काठमाडौं, १५ चैत । नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले अन्तरराष्ट्रिय स्तरको प्रतिष्ठित ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्पियनसिप’को उपाधि जित्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। ‘हिमालय चितुवा’ उपनामबाट परिचित घिमिरेले उक्त उपाधि दोस्रो पटक जित्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो नेपाली खेलाडीका रूपमा इतिहास रचेका हुन् ।
जापानको टोकियोमा शनिबार सम्पन्न प्रतियोगितामा घिमिरेले घरेलु खेलाडी रिकुलाई नकआउट गर्दै उपाधि रक्षा गरेका हुन् । उनले तेस्रो राउन्डको दोस्रो मिनेटमै शक्तिशाली प्रहार गर्दै प्रतिद्वन्द्वीलाई पराजित गरेका थिए। यो जितसँगै उनले आफ्नो उत्कृष्ट प्रदर्शनलाई पुनः पुष्टि गरेका छन् ।
‘के वान क्रस’ किक बक्सिङ क्षेत्रको अत्यन्तै प्रतिष्ठित र प्रतिस्पर्धात्मक प्रतियोगिताका रूपमा परिचित छ । विश्वभरका उत्कृष्ट खेलाडीहरू सहभागी हुने यस प्रतियोगितामा उपाधि जित्नु ठूलो उपलब्धि मानिन्छ । सोही प्रतियोगितामा लगातार दोस्रो पटक उपाधि जित्दै घिमिरेले नेपाली खेलकुद इतिहासमा नयाँ अध्याय थपेका छन् ।
घिमिरेका पिता तथा बक्सर देव घिमिरेका अनुसार अविरलले सुरुदेखि नै आत्मविश्वासका साथ खेल्दै निर्णायक चरणमा आक्रामक शैली अपनाएका थिए । तेस्रो राउन्डमा पुगेपछि उनले आक्रमण तीव्र बनाउँदै जापानी खेलाडीलाई नकआउट गर्न सफल भएका थिए । यो जित केवल उपाधि रक्षा मात्र नभई विश्वस्तरमा आफ्नो प्रभुत्व स्थापित गर्ने महत्वपूर्ण उपलब्धि भएको उनले बताए ।
हाल अविरल जापानको नागोयास्थित प्रतिष्ठित ‘हिट किक बक्सिङ क्लब’मार्फत प्रशिक्षण तथा प्रतिस्पर्धामा संलग्न छन् । उक्त क्लब विश्वका चर्चित किक बक्सिङ प्रशिक्षण केन्द्रमध्ये एक मानिन्छ, जहाँबाट उनले आफ्नो सीपलाई अझ परिष्कृत गर्दै आएका छन ।
अविरलले यसअघि पनि किक बक्सिङ क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिसकेका छन्। उनले हालसम्म ‘हिट किक बक्सिङ’को तीन पटक टाइटल डिफेन्स गर्दै चार पटक टाइटल म्याच जितेका छन् । यसका साथै अन्तरराष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का) टाइटल तथा ‘के वान क्रस १७५’ उपाधि पनि जितिसकेका छन् ।
अन्तरराष्ट्रिय स्तरमा सक्रिय घिमिरेले हालसम्म २५ वटा प्रतियोगितामा सहभागिता जनाएका छन्। तीमध्ये १९ प्रतियोगितामा उनले विजय हासिल गरेका छन् भने १८ जित नकआउटमार्फत प्राप्त गरेका छन्। यो तथ्यांकले उनको आक्रामक र प्रभावशाली खेल शैलीलाई स्पष्ट पार्छ।
यस सफलतासँगै घिमिरेले अन्तरराष्ट्रिय किक बक्सिङ क्षेत्रमा नेपाललाई नयाँ उचाइमा पु¥याएका छन्। उनले हासिल गरेको उपलब्धिले नेपाली खेलाडीहरूलाई अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
खेल विश्लेषकहरूका अनुसार अविरलको निरन्तर सफलता, अनुशासन र मेहनतले उनलाई विश्वस्तरको खेलाडीका रूपमा स्थापित गरेको छ । आगामी दिनमा पनि उनले यस्तै प्रदर्शन जारी राखेमा अझ ठूलो उपलब्धि हासिल गर्ने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्