विद्यालयस्तरीय फुटबलमा बुटवलको उत्साह, ४४ विद्यालय उपाधिको दौडमा

काठमाडौं, ३ भदौ । रुपन्देहीमा विद्यालय तहबाटै फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रथम ज्ञानपुन्ज जिल्लास्तरीय अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । बुटवलमा सुरु भएको प्रतियोगितामा जिल्लाका ४४ सरकारी तथा निजी विद्यालय सहभागी भएपछि विद्यालयस्तरको फुटबलप्रति बढ्दो आकर्षण देखिएको छ ।

सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज इंग्लिस सेकेन्डरी स्कुलको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा अक्सफोर्ड इंग्लिस बोर्डिङ स्कुलले देवसिद्ध ई बोर्डिङ स्कुललाई ३–० गोलले पराजित गर्दै दोस्रो चरणमा स्थान बनायो ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको खेलमा अक्सफोर्डका लागि एलेक्स छन्त्यालले दुई गोल गरे भने नेल्सन रास्कोटीले एक गोल थपे । उत्कृष्ट प्रदर्शन गरेका एलेक्स खेलको म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिताको दोस्रो खेलमा भने ग्यालेक्सी इंग्लिस बोर्डिङ स्कुलले प्रभावशाली प्रदर्शन गर्दै अन्नपूर्ण सेकेन्डरी स्कुललाई ७–० गोलको फराकिलो अन्तरले पराजित ग¥यो । फराकिलो जितसँगै ग्यालेक्सी पनि दोस्रो चरणमा प्रवेश गरेको छ ।

 

प्रतियोगिता केवल विद्यालयबीचको प्रतिस्पर्धाका रूपमा मात्र नभई स्थानीय स्तरमा फुटबलको आधार बलियो बनाउने प्रयासका रूपमा अघि बढाइएको आयोजकको भनाइ छ । विद्यालय उमेरमै खेलाडीको प्रतिभा पहिचान गरी उनीहरूलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दीर्घबहादुर केसीले गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै केसीले नेपाली फुटबल कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा विद्यालयको नेतृत्वमा प्रतियोगिता आयोजना हुनु सकारात्मक कदम भएको बताउनु भयो ।

उहाँले फुटबल विकासका लागि राष्ट्रिय तथा व्यावसायिक प्रतियोगितासँगै विद्यालय तहको संरचना बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । विशेषगरी ग्रासरुटबाट खेलाडी उत्पादन गर्न विद्यालयहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाली फुटबल अन्तर्राष्ट्रिय रूपमा समेत चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै केसीले खेलाडी उत्पादनको दीर्घकालीन आधार तयार गर्न विद्यालय र फुटबल संघबीच सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँका अनुसार प्रतिभाशाली खेलाडी पहिचान गर्ने सबैभन्दा प्रभावकारी माध्यममध्ये विद्यालयस्तरीय प्रतियोगिता पनि एक हो ।

ज्ञानपुन्ज इंग्लिस सेकेन्डरी स्कुलका प्राचार्य शंकर भण्डारीले खेलकुद विद्यार्थी जीवनको महत्वपूर्ण हिस्सा भएको बताउनु भयो । उहाँले फुटबललाई केवल प्रतियोगितासम्म सीमित नराखी विद्यालयस्तरमै खेल संस्कृतिका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

हरेक विद्यालयले कम्तीमा एउटा खेललाई प्राथमिकताका साथ अघि बढाउन सके नियमित प्रशिक्षण र प्रतिस्पर्धाबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।कार्यक्रममा बुटवल उपमहानगरपालिका–११ का अध्यक्ष रामचन्द्र क्षेत्री, सिद्धार्थ केबलकारका नरबहादुर कार्की, एन्फा टेक्निकल सेन्टर बुटवलका निर्देशक बुद्धि गुरुङ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराईलगायतको उपस्थिति थियो । उहाँहरूले खेल क्षेत्रको विकासका लागि विद्यालय, स्थानीय तह, निजी क्षेत्र र खेल संघबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।

भदौ ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीले ५१ हजार रुपैयाँसहित शिल्ड प्राप्त गर्नेछ । उपविजेता टोलीले ३१ हजार रुपैयाँ पाउनेछ । यसबाहेक उत्कृष्ट गोलरक्षक तथा म्यान अफ दी म्याचलगायत विधामा पनि नगद पुरस्कार प्रदान गरिने आयोजक विद्यालयले जनाएको छ ।

४४ विद्यालयको सहभागिताले प्रतियोगितालाई जिल्लास्तरमै ठूलो विद्यालय फुटबल प्रतिस्पर्धाका रूपमा स्थापित गर्ने सम्भावना देखाएको छ । प्रारम्भिक खेलमै फराकिलो जित र प्रतिस्पर्धात्मक प्रदर्शन देखिएपछि आगामी चरणका खेल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताले तत्कालको उपाधि प्रतिस्पर्धासँगै विद्यालय तहमा फुटबलको आधार विस्तार, प्रतिभा पहिचान र भविष्यका खेलाडी उत्पादन गर्ने दीर्घकालीन उद्देश्यलाई समेत अघि बढाएको आयोजकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्