फाइनल जित्दै सुदूरपश्चिम समाज बन्यो म्याग्दी कप विजेता

काठमाडौं, १९ साउन । दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा र सामाजिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यले आयोजित आठौँ म्याग्दी कप–२०२६ भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुषतर्फ सुदूरपश्चिम समाज दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्दा महिलातर्फ मोना दक्षिण कोरिया च्याम्पियन बनेको छ ।

प्रतिस्पर्धात्मक फाइनलमा सुदूरपश्चिम समाज दक्षिण कोरियाले बलियो टोली पाथीभरा भलिबल क्लबलाई २–१ सेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमायो । पहिलो सेट २५–१९ ले सहज रूपमा आफ्नो पक्षमा पारेको सुदूरपश्चिम समाज दोस्रो सेटमा २२–२५ ले पराजित भए पनि निर्णायक तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै १५–१२ को जित निकाल्न सफल भयो । निर्णायक क्षणमा देखाएको संयमित खेल र प्रभावकारी आक्रमणका कारण टोलीले प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो ।

उपाधिसँगै सुदूरपश्चिम समाज दक्षिण कोरियाले २५ लाख कोरियन वन, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता पाथीभरा भलिबल टोलीले १२ लाख कोरियन वन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा स्याङ्जा भलिबल टोली र गुल्मी भलिबल टोली संयुक्त रूपमा तेस्रो स्थानमा रहे । दुवै टोलीले समान ४ लाख कोरियन वन नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई व्यक्तिगत विधातर्फ पनि सम्मान गरिएको थियो ।

पुरुषतर्फ प्रशान्त साहु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै आशिष तामाङ उत्कृष्ट स्पाइकर, अमन गुरुङ उत्कृष्ट सेटर, रविन दाहाल उत्कृष्ट लिबेरो तथा निराजन बिष्ट उत्कृष्ट ब्लकर घोषित भए । उनीहरूको प्रदर्शनले सम्बन्धित टोलीलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।

महिलातर्फको उपाधि भने मोना दक्षिण कोरिया ले जित्यो । फाइनलमा मोनाले म्याग्दीको मङ्गला भलिबल टोलीलाई सोझो दुई सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । सन्तुलित खेल प्रस्तुत गरेको मोनाले खेलभर प्रतिद्वन्द्वीलाई दबाबमा राखेको थियो ।

उपाधिसँगै मोना दक्षिण कोरियाले ४ लाख कोरियन वन, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता म्याग्दीको मङ्गला भलिबल टोलीले २ लाख कोरियन वन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी मोनाकी पुनम तामाङ महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।

आयोजकका अनुसार प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपालीलाई एउटै मञ्चमा जोड्ने अवसर प्रदान गरेको छ । विभिन्न जिल्ला, संस्था र समुदायबाट सहभागी भएका खेलाडी तथा दर्शकको उल्लेखनीय उपस्थितिले प्रतियोगिता थप आकर्षक बनेको थियो । खेलकुदसँगै नेपाली संस्कृति, आपसी सहयोग र सामाजिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले म्याग्दी कप प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।

दक्षिण कोरियामा रोजगारी, अध्ययन तथा व्यवसायका सिलसिलामा रहेका नेपालीको सक्रिय सहभागिताले प्रतियोगिता प्रवासी नेपाली समुदायको प्रतिष्ठित खेलकुद कार्यक्रमका रूपमा स्थापित हुँदै गएको आयोजकको भनाइ छ । यसपटक पनि प्रतिस्पर्धात्मक खेल, दर्शकको उत्साहजनक उपस्थिती र खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले प्रतियोगितालाई सफल बनाएको आयोजकले जनाएको छ । आगामी संस्करणलाई अझ व्यवस्थित, भव्य र सहभागितामूलक बनाउने तयारीसमेत सुरु गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्