काठमाडौं, ३ भदौ । नेपाली चलचित्र क्षेत्रको पछिल्लो वर्षको उपलब्धि र सिर्जनालाई सम्मान गर्दै तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड) सम्पन्न भएको छ । शनिबार आयोजित समारोहमा विभिन्न विधाका उत्कृष्टलाई अवार्ड प्रदान गरिँदा ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रको उपाधि हात पारेको हो । चलचित्रकै सफलतासँगै यसमा आबद्ध कलाकार तथा सर्जकका लागि पनि अवार्ड समारोह विशेष बनेको छ ।
अवार्ड समारोहमा निर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता घोषित हुनु भएको छ भने मिरुना मगरले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गर्नुभएको छ । त्यस्तै नविन चौहान उत्कृष्ट निर्देशक बने । लोकप्रिय विधातर्फ भने पल शाहले लोकप्रिय अभिनेता र जसिता गुरुङले लोकप्रिय अभिनेत्रीको अवार्ड प्राप्त गर्नुभयो ।
इन्फा इभेन्ट्स नेपाल र इन्फा इभेन्ट्स यूकेको संयुक्त आयोजनामा भएको समारोहमा नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो । पछिल्लो समय नेपाली चलचित्रको घरेलु बजारसँगै अन्तर्राष्ट्रिय प्रदर्शन र प्रवासी नेपालीमाझको पहुँच बढिरहेका बेला अन्तर्राष्ट्रिय पहिचानसहित आयोजना गरिएको अवार्डले चलचित्रकर्मीलाई थप उत्साहित बनाएको आयोजकको भनाइ छ ।
यस वर्षको अवार्डका लागि २०८२ साल वैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी चलचित्रलाई आधार बनाइएको थियो । ती चलचित्रबाट विभिन्न विधामा उत्कृष्ट पाँचको मनोनयन तयार पारिएको थियो । मनोनयनमा परेका कलाकार तथा चलचित्रमध्ये निर्णायक मण्डलले मूल्यांकन गरी अन्तिम विजेता छनोट गरेको आयोजकले जनाएको छ ।
अवार्डको मूल्यांकन प्रक्रियालाई व्यवस्थित बनाउन वरिष्ठ कलाकार हरिहर शर्माको संयोजकत्वमा निर्णायक मण्डल गठन गरिएको थियो । गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापा निर्णायक सदस्यका रूपमा रह्नु भएको थियो । उहाँहरूले विभिन्न विधामा प्रस्तुत चलचित्र तथा कलाकारको कामको मूल्यांकन गर्दै उत्कृष्ट छनोट गर्नुभएको जनाइएको छ ।
समारोहको अर्को विशेष आकर्षण वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको लाइफटाइम एचिभमेन्ट अवार्ड बन्यो । नेपाली कला तथा मनोरञ्जन क्षेत्रमा लामो समयदेखि पु¥याउँदै आउनु भएकोे योगदानको सम्मानस्वरूप उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो ।
मदनकृष्ण श्रेष्ठले अभिनय, हास्यव्यङ्ग्य तथा मनोरञ्जनको क्षेत्रमा लामो समयदेखि निरन्तर योगदान दिँदै आउनु भएको छ । उहाँको योगदानलाई सम्मान गर्ने क्रममा प्रदान गरिएको उक्त अवार्डले समारोहलाई थप अर्थपूर्ण बनाएको हो ।
अवार्ड वितरणसँगै कार्यक्रम सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिले पनि भरिएको थियो । पल शाह, उषा उप्रेती, कविता नेपाली, तेरिया मगर, एलिशा शर्मा, बाबुल गिरी, रिह्यान गिरी, समर्पण लामा र मिङ्मा डी. लेप्चालगायत कलाकारले नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए ।
विशेषगरी नेपाली चलचित्रको पछिल्लो पुस्ताका कलाकारको सहभागिता र प्रस्तुति समारोहको आकर्षण बनेको थियो । अवार्डसँगै मनोरञ्जनका कार्यक्रम समावेश गरिएकाले समारोहलाई औपचारिक सम्मान कार्यक्रमभन्दा पनि चलचित्र क्षेत्रको उत्सवका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको थियो ।
इन्फा अवार्डका बोर्ड अफ डाइरेक्टर तथा अवार्ड संयोजक मनिष कार्कीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित अवार्ड आयोजना गरिएको बताउनु भयो । उहाँका अनुसार नेपाली चलचित्रको सिर्जना, कलाकारको प्रतिभा र प्राविधिक पक्षलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउन यस्ता कार्यक्रमले भूमिका खेल्नेछ ।
यस वर्षको अवार्डमा उत्कृष्ट चलचित्रदेखि अभिनय र निर्देशनसम्म विभिन्न विधामा प्रतिभाको सम्मान गरिएको छ । विशेषगरी ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र बन्नु, नविन चौहानले निर्देशनमा बाजी मार्नु तथा विपिन कार्की, निर शाह र मिरुना मगरले अभिनयतर्फ अवार्ड हात पार्नु समारोहका प्रमुख उपलब्धिका रूपमा देखिएका छन् ।
अवार्डले नेपाली चलचित्र क्षेत्रमा एक वर्षभित्र भएका सिर्जनात्मक गतिविधिको मूल्यांकन गर्नुका साथै उत्कृष्ट काम गर्ने कलाकार र चलचित्रकर्मीलाई थप प्रोत्साहन दिएको आयोजकको विश्वास छ । पछिल्लो समय नेपाली चलचित्रले विषयवस्तु, प्रस्तुति र बजार विस्तारका हिसाबले नयाँ प्रयोग गरिरहेका बेला इन्फा अवार्डले त्यस्ता प्रयासलाई सम्मान गर्ने मञ्चका रूपमा आफूलाई अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्