयंले चलचित्रको पटकथा लेखेका छन् । नेपाल र भारतका विभिन्न स्थानमा चलचित्रको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

निखिलको मुख्य भूमिका रहेको चलचित्रमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया र भारतीय कलाकार दीपराज राणालगायतको अभिनय रहेको छ । चलचित्र निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको हो भने कृष्ण भट्टराई निर्माता हुनुहुन्छ ।

यसअघि चलचित्रको पहिलो झलक सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति पनि घोषणा गरिसकेको छ । चलचित्र आगामी असोज ९ गते अर्थात् सेप्टेम्बर २५ देखि प्रदर्शनमा आउने तय भएको छ । दशैंको पूर्वसन्ध्यामा चलचित्र प्रदर्शनमा आउन लागेकाले यसको व्यापारिक पक्षलाई समेत महत्त्वका साथ हेरिएको छ ।

लामो समयपछि निखिललाई एक्सन अवतारमा पर्दामा देख्न पाइने भएकाले ‘आचार्य’प्रति उनका समर्थक तथा नेपाली चलचित्रका दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्