फिल्म ‘पार्वती’को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

काठमाडौं, १३ असार । अभिनेत्री नीता ढुंगानाले पहिलो पटक निर्देशन गरेको नेपाली चलचित्र ‘पार्वती’ को पहिलो गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको छ । जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर आगामी भदौ १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले पहिलो गीतमार्फत दर्शकमाझ आफ्नो सांगीतिक यात्रा सुरु गरेको हो ।

सार्वजनिक गरिएको ‘नौतुना रेलैमा’ नेपाली विवाह संस्कृतिसँग जोडिएको परम्परागत रत्यौली भाकामा आधारित छ । विवाह समारोहमा महिलाहरूले रमाइलो वातावरणमा गाउने र नाच्ने रत्यौली संस्कृतिलाई आधुनिक प्रस्तुतिसँग जोड्दै गीत तयार गरिएको निर्माण पक्षले जनाएको छ ।

गीतले नेपाली मौलिक संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तासम्म परम्परागत लोकभाकालाई पु¥याउने प्रयास गरेको देखिन्छ ।

गीतमा गायिका रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ । शब्द रचना चर्चित गीतकार हर्क साउदले गरेका हुन् भने संगीतकार दीपक शर्माको संगीत रहेको छ । गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गर्नुभएको छ । लोक स्वाद र आधुनिक संगीत संयोजनको सन्तुलनले गीतलाई अझ आकर्षक बनाएको छ ।

गीतको भिडियोमा चलचित्रकी निर्देशक तथा मुख्य अभिनेत्री नीता ढुंगानासँगै मोडल तथा कलाकार अञ्जली अधिकारीको नृत्य रहेको छ । भिडियोमा हास्य कलाकार तथा अभिनेत्री दीपाश्री निरौला ‘लुठो’को भूमिकामा देखिनु भएको छ , जसले रत्यौलीको रमाइलो वातावरणलाई थप जीवन्त बनाएको छ । यस्तै सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी, क्रिमसन श्रेष्ठलगायत कलाकारहरूको पनि सशक्त उपस्थिति रहेको छ । गीतको कोरियोग्राफी चर्चित नृत्य निर्देशक रामजी लामिछानेले गर्नुभएको छ ।
चलचित्र ‘पार्वती’ नीता ढुंगानाको निर्देशनमा बनेको पहिलो चलचित्र हो । यसअघि सफल अभिनेत्रीका रूपमा परिचित नीता यस चलचित्रमार्फत निर्देशकको भूमिकामा रह्नुभएको छ । चलचित्रको कथा पनि स्वयं नीता ढुंगानाले लेख्नुभएको छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पार्नुभएको छ ।
चलचित्रको मुख्य कथावस्तु अटिजम (स्नायु विकाससम्बन्धी समस्या) भएकी एक युवतीको जीवन, संघर्ष र समाजले उसलाई हेर्ने दृष्टिकोणमा केन्द्रित रहेको निर्माण पक्षले जनाएको छ ।

सामाजिक विषयवस्तुमा आधारित चलचित्र भएकाले यसले मनोरञ्जनसँगै सशक्त सन्देश दिने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा नेपाली चलचित्रमा सामाजिक मुद्दालाई प्राथमिकता दिने क्रम बढिरहेको अवस्थामा ‘पार्वती’ पनि त्यही धारको फरक प्रस्तुतिका रूपमा हेरिएको छ ।

हरिहर अधिकारीको निर्माण रहेको चलचित्रको कार्यकारी निर्मातामा शंकर पाण्डे हुनुहुन्छ । उहाँले चलचित्रको प्रोडक्सन व्यवस्थापनको जिम्मेवारीसमेत सम्हाल्नु भएको छ ।

नीता फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा सुदीप बरालको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा एलिस कार्कीको पाश्र्व संगीत रहेको छ ।

चलचित्रका अन्य गीतहरूमा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत समावेश गरिएको छ ।
चलचित्रको पहिलो गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेका छन् ।

मौलिक नेपाली संस्कृति, पारिवारिक परिवेश र संवेदनशील सामाजिक कथावस्तुको संयोजनले ‘पार्वती’प्रति दर्शकको उत्सुकता थप बढाएको निर्माण पक्षको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्