इन्डोनेसियालाई हराउँदै एसिसी महिला यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

काठमाडौं, ३ साउन । एसिसी महिला यू–१९ प्रिमियर कपको उपाधि यात्राबाट सुपर ओभरमा रोकिएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै प्रतियोगिता तेस्रो स्थानमा टुंग्याएको छ । मलेसियामा सम्पन्न तेस्रो स्थानको खेलमा नेपालले इन्डोनेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो । यसअघि सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग सुपर ओभरमा पराजित भएपछि नेपाल फाइनल पुग्नबाट वञ्चित भएको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा इन्डोनेसियाले दिएको ६९ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो । नेपालको सुरुवात राम्रो रह्यो । ओपनर सावित्री धामीले २४ रनको योगदान दिँदै टोलीलाई मजबुत आधार दिलाइन् । उनी रन आउट भए पनि त्यसपछि सना प्रवीण र करूणा बिष्टले संयमित ब्याटिङ गर्दै नेपाललाई सहज जित दिलाए ।

सना २५ रनमा अविजित रहँदा करूणा १६ रनमा नटआउट रहिन् । इन्डोनेसियाका बलरहरूले नेपाली ब्याटिङलाइनअपमाथि कुनै प्रभाव जमाउन सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले नेपाली बलरहरूको अनुशासित प्रदर्शनअघि संघर्ष गर्नुप¥यो । निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६८ रन मात्र बनाउन सक्यो । २८ रनमै ६ विकेट गुमाएको इन्डोनेसियाका लागि डेर्नी राम्बु बाङ्गीले अविजित ३४ रन बनाएर टोलीलाई सामान्य सम्मानजनक स्कोरसम्म पु¥याउने प्रयास गरिन् । नी पुटु इलिनले ११ रन बनाइन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा केवल ७ रन खर्चेर ४ विकेट लिइन् । अनु कडायतले २ विकेट हात पारिन् । नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनले इन्डोनेसियालाई ठूलो स्कोर बनाउन दिएन ।
यसअघि भएको सेमिफाइनलमा नेपालले निकै प्रतिस्पर्धात्मक खेल खेले पनि सुपर ओभरमा यूएईसँग पराजित हुन पुगेको थियो ।

लगातार चार खेल जित्दै अपराजित रूपमा सेमिफाइनल पुगेको नेपाल सामान्य लक्ष्य पछ्याउँदा दबाबमा परेको थियो । यूएईले दिएको १०१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा सबै विकेट गुमाएर ठ्याक्कै १०० रनमा समेटिएपछि खेल बराबरी भएको थियो ।

नेपालका लागि अनु कडायतले २० रन, सना प्रवीणले १७ रन र एलिसा कुमारी यादवले १७ रन बनाए पनि अन्य ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक रहेकामा नेपालले ६ रन मात्र जोड्न सफल भयो । अन्तिम बलमा दोस्रो रन लिने प्रयासमा मनिषा उपाध्याय रन आउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा नेपालले ५ बलमा २ विकेट गुमाउँदै मात्र ६ रन बनाउन सक्यो । त्यसपछि ७ रनको लक्ष्य पछ्याएको यूएईले केवल ३ बलमै लक्ष्य पूरा गर्दै फाइनलको यात्रा तय गर्यो ।
सेमिफाइनलअघि भने नेपालले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको थियो । समूह विजेताका रूपमा क्वाटरफाइनल पुगेको नेपालले जापानलाई ९ विकेटले हराउँदै सेमिफाइनलसँगै आगामी यू–१९ महिला एसिया कपमा स्थान सुरक्षित गरेको थियो ।

यद्यपि उपाधि जित्ने सपना सुपर ओभरमा समाप्त भए पनि तेस्रो स्थान हासिल गर्दै प्रतियोगिता सकाउनु र एसिया कपमा छनोट हुनु नेपाली टोलीका लागि महत्वपूर्ण उपलब्धि बनेको छ । युवा खेलाडीहरूको प्रदर्शनले नेपाली महिला क्रिकेटको भविष्यप्रति थप आशा जगाएको छ ।

प्रतिक्रिया दिनुहोस्