काठमाडौं, १३ असार । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’को टिजर सावृज्निक भएको छ । टिजर र र गीत सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ ।
दुई दशकअघि निर्माण भएको चर्चित कथावस्तु ‘गौँथली’कै अवधारणालाई नयाँ शैलीमा प्रस्तुत गरिएको यो फिल्मले नेपाली समाजमा अझै पनि विद्यमान पारिवारिक विभेद, महिला उत्पीडन र शिक्षाप्रतिको संघर्षलाई मुख्य विषय बनाएको छ । विशेषगरी पढेर केही गर्ने सपना बोकेकी युवती विवाहपछि भोग्नुपर्ने पारिवारिक यातना र सामाजिक चुनौतीलाई फिल्मले केन्द्रमा राखेको छ ।
सार्वजनिक टिजरले दर्शकलाई भावनात्मक रूपमा छोएको देखिन्छ । युट्युब तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा धेरैले फिल्मले उठाएको विषयलाई समयसापेक्ष र आवश्यक भन्दै प्रशंसा गरेका छन् । टिजरका संवाद, दृश्य संयोजन तथा कलाकारहरूको अभिनयलाई दर्शकले रुचाएका छन् । कतिपयले नेपाली समाजका वास्तविक घटनासँग मेल खाने कथावस्तु प्रस्तुत गरिएको भन्दै फिल्मप्रति चासो व्यक्त गरेका छन् ।
फिल्मका निर्देशक डा. कपिल रिजालले सार्वजनिक सामग्रीप्रति दर्शकले देखाएको माया र समर्थनले आफूहरूलाई थप उत्साहित बनाएको बताउनु भयो । उहाँका अनुसार फिल्मले मनोरञ्जन मात्र नभई समाजमा विद्यमान केही गम्भीर समस्यामाथि बहस सिर्जना गर्ने प्रयास गरेको छ ।
निर्देशक रिजालले टिजर र गीतले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया प्राप्त गरेको र दर्शकको विश्वासलाई कायम राख्ने गरी फिल्म तयार गरिएको दाबी गर्नुभयो । उहाँले सामाजिक सन्देश र भावनात्मक कथालाई सशक्त ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको पनि उल्लेख गर्नुभयो ।
फिल्मको टिजर सार्वजनिक भएपछि अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काको अभिनय विशेष चर्चामा आएको छ । विशेषगरी अरुण क्षेत्रीको भूमिका दर्शकका लागि नयाँ अनुभव बनेको छ । यसअघि प्रायः रोमान्टिक भूमिकामा देखिँदै आएका क्षेत्री यसपटक भने अटिजम भएका युवकको चरित्र निर्वाह गर्नुभएको छ ।
त्यस्तै सिम्रन खड्काको पनि संघर्षशील युवतीको भूमिकामा प्रभावशाली उपस्थिति रहेको देखिन्छ । टिजरमा उहाँको भावनात्मक प्रस्तुति र संवाद अभिव्यक्तिलाई दर्शकले सकारात्मक रूपमा लिएका छन् । फिल्मका मुख्य पात्रबीचको सम्बन्ध, संघर्ष र पारिवारिक परिस्थितिको चित्रणले कथावस्तुप्रति थप उत्सुकता जगाएको छ ।
फिल्मका कथा डा. भोला रिजालले लेख्नु भएको छ । नेपाली साहित्य, गीत र सामाजिक विषयमा लामो समयदेखि सक्रिय रह्नुभएको रिजाल यस पटक पनि समाजका संवेदनशील पक्षलाई पर्दामा उतार्ने प्रयास गर्नुभएको छ ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, सीतादेवी तिमिल्सिना, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, लक्ष्मीनाथ तिमिल्सिना, अंशु ओली र प्रिन्स नेपालीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेको ‘गौँथली’ले सामाजिक चेतना, पारिवारिक सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ । सार्वजनिक टिजर र गीतले दर्शकमाझ सकारात्मक प्रभाव पारिरहेका बेला फिल्मप्रति अपेक्षा पनि क्रमशः बढ्दै गएको देखिन्छ । प्रदर्शन मिति नजिकिँदै जाँदा ‘गौँथली’ यस वर्षको प्रतीक्षित सामाजिक फिल्ममध्ये एक बन्ने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्