दशैंमा ‘१२ गाउँ २’को धमाका, पोस्ट–प्रोडक्सनसम्म काम तीव्र

काठमाडौं, २६ साउन । नेपाली चलचित्रको दशैं लक्षित प्रदर्शन सूचीमा रहेको एक्सनप्रधान सिनेमा ‘१२ गाउँ २’ अहिले पोस्ट–प्रोडक्सनको चरणमा पुगेको छ । अभिनेता समीर भट्टसहित कलाकारहरूको डबिङ धमाधम भइरहेको निर्माण पक्षले जनाएको छ । काठमाडौंस्थित ग्लोबल रिल मोसन पिक्चर्समा समीरले आफ्नो भूमिकाको स्वरांकन गरेका छन् ।

निर्देशक विराज भट्टले समीर भट्ट, अनुपविक्रम शाही, कालु रानालगायत कलाकारको डबिङ गराइरहेका छन् । छायांकन सकिएपछि चलचित्रको दृश्यलाई अन्तिम रूप दिने कामअन्तर्गत डबिङ, ध्वनि संयोजन, पृष्ठभूमि संगीत तथा अन्य प्राविधिक काम अघि बढाइएको हो ।

निर्माण पक्षले चलचित्रलाई यसै वर्षको दशैंको अवसर पारेर असोज ३० गते, फूलपातीको अघिल्लो दिन प्रदर्शन गर्ने तयारी गरेको छ । दशैं नेपाली चलचित्रका लागि ठूलो व्यापारिक सिजन मानिने भएकाले ‘१२ गाउँ २’ लाई पनि सोही समय लक्षित गरी निर्माणको बाँकी काम तीव्र पारिएको हो ।

‘१२ गाउँ २’ चर्चित चलचित्र ‘१२ गाउँ’को सिक्वेल हो । सन् २०८१ मा प्रदर्शनमा आएको पहिलो श्रृंखलाले व्यावसायिक सफलता हासिल गर्नुका साथै समीर भट्टलाई नेपाली चलचित्रमा नयाँ सम्भावना बोकेको अभिनेताका रूपमा स्थापित गरेको थियो । पहिलो चलचित्रमा उनको एक्सन प्रस्तुति र अभिनयलाई दर्शकले रुचाएपछि सिक्वेलप्रति पनि अपेक्षा बढेको छ ।

पहिलो चलचित्रको सफलतापछि त्यसको सिक्वेल निर्माण घोषणा भएसँगै ‘१२ गाउँ २’ नेपाली चलचित्र बजारमा प्रतीक्षित फिल्मका रूपमा चर्चामा छ । विशेषगरी समीर भट्टको बढ्दो लोकप्रियताले चलचित्रप्रति दर्शकको चासो थप बढाएको निर्माण पक्षको विश्वास छ ।

निर्देशक विराज भट्टले सिक्वेललाई पहिलो भागको निरन्तरताका रूपमा मात्र नभई कथा, प्रस्तुति र प्राविधिक पक्षमा थप विस्तार गर्ने प्रयास गरिएको बताउनु भयो । निर्माण पक्षका अनुसार चलचित्रमा एक्सनलाई प्रमुख आकर्षणका रूपमा राखिए पनि पारिवारिक सम्बन्ध र भावनात्मक पक्षलाई समेत पर्याप्त स्थान दिइएको छ ।

चलचित्रलाई ठूलो क्यानभासमा निर्माण गरिएको र पहिलो भागभन्दा कथा तथा प्रस्तुति थप प्रभावकारी बनाउने प्रयास गरिएको निर्माण टिमको दाबी छ । उच्च प्राविधिक गुणस्तरमा तयार पार्ने उद्देश्यअनुसार पोस्ट–प्रोडक्सनका कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ ।

डबिङको काम पूरा भएपछि चलचित्रको गीत, ट्रेलर तथा अन्य प्रचार सामग्री सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । दशैंको प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचार अभियानलाई पनि क्रमशः तीव्र बनाउने योजना रहेको जनाइएको छ ।
चलचित्रमा निर्देशक विराज भट्टसँगै समीर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय छ ।

सन्तोष सरकारको कथा तथा पटकथा रहेको चलचित्रको छायांकन महेश पौडेलले गरेका छन् । द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनको रहेको छ भने कालाचरण र गीता गुरप्पाले पृष्ठभूमि संगीत तयार पार्नु भएको छ । नृत्य निर्देशन सियोन श्रेष्ठको रहेको छ ।

दशैंको ठूलो दर्शक आधारलाई लक्षित गर्दै प्रदर्शन तयारीमा रहेको ‘१२ गाउँ २’ ले पहिलो श्रृंखलाको सफलतालाई निरन्तरता दिन सक्ला कि नसक्ला भन्ने विषय भने चलचित्र सार्वजनिक भएपछि मात्र स्पष्ट हुने छ । अहिलेका लागि समीर भट्टको लोकप्रियता, पहिलो भागको प्रभाव र दशैंको प्रदर्शन मितिले चलचित्रप्रतिको अपेक्षा बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्