काठमाडौं, १० असार । फिल्म ‘झिंगेदाउ २’ को पोष्टर सार्वजनिक गरिएको छ । आगामी असोज २ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘झिंगेदाउ २’ ले आफ्नो प्रचार अभियान औपचारिक रूपमा सुरु गरेको छ । निर्माण टिमले एकसाथ तीन फरक शैलीका पोष्टर सार्वजनिक गर्दै सिनेमाको कथा, पात्र र परिवेशबारे दर्शकलाई प्रारम्भिक संकेत दिएको हो । पोष्टर सार्वजनिक भएसँगै निर्माण पक्षले अब गीत, टिजर तथा ट्रेलरमार्फत प्रचारलाई थप तीव्र बनाउने जनाएको छ ।
निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो सिनेमा तीन वर्षअघि प्रदर्शनमा आएको सफल सिनेमा ‘झिंगेदाउ’ को सिक्वेल हो । पहिलो श्रृंखलाले पारिवारिक कथा, ग्रामीण परिवेश र मनोरञ्जनात्मक प्रस्तुतीमार्फत दर्शकको राम्रो साथ पाएको थियो । त्यसैले दोस्रो श्रृंखलाप्रति पनि दर्शक तथा चलचित्र वृत्तमा उल्लेख्य चासो देखिएको छ ।
सार्वजनिक पहिलो पोष्टरमा अभिनेत्री केकी अधिकारी र आँचल शर्मा हर्षित मुद्रामा देखिएका छन् भने महेश त्रिपाठी, कुशल बिष्ट र हिउँवाला गौतम भावुक अवस्थामा प्रस्तुत भएका छन् । यसले सिनेमामा खुसी र भावनात्मक उतारचढाव दुवै रहेको संकेत गर्छ । पात्रहरूको अनुहारमा देखिएको भावले कथा पारिवारिक सम्बन्ध, संघर्ष र संवेदनशील घटनाक्रमसँग जोडिएको हुन सक्ने अनुमान गरिएको छ ।
दोस्रो पोष्टरले नेपाली समाजको सबैभन्दा ठूलो पर्व दशैं को माहोललाई केन्द्रमा राखेको छ । मुख्य पात्रहरू उत्सवमय वातावरणमा रमाइरहेको दृश्यले सिनेमामा पारिवारिक पुनर्मिलन, सांस्कृतिक मूल्य र चाडपर्वसँग जोडिएको कथावस्तु समेटिएको संकेत दिन्छ । दशैंको परिवेशलाई प्रमुख रूपमा प्रस्तुत गरिएकाले सिनेमाले नेपाली समाजको जीवनशैली र पारिवारिक सम्बन्धलाई केन्द्रमा राख्ने अपेक्षा गरिएको छ ।
तेस्रो पोष्टरमा अभिनेता आर्यन सिग्देललाई विशेष रूपमा प्रस्तुत गरिएको छ । पोष्टरमा उनी अन्य पात्रहरूलाई रोक्न खोजेजस्तो देखिन्छन् भने मुख्य पात्रहरू आश्चर्यचकित मुद्रामा छन् । यसले कथामा नयाँ मोड, द्वन्द्व वा रहस्यपूर्ण घटनाको संकेत गरेको अनुमान गर्न सकिन्छ । आर्यनको भूमिकाले कथालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।
सिनेमामा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान र विनोदकुमार पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ । साथै, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा अतिथि भूमिकामा रह्नुभएको जनाएको छ ।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको सिनेमामा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको छ । परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले पटकथा तथा संवाद रहेको छ । विष्णु घिमिरे ‘कल्पित’ छायांकन निर्देशकका रूपमा रह्नुभएको छ भने मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन जनाइएको छ ।
निर्माण पक्षका अनुसार सार्वजनिक गरिएका तीनवटै पोष्टरले सिनेमाका फरक–फरक आयाम उजागर गरेका छन् । पारिवारिक सम्बन्ध, चाडपर्वको उत्सव, हास्यरस र भावनात्मक घटनाक्रमलाई समेटिएको यस सिनेमाले पहिलो भागको सफलतालाई निरन्तरता दिने अपेक्षा गरिएको छ । प्रदर्शन मिति नजिकिँदै जाँदा ‘झिंगेदाउ २’ नेपाली चलचित्र बजारमा बहुप्रतीक्षित सिनेमामध्ये एकका रूपमा स्थापित हुँदै गएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्