काठमाडौं, २१ साउन । प्रदर्शनको संघारमा रहेको नेपाली सिनेमा ‘लज्जावती’ ले प्रचार अभियानलाई थप सशक्त बनाउने उद्देश्यसहित आफ्नो दोस्रो गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ सार्वजनिक गरेको छ ।
यसअघि सार्वजनिक भएको रमाइलो शैलीको ‘दिलको मोटर’ गीत सामाजिक सञ्जालमा लोकप्रिय भइरहेका बेला निर्माण टिमले यसपटक भावनात्मक पक्षलाई केन्द्रमा राख्दै नयाँ गीत सार्वजनिक गरेको हो ।
बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतले प्रेम, विछोड र त्यसपछिको मानसिक अवस्थालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ । पहिलो गीतले दर्शकलाई मनोरञ्जन र नृत्यको स्वाद दिएको भए दोस्रो गीतले प्रेममा हुने पीडा, एक्लोपन र सम्झनाको भावलाई उजागर गरेको देखिन्छ । यसले सिनेमाको कथावस्तुबारे दर्शकलाई थप संकेत पनि दिएको छ ।
गीतको भिडियोमा कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाबीचको प्रेम सम्बन्ध र त्यसपछि आउने विछोडलाई केन्द्रमा राखिएको छ । प्रेमिकासँग छुट्टिएपछि पात्र मानसिक रूपमा विचलित बन्दै गएको दृश्यले गीतलाई थप प्रभावशाली बनाएको छ ।
भिडियोमा निरौलाले निभाएको पात्रले आफूले गुमाएको प्रेमलाई हरेक स्थानमा खोजिरहेको अनुभूति दिलाउँछ । वास्तविकता र कल्पनाबीच अलमलिएको पात्रको मनोविज्ञानलाई दृश्यमार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
त्यस्तै, कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा हराएका पात्रको खोजीमा हिँडिरहेको दृश्य पनि भिडियोमा समावेश गरिएको छ । यी दृश्यले सिनेमामा प्रेमकथासँगै रहस्य र भावनात्मक द्वन्द्व पनि समेटिएको संकेत गर्छन् । सार्वजनिक गीतले कथाको सम्पूर्ण खुलासा नगरी दर्शकमाझ उत्सुकता कायम राख्ने रणनीति अपनाएको देखिन्छ ।
गीतमा गायक थानेश्वर गौतमको स्वर, भीमकुमार ओझाको रचना रहेको छ । संगीत सन्तोष बिसीको रहेको छ । गीतमा नारायण दंगालले संगीत संयोजन गर्नुभएको छ । गीतको शब्द, संगीत र गायनले विछोडको भावलाई स्वाभाविक रूपमा प्रस्तुत गरेकाले दर्शक तथा श्रोताको मन छुने अपेक्षा निर्माण टिमले गरेको छ ।
यसअघि सार्वजनिक गरिएको ‘दिलको मोटर’ बोलको गीत टिकटक, फेसबुक रिल्सलगायतका सामाजिक सञ्जालमा व्यापक रूपमा प्रयोग भइरहेको निर्माण पक्षले जनाएको छ । उक्त गीतले युवापुस्तामाझ राम्रो पहुँच बनाएको दाबी गरिएको छ । त्यससँगै सार्वजनिक भइसकेको ट्रेलरले पनि सिनेमाप्रति दर्शकको चासो बढाएको निर्माण टिमको विश्वास छ । अब दोस्रो गीतले सिनेमाको भावनात्मक पक्ष उजागर गर्दै प्रचार अभियानलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
निर्देशक राजबहादुर सानेका अनुसार ‘लज्जावती’ केवल प्रेमकथा मात्र नभई सम्बन्धमा आउने उतारचढाव, विश्वास, बिछोड, संघर्ष र जीवनका यथार्थ पक्षलाई चित्रण गर्ने सिनेमा हो । उहाँका अनुसार कथाले प्रेम सम्बन्धभित्र लुकेका संवेदनशील पक्षलाई दर्शकसँग जोड्ने प्रयास गरेको छ ।
आगामी २९ साउनदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमामा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको अभिनय रहेको छ ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता सौरभ वली हुन् भने कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता रहेका छन् । दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेको सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् । द्वन्द्व निर्देशन देव महर्जनको रहेको सिनेमामा दिव्यराज सुवेदीको छायांकन रहको छ । सिनेमालाई कुबेर सिने डिस्ट्रिब्युसनले देशव्यापी रूपमा वितरण गर्नेछ ।
लगातार फरक शैलीका सामग्री सार्वजनिक गर्दै आएको ‘लज्जावती’ले मनोरञ्जनसँगै भावनात्मक कथा खोज्ने दर्शकलाई लक्षित गरेको देखिन्छ । प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले प्रचारलाई तीव्र बनाएको छ भने दोस्रो गीतले सिनेमाको कथावस्तुप्रति दर्शकको जिज्ञासा अझ बढाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्