सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी प्रतिबद्ध छः महानिरीक्षक पौडेल

काठमाडौँ, १०साउनः सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप सुदृढीकरण र प्रभावकारी बनाउन सरोकारवाला निकाय तथा स्थानीय जनतासँग निरन्तर समन्वय र सहकार्य गरी अगाडि बढेको बताउनुभयो ।
उहाँले खुल्ला सीमानाका कारण राष्ट्रिय सुरक्षामा थप चुनौती भएको हुँदा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको जनशक्ति, प्राप्त स्रोतसाधन, प्रचलित कानून, अन्य सुरक्षा निकायसँगको समन्वय र स्थानीय वासिन्दासँग सहकार्य गरी सीमा सुरक्षालाई थप मजबुद बनाउदै लैजाने बताउनुभयो ।
महानिरीक्षक पौडेलले क्रस बोर्डर तथा दशगजा क्षेत्रको रेखदेख, तेस्रो देशका नागरिकको आगमन, अवैध चोरीतस्करी, हातहतियार, लागूऔषध ओसारपसारलगायत अवैध वन्यजन्तु तथा काठ तस्करी नियन्त्रणमा अन्य सुरक्षा निकायको समन्वय र सहकार्य गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रमा २६० वटा बोर्डर आउट पोष्ट स्थापना गरी सीमा क्षेत्रको निगरानी र सुरक्षा गर्दै आइरहेको र भविष्यमा समेत सो बोर्डर आउट पोष्टलाई थप गरी ४२५ वटा बनाउने योजना रहेको बताउनुभयो ।
महानिरीक्षक पौडेलले करिब एक हजार ८८० किलोमिटरको नेपाल–भारत सीमा क्षेत्रमा २४९ बोर्डर आउट पोष्टले मात्र सीमा क्षेत्रको सुरक्षा गर्न कठिनाई परेको जनाउँदै थप जनशक्ति र भौतिक स्रोतसाधन लागि सरकारसँग आवश्यक समन्वय र सहकार्य भइरहेको बताउनुभयो ।
उहाँले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापका साथै आपत् विपद्मा परेका नागरिकको उद्धार र सहयोगमा प्रत्यक्ष सहयोग पुग्ने गरी सशस्त्र प्रहरीले २४सै घण्टा पैदल गस्ती गरिरहेको र यसबाट क्षेत्रका स्थानीय वासिन्दासँग अन्तरक्रिया गरी सीमा अपराध र अवैध क्रियाकलाप रोकथाममा सहज पुगेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्