नेपाल ‘ए’ सँग स्कटल्यान्ड ४५ रनले पराजित

 

काठमाडौं, २५ बैशाख । नेपाल ‘ए’ टोलीले स्कटल्यान्डविरुद्धको एकदिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा घरेलु टोली नेपाल ‘ए’ ले उत्कृष्ट ब्याटिङ र अनुशासित बलिङ प्रदर्शन गर्दै स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको हो । आगामी साता सुरु हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–टु सिरिजअघि भएको यो खेलले नेपाली टोलीको आत्मविश्वास थप बलियो बनाएको छ ।

नेपालले दिएको २ सय ७८ रनको चुनौती पछ्याएको स्कटल्यान्ड ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३२ रनमा समेटियो । स्कटल्यान्डका ओपनर मार्क वाट र फिन्ले म्याकक्रेथले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । दुवैले नेपाली बलरमाथि सुरुआती दबाब बनाएका थिए ।

तर साहब आलामले ३७ रन बनाएका मार्क वाटलाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएपछि खेलको लय फेरियो। त्यसपछि फिन्ले म्याकक्रेथ पनि विपिन खत्रीको बलमा बोल्ड भए । उनले ५२ रनको अर्धशतकीय पारी खेले । दुई सेट ब्याटर आउट भएपछि स्कटल्यान्डको मध्यक्रम दबाबमा परेको थियो ।

नेपालका बलरहरूले लगातार विकेट निकाल्दै स्कटल्यान्डलाई पुनरागमन गर्ने अवसर दिएनन् । ब्रान्डन म्याकमलेन २१ रनमा आउट भए भने कप्तान रिची बेरिङ्गटन मात्र तीन रन जोडेर पवेलियन फर्किए । त्यसबेला स्कटल्यान्डले चार विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।

पछि ज्याक जार्भिस र ओलिभर डेभिडसनले आठौँ विकेटका लागि ५१ रनको साझेदारी गर्दै स्कटल्यान्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ज्याकले ४५ रन बनाएर संघर्षपूर्ण पारी खेले पनि उनी आउट भएपछि स्कटल्यान्डको जितको सम्भावना कमजोर बन्यो । ओलिभर पनि १७ रनमा आउट भएपछि स्कटल्यान्डको इनिङ समाप्त भएको थियो ।

नेपालका लागि साहब आलाम, युवराज खत्री, बसिर अहमद र राशिद खानले समान दुई–दुई विकेट लिए। नेपाली बलरहरूले महत्वपूर्ण समयमा विकेट निकाल्दै विपक्षी टोलीलाई ठूलो साझेदारी बनाउन दिएनन् । विशेषगरी मध्य ओभरमा गरिएको किफायती बलिङ नेपालका लागि निर्णायक बन्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २ सय ७७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । नेपालका ओपनर मयान यादव र कप्तान अनिल साहले संयमित सुरुवात गर्दै पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । कप्तान अनिल साह १८ रनमा आउट भए भने मयान यादवले ४५ रन बनाए। उनले ८६ बल खेल्दै पाँच चौका र एक छक्का प्रहार गरे ।

नेपालले २३ दशमलव १ ओभरमा ८३ रन बनाउँदा दुई विकेट गुमाइसकेको अवस्थामा देव खनाल र सन्दीप जोराले इनिङ सम्हाले। दुवैले तेस्रो विकेटका लागि महत्वपूर्ण ७७ रनको साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पु¥याए। सन्दीप जोरा ३४ रनमा आउट भए भने लगत्तै कुशल मल्ल तीन रनमै पवेलियन फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्