काठमाडौं, १५ साउन । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ककाकिकी’को लिरिकल थिम गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले बुधबार एएसआर डिजिटल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गर्दै फिल्मको प्रचार अभियानलाई थप तीव्र बनाएको हो ।
सार्वजनिक गीतमा आदित्य प्रधानको स्वर, शिशिर ठटालको शब्द तथा संगीत रहेको छ । भावनात्मक शैलीमा तयार गरिएको गीतले फिल्मको कथावस्तु र पात्रहरूको सम्बन्धलाई संकेत गर्दै दर्शकमाझ उत्सुकता बढाउने प्रयास गरेको छ । निर्माण पक्षका अनुसार थिम गीतले चलचित्रको मूल भावना उजागर गर्ने भएकाले प्रचार अभियानको महत्त्वपूर्ण हिस्सा बनेको छ ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको ‘ककाकिकी’ हास्यप्रधान पारिवारिक कथामा आधारित फिल्म हो । डिजिटल प्लेटफर्ममा लोकप्रिय बनेको कमेडी दरबार टिमको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रले मनोरञ्जनसँगै पारिवारिक सम्बन्ध र सामाजिक परिवेशलाई समेट्ने प्रयास गरेको निर्देशकहरूको भनाइ छ ।
फिल्मका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन् । कथा विकासमा निर्देशक बिक्कीसँगै विकास अर्याल र सरोज भण्डारीको लेखन रहेको छ भने पटकथा पनि बिक्कीले नै तयार पारेका छन ्। विश्वास तिम्सिना स्क्रिप्ट डाक्टरका रूपमा आबद्ध छन् ।
चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, दिया मास्केलगायतका कलाकारहरूको अभिनय रहेको छ । अनुभवी कलाकारहरूको उपस्थितिले फिल्मप्रति दर्शकको अपेक्षा बढाएको छ ।
पछिल्लो समय नेपाली फिल्ममा प्रदर्शनअघि गीतमार्फत दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्ने प्रवृत्ति बढिरहेका बेला ‘ककाकिकी’ले पनि थिम गीतमार्फत आफ्नो प्रचार रणनीति अघि बढाएको छ । निर्माण टिमले अब ट्रेलर र अन्य प्रचार सामग्री सार्वजनिक गर्दै फिल्मलाई दर्शकमाझ थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्