प्रधानमन्त्री, राष्ट्रपति, पूर्वराजा, प्रमुख राजनीतिक दल र प्रदेश सरकारद्वारा संयमता र सामाजिक सद्भाव कायम राख्न अपिल

 

काठमाडौं, १५ साउन । सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनामा प्रधानमन्त्री, राष्ट्रपति, पूर्वराजा, प्रमुख राजनीतिक दल र प्रदेश सरकारले संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन । बिहीबार प्रधानमन्त्रीदेखि राष्ट्रपति, पूर्वराजा, प्रमुख राजनीतिक दल र प्रदेश सरकारसम्मले एकै स्वरमा शान्ति कायम राख्न अपिल गरेका हुन ।

प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनाको छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने स्पष्ट आश्वासन दिनुभएको छ । उहाँले घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने बताउँदै सरकारको प्रतिबद्धता दोहो¥याउनुभयो ।

“छानबिनमा कुनै पनि प्रकारको पक्षपात हुने छैन, दोषी जो कोही भए पनि कानुन अनुसार कारबाही हुन्छ,” प्रधानमन्त्री शाहले भन्नुभयो । प्रधानमन्त्रीले घाइतेहरूको उपचारमा कुनै ढिलाइ नहोस् भनी सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी पनि दिनुभयो । साथै, सामाजिक सञ्जालमार्फत फैलिने अफवाह र भ्रामक सूचनाप्रति सचेत रहन नागरिकलाई आग्रह गर्दै आधिकारिक स्रोतमा मात्र विश्वास गर्न अपिल गर्नुभयो ।

प्रधानमन्त्री शाहले नेपालको बहुधार्मिक, बहुसांस्कृतिक संरचनालाई स्मरण गराउँदै कुनै पनि धर्मले हिंसा र विभाजनलाई प्रोत्साहन नगर्ने स्पष्ट पार्नुभयो । उहाँले एक स्थानको घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई आरोपित गर्नु वा प्रतिशोध फैलाउनु न्यायोचित नहुने बताउँदै सामाजिक एकताको रक्षा गर्न आग्रह गर्नुभयो ।

यस्तै,राष्ट्रपति रामचन्द्र पौडेलले पनि छुट्टै अपिल जारी गर्दै सुनसरीको देवानगञ्ज लगायत क्षेत्रमा उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले नेपाल सदियौँदेखि सामाजिक, धार्मिक र जातीय सहिष्णुताको उदाहरणका रूपमा चिनिँदै आएको उल्लेख गर्दै त्यसलाई जोगाउन सबैलाई आग्रह गर्नुभएको छ ।

“नेपालको पहिचान नै सहअस्तित्व र मेलमिलाप हो, यसलाई कायम राख्नु सबैको साझा जिम्मेवारी हो,” उहाँले भन्नुभएको छ । साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभएको छ ।

राष्ट्रपतिले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राज्यले स्थिति सामान्य बनाउन हरसम्भव प्रयास गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अपिल जारी गर्दै पछिल्ला घटनाबाट जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले नेपाललाई सामञ्जस्यपूर्ण समाजका रूपमा चिनिँदै आएको देश भन्दै यस्ता घटना मौलिक मूल्यविपरीत भएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुनसरी र त्यसपछि सिरहासम्म फैलिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले बल प्रयोग, जनधनको क्षति र बढ्दो हिंसाप्रति चिन्ता व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

यसैबीच,मधेसकेन्द्रित विभिन्न दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् । जसपा नेपालका महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो लगायतका नेताहरूले हस्ताक्षर गरेको विज्ञप्तिमा आठ बुँदे अपिल समेटिएको छ ।

उता,मधेस प्रदेश सरकारले पनि प्रदेशभर शान्ति र सुरक्षा कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको वर्तमान सुरक्षा अवस्थाको समीक्षा गर्दै आवश्यक कदम चाल्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र कानुन कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने जनाएको छ । साथै, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गर्दै सम्भावित जोखिमको पहिचान र व्यवस्थापनमा जोड दिइएको छ ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पनि अलग अपिल जारी गर्दै पछिल्ला घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले कुनै पनि घटना वा विवादलाई साम्प्रदायिक रङ दिएर समाजमा विभाजन सिर्जना गर्ने प्रयास नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सूचना र अफवाहबाट टाढा रहन सबै नागरिकलाई अनुरोध गर्दै यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गरिने चेतावनी पनि दिनुभएको छ ।
पछिल्ला घटनाहरूमा सामाजिक सञ्जालको भूमिका विशेष रूपमा उल्लेख गरिएको छ । विभिन्न तहका नेतृत्वले बारम्बार अफवाह नफैलाउन आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री, राष्ट्रपति, पूर्वराजा, राजनीतिक दल, प्रदेश सरकार र नागरिक समाज सबैबाट आएको अपिलमा एउटा साझा सन्देश देखिन्छ । सुनसरीमा भएको झडप र त्यसपछि सिरहासम्म फैलिएको हिंसात्मक घटना केवल स्थानीय विवादमा सीमित नरही क्षेत्रीय असन्तोषमा परिणत हुने जोखिम देखिएको छ । मधेस क्षेत्रको सामाजिक संरचना बहुजातीय, बहुभाषिक र बहुधार्मिक भएकाले सानो घटना पनि व्यापक असर पार्न सक्ने संवेदनशीलता रहन्छ ।

हालको अवस्था नियन्त्रणमा ल्याउन सुरक्षा उपायहरू महत्त्वपूर्ण भए पनि दीर्घकालीन समाधानका लागि विश्वास पुनःस्थापना अपरिहार्य छ । निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउनु आवश्यक छ ।
समाजका सबै तह राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम र सर्वसाधारणले जिम्मेवार भूमिका निर्वाह नगरेसम्म स्थायी समाधान सम्भव देखिँदैन ।

नेपालजस्तो विविधतायुक्त समाजमा सदियौँदेखि कायम रहदै आएको सहिष्णुता,भाइचारा, सामाजिक सद्भाव र एकताको परम्परालाई जोगाउन सरकार इमान्दार भएर लाग्नु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्