फिल्म ‘बाटुलो जून’को छायांकन हुदै

काठमाडौं, २ जेठ । नेपाली फिल्म क्षेत्रमा एक समय आफ्नो सशक्त अभिनय र सरल छविका कारण दर्शकमाझ विशेष पहिचान बनाएकी अभिनेत्री गरिमा पन्त करिब नौ वर्षपछि पुनः अभिनयमा फर्किएकी छन् । उनी नयाँ नेपाली फिल्म बाटुलो जून मार्फत पुनरागमन गर्न लागेकी हुन् । केही दिनदेखि भक्तपुर क्षेत्रमा अन्तिम चरणको छायांकन भइरहेको फिल्ममा उनले बिहीबारदेखि आफ्नो भागको छायांकन सुरु गरेकी छन् ।

फिल्मसँग सम्बन्धित स्रोतका अनुसार यस चलचित्रमा गरिमाको जोडी अभिनेता भुवन केसीसँग बाँधिएको छ । फिल्ममा उनी बुढ्यौली पात्रको भूमिकामा देखिने भएकी छन् । लामो समयपछि नेपाली फिल्म क्षेत्रमा फर्किएकी गरिमा यही फिल्मका लागि बेल्जियमबाट नेपाल आएकी हुन् ।

उनले अभिनयमा पुनरागमन गरेको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत दिएकी छन् । आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत अभिनयमा फर्केको कुरा बताइन । उनले इन्स्ट्रग्राममा लेखेकी छन्, “केही समयको अन्तरालपछि फेरि क्यामरा, सेट अनि अभिनयसँगको भेट ।”

गरिमाको पुनरागमनलाई नेपाली फिल्म क्षेत्रले चासोका साथ हेरेको छ । अभिनय यात्रामा उनले निर्माण गरेको पहिचान, प्रस्तुत गर्ने भावनात्मक अभिनय शैली तथा सरल व्यक्तित्वका कारण दर्शकमाझ उनको छुट्टै स्थान थियो । विशेषगरी पारिवारिक र सामाजिक कथावस्तुमा आधारित फिल्ममा उनले निर्वाह गरेका भूमिकाले दर्शकको मन जितेको थियो ।

गरिमाले २०७३ सालमा बेल्जियममा बसोबास गर्दै आएका हरि थपलियासँग विवाह गरेपछि अभिनय क्षेत्रबाट दूरी बनाएकी थिइन् । विवाहपछि उनी श्रीमान्सँगै बेल्जियममा बस्दै आएकी छन् । त्यसयता उनले सार्वजनिक रूपमा फिल्ममा अभिनय गरेकी थिइनन् । पछिल्लो पटक उनी २०७४ सालमा प्रदर्शन भएको फिल्म स्काउटमा देखिएकी थिइन् । त्यसपछि उनी पूर्ण रूपमा पारिवारिक जीवनमा केन्द्रित बनेकी थिइन् ।

नेपाली फिल्म क्षेत्रमा गरिमाको योगदान उल्लेखनीय मानिन्छ । उनले अभिनय गरेको झोला नेपाली सिनेमाको महत्वपूर्ण कृतिका रूपमा लिइन्छ । २०७० सालमा प्रदर्शन भएको उक्त फिल्ममा उनले निर्वाह गरेको भूमिकाले व्यापक प्रशंसा बटुलेको थियो ।

यही फिल्मबाट उनले राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । त्यति मात्र होइन, उनले सार्क फिल्म फेस्टिभलमा समेत उत्कृष्ट अभिनेत्रीको सम्मान प्राप्त गरेकी थिइन् । ‘झोला’मा प्रस्तुत गरेको भावनात्मक अभिनयलाई नेपाली फिल्म इतिहासकै उत्कृष्ट अभिनयमध्ये एक मानिने गरिएको छ ।

गरिमाले अभिनय गरेका अन्य चर्चित फिल्ममा निखिल दाई, जीवन मृत्यु, प्रितीको फूल, दिदी भाइ, मनले मनलाई छुन्छ र सुन्दर मेरो नाम लगायत रहेका छन् । उनले दुई दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरेकी छन् । अधिकांश फिल्ममा उनले सोझी, संवेदनशील तथा पारिवारिक चरित्रलाई जीवन्त रूपमा प्रस्तुत गरेकी थिइन् ।

उता, फिल्म ‘बाटुलो जून’प्रति पनि दर्शकमाझ उत्सुकता बढेको देखिन्छ । लामो समयपछि गरिमा पन्तको पुनरागमन, भुवन केसीसँगको सहकार्य तथा फरक गेटअपका कारण फिल्म चर्चामा आएको हो । निर्माण टिमले फिल्मको कथा, प्रदर्शन मिति तथा अन्य कलाकारबारे विस्तृत जानकारी भने सार्वजनिक गरिसकेको छैन । तर छायांकन अन्तिम चरणमा पुगेकाले फिल्म चाँडै प्रदर्शन तयारीमा जाने अनुमान गरिएको छ ।

नेपाली फिल्म उद्योगमा पछिल्लो समय पुराना कलाकारहरूको पुनरागमनको क्रम बढिरहेका बेला गरिमा पन्तको पुनः आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अभिनयमा गहिरो प्रभाव छाडेकी कलाकार पुनः पर्दामा फर्किनु दर्शकका लागि मात्र होइन, नेपाली फिल्म उद्योगकै लागि पनि सकारात्मक संकेतका रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्