गोल्डकोस्टमा ८८४८ क्रिकेट क्लबलाई ‘विन्टर कप–२०२५’ को उपाधि

काठमाडौं, १९ साउन । अष्ट्रेलियाको गोल्डकोस्टमा सम्पन्न ‘विन्टर कप–२०२५’ क्रिकेट प्रतियोगिताको उपाधि ८८४८ क्रिकेट क्लबले जितेको छ । फाइनलमा सक्सेस स्ट्राइकर्सलाई २९ रनले पराजित गर्दै ८८४८ ले उत्कृष्ट प्रदर्शनसहित प्रतियोगिताको ट्रफी आफ्नो नाममा लेखाएको हो । प्रवासी नेपाली समुदायबीच लोकप्रिय बन्दै गएको यस प्रतियोगिताले क्रिकेटमार्फत नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्नुका साथै आपसी सम्बन्धलाई अझ मजबुत बनाएको आयोजकको भनाइ छ ।

गोल्डकोस्ट गोर्खाज को आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल रोमाञ्चक बने पनि निर्णायक क्षणमा ८८४८ क्रिकेट क्लबले उत्कृष्ट ब्याटिङ र कसिलो बलिङ प्रदर्शन गर्दै जित सुरक्षित ग¥यो ।
टस जितेर पहिले ब्याटिङ रोजेको ८८४८ क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रनको प्रतिस्पर्धात्मक योगफल तयार ग¥यो ।

टोलीको इनिङ्समा विकास सापकोटा नायक बने । उनले ४७ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५९ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले । सुरुआती दबाबबीच उनले संयमित र आक्रामक ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेले ।

विकासलाई राजत सिग्देल र रिवाज गौतम ले उपयोगी साथ दिए । मध्यक्रममा यी दुई ब्याटरले आवश्यक साझेदारी गर्दै टोलीको इनिङ्सलाई गति दिएका थिए । अन्तिम ओभरहरूमा थप केही महत्वपूर्ण रन जोडिएपछि ८८४८ ले विपक्षीलाई १५७ रनको लक्ष्य दिएको थियो ।

जवाफमा ब्याटिङ गरेको सक्सेस स्ट्राइकर्स ले लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुआत गर्न सकेन । नियमित अन्तरालमा विकेट गुमाउँदा टोली दबाबमा रह्यो । कप्तान समीर भट्टराई ले एक छेउबाट उत्कृष्ट संघर्ष गर्दै ५२ बलमा ६० रनको अर्धशतकीय इनिङ्स खेले पनि अन्य ब्याटरबाट अपेक्षित साथ नपाउँदा टोली निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२७ रनमै सीमित भयो ।

८८४८ का बलरहरूले सुरुदेखि नै अनुशासित लाइन र लेन्थमा बलिङ गर्दै विपक्षीलाई खुला रूपमा रन बनाउन दिएनन् । विशेषगरी मध्य ओभरमा गरिएको किफायती बलिङ र समयमै लिइएका विकेटले खेललाई ८८४८ को पक्षमा मोड्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

प्रतियोगितापछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत विधातर्फ पनि सम्मान गरिएको थियो । एभरेष्ट सापकोटा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । राजत सिग्देल उत्कृष्ट ब्याटर तथा अशोक अधिकारी उत्कृष्ट बलर चुनिए । फाइनलमा निर्णायक अर्धशतक प्रहार गरेका विकास सापकोटा ’प्लेयर अफ द फाइनल’ घोषित भए ।

यस संस्करणमा ८८४८ क्रिकेट क्लब, सक्सेस स्ट्राइकर्स, गोर्खा प्यान्थर्स र युनाइटेड ब्रदर्स गरी चार टोलीको सहभागिता रहेको थियो । छोटो संख्यामा टोली सहभागी भए पनि प्रतियोगिता प्रतिस्पर्धात्मक र उच्चस्तरीय बनेको आयोजकले जनाएको छ ।

गोल्डकोस्टमा बसोबास गर्ने नेपाली समुदायबीच क्रिकेटको लोकप्रियता पछिल्ला वर्षहरूमा निरन्तर बढिरहेको छ । यस्ता प्रतियोगिताले खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्न सहयोग पुगेको विश्वास आयोजकको छ ।

 

आयोजक गोल्डकोस्ट गोर्खाज का अनुसार विन्टर कप केवल क्रिकेट प्रतियोगिता मात्र नभई प्रवासी नेपालीलाई एउटै मञ्चमा जोड्ने सामाजिक अभियान पनि हो । खेलकुदमार्फत आपसी सद्भाव, मित्रता र सहकार्यलाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले नेपाली समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ । आगामी वर्ष प्रतियोगितालाई अझ भव्य र बढी टोलीको सहभागितासहित आयोजना गर्ने तयारीसमेत सुरु गरिएको छ ।

दक्षिण कोरियामा सुदूरपश्चिम समाजको दबदबा, आठौँ म्याग्दी कप भलिबलको उपाधि कब्जा

प्रतिक्रिया दिनुहोस्