सेमिफाइनल यात्रा कठिन बन्दै, श्रीलङ्कासँग नेपाल पराजित

काठमाडौं, ८ साउन । पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष नेसन्स लिग च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पाकिस्तानको इस्लामाबादस्थित लियाकत जिम्नेसियममा बुधबार भएको रोमाञ्चक प्रतिस्पर्धामा नेपालले दुई सेटमा उत्कृष्ट पुनरागमन गरे पनि अन्ततः श्रीलङ्कासँग ३–२ को सेटमा पराजित भयो ।

पाँच सेटसम्म चलेको प्रतिस्पर्धामा श्रीलङ्काले २५–१८, २१–२५, १९–२५, २५–२१ र १५–११ को सेटमा जित निकाल्दै महत्वपूर्ण दुई अंक हात पारेको हो । नेपालले लगातार दोस्रो खेल पनि पाँच सेटसम्म पु¥याए पनि निर्णायक सेटमा जित निकाल्न नसक्दा अंकविहीन रहनुपरेको छ ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल काजकिस्तानसँग पनि ३–२ को सेटमा पराजित भएको थियो । लगातार दुई खेलमा पाँच सेटसम्म संघर्ष गर्न सफल भए पनि निर्णायक क्षणमा अनुभव र संयमताको अभाव देखिँदा नेपालले हार बेहोरेको विश्लेषण गरिएको छ ।

श्रीलङ्काविरुद्धको खेलमा नेपालले सुरुआत भने कमजोर गरेको थियो । पहिलो सेटमा रिसेप्सन र डिफेन्स प्रभावकारी हुन नसक्दा श्रीलङ्काले २५–१८ को सहज जित निकाल्यो । नेपाली टोलीले सुरुआती चरणमा सर्भिस रिसिभमा गल्ती दोहोर्याउँदा विपक्षीले त्यसको भरपुर फाइदा उठाएको थियो ।

तर दोस्रो सेटदेखि नेपालले लय समात्यो । कप्तानसहित अग्रपंक्तिका खेलाडीले आक्रामक स्पाइक र प्रभावकारी ब्लकिङ प्रदर्शन गर्दै खेलमा पुनरागमन गराए । दोस्रो सेट २५–२१ ले जितेको नेपालले तेस्रो सेटमा झन् उत्कृष्ट प्रदर्शन गर्दै २५–१९ को नतिजा निकाल्यो । लगातार दुई सेट जितेपछि नेपाल खेलमा २–१ को अग्रतामा पुगेको थियो र जितको सम्भावना बलियो देखिएको थियो ।

तर चौथो सेटमा श्रीलङ्काले रणनीति परिवर्तन गर्दै खेलमा पुनः नियन्त्रण स्थापित ग¥यो । निर्णायक समयमा नेपालले केही सामान्य त्रुटि दोहोर्याउँदा श्रीलङ्काले त्यसलाई अंकमा परिणत ग¥यो । चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै श्रीलङ्काले खेललाई पाँचौँ सेटमा पु¥यायो ।

निर्णायक पाँचौँ सेटमा दुवै टोलीबीच सुरुदेखि नै प्रतिस्पर्धात्मक खेल देखिए पनि श्रीलङ्काले दबाबका क्षणमा संयमित प्रदर्शन ग¥यो । नेपालले केही महत्त्वपूर्ण अवसर गुमाउँदा श्रीलङ्काले १५–११ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

लगातार दोस्रो हारसँगै नेपालको सेमिफाइनल यात्रा चुनौतीपूर्ण बनेको छ । यद्यपि प्रतियोगिता अझै लिग चरणमै रहेकाले बाँकी खेलमा राम्रो नतिजा निकाल्न सके अन्तिम चारमा पुग्ने सम्भावना कायम छ । प्रतियोगिताको ढाँचाअनुसार सबै टोलीले एक–अर्कासँग एकपटक खेल्नेछन् र शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

अब नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार आयोजक पाकिस्तानको सामना गर्नेछ । घरेलु समर्थकको साथ रहने पाकिस्तान प्रतियोगिताको बलियो टोलीमध्ये एक भएकाले नेपालका लागि उक्त खेल निकै कठिन हुने अपेक्षा गरिएको छ । सेमिफाइनलको सम्भावना जीवित राख्न नेपाललाई त्यस खेलमा जित निकाल्नु अत्यन्त महत्वपूर्ण हुनेछ ।

यस संस्करणको काभा पुरुष च्याम्पियनसिपमा आयोजक पाकिस्तानसहित नेपाल, काजकिस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्बेकिस्तान सहभागी छन् । दक्षिण तथा मध्य एसियाका उत्कृष्ट टोली सहभागी रहेको प्रतियोगिताले क्षेत्रीय भलिबलको स्तर मापन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ ।

दुई हारका बाबजुद नेपालले दुवै खेलमा उच्च स्तरको प्रतिस्पर्धा गरेको छ । अब टोलीले निर्णायक समयमा हुने त्रुटि कम गर्दै दबाबपूर्ण अवस्थालाई आफ्नो पक्षमा मोड्न सके प्रतियोगिताका बाँकी खेलमा सकारात्मक नतिजा निकाल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्