काठमाडौं, १४ जेठ । नेपाली साङ्गीतिक क्षेत्रमा सामाजिक सन्देश, पारिवारिक भावना र मानवीय संवेदनालाई केन्द्रमा राखेर तयार गरिएको नयाँ गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक गरिएको छ । सर्जक शंकर पाण्डे मुक्ति को प्रस्तुति रहेको उक्त गीत बिहीबार मानव सेवा आश्रममा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
सार्वजनिक गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । आधुनिक संगीत र संवेदनशील शब्दको संयोजनले गीतलाई भावनात्मक बनाएको कार्यक्रममा सहभागीहरूले बताएका छन् । गीतका शब्द स्वयं शंकर पाण्डे ‘मुक्ति’ले लेख्नुभएको हो भने स्वर चर्चित गायक प्रमोद खरेल ले दिनुभएको छ । गीतमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ को संगीत रहेको छ ।
निर्माण पक्षका अनुसार गीतले केवल मनोरञ्जन मात्र नभई सामाजिक उत्तरदायित्वको भावना पनि बोकेको छ । पारिवारिक सम्बन्धमा देखिने आत्मीयता, संघर्ष, माया र जिम्मेवारीलाई गीतमा कलात्मक रूपमा प्रस्तुत गरिएको छ । पछिल्लो समय आधुनिक गीतसङ्गीतमा सामाजिक विषयवस्तु कम उठिरहेको अवस्थामा ‘मेरो आफ्नै संसार’ले फरक स्वाद दिने अपेक्षा गरिएको छ ।
गीतको भिडियो निर्देशक माधवराज खरेल ले तयार गर्नुभएको हो । भिडियोमा परिवारभित्रका सम्बन्ध, जीवनका उतारचढाव र भावनात्मक संघर्षलाई सिनेम्याटिक शैलीमा प्रस्तुत गरिएको छ । निर्देशक खरेलले गीतको भावनालाई दृश्यमा प्रभावकारी ढंगले उतार्ने प्रयास गर्नुभएको निर्माण पक्षले जनाएको छ ।
भिडियोमा कलाकार दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट र वसन्तराज रिजाललगायतको अभिनय रहेको छ । साथै बाल कलाकार आयुश पाण्डे, मीरु पराजुली, समझ पाण्डे, अमानी पाण्डे र आर्जन पाण्डेको अभिनयले भिडियोलाई थप जीवन्त बनाएको छ । पारिवारिक परिवेशमा आधारित कथाले दर्शकलाई भावुक बनाउने विश्वास गरिएको छ ।
भिडियोको छायांकन अजय रेग्मी ले गर्नुभएको हो भने सम्पादन विनोद बमले गर्नुभएको छ । सरिता मगरको श्रृङ्गारले कलाकारको प्रस्तुतिलाई आकर्षक बनाएको निर्माण पक्षले जनाएको छ । भिडियोमा प्रयोग गरिएका दृश्य, भावनात्मक प्रस्तुति र कथावस्तुको संयोजनले दर्शकको मन छुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै सर्जक शंकर पाण्डे ‘मुक्ति’ले गीत समाजप्रतिको उत्तरदायित्वबोधका साथ तयार गरिएको बताउनुभयो । उहाँले कला केवल मनोरञ्जनमा सीमित नहुने भन्दै सामाजिक सन्देश प्रवाह गर्नु कलाकारको दायित्व भएको धारणा व्यक्त गर्नुभयो । भिडियोबाट प्राप्त आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा गर्दै उहाँले कला र मानव सेवाबीचको सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको बताउनुभयो ।
कार्यक्रममा सङ्गीतकार सन्तोष श्रेष्ठ, निर्देशक माधवराज खरेल तथा प्रा. ध्रुव पौडेललगायतले गीतको विषयवस्तु र यसको सामाजिक सन्देशबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । सहभागीहरूले पछिल्लो समय पारिवारिक भावना बोकेका गीतको आवश्यकता बढिरहेको भन्दै ‘मेरो आफ्नै संसार’ले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उत्तम केसी, अभिनेता श्रीदेव भट्टराई, गीता अधिकारी, श्वस्तीका पन्थी, विश्व देवकोटा, जितेन्द्रकुमार श्रेष्ठ, डोल्पा शेर्पा तथा ओएसआर डिजिटलका ओम अग्रवाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गीत तथा भिडियो निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पु¥याउने व्यक्तित्वलाई मायाको चिनो प्रदान गरिएको थियो ।
सामाजिक उत्तरदायित्व, पारिवारिक भावनात्मकता र सांगीतिक मिठासको संयोजन बनेको मेरो आफ्नै संसार ले नेपाली संगीतप्रेमीमाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ । गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि सकारात्मक प्रतिक्रिया आउन थालेको निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्