ओली र लेखक पक्राउपछि गृहमन्त्री गुरूङको भनाइ : “कानुनभन्दा माथि कोही छैन”

काठमाडौं, १४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरूङ ले सरकारको कदमलाई कानुनी प्रक्रियाअनुसार भएको स्पष्ट पार्नुभएको छ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गृहमन्त्री गुरूङले कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुन नसक्ने बताउनुभएको हो। उहाँले पछिल्लो कारबाहीलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्न नहुने उल्लेख गर्दै यो न्यायिक प्रक्रिया अगाडि बढेको संकेत दिनुभयो।

“वाचा भनेको वाचा नै हो, कानुन सबैका लागि समान हुन्छ,” भन्दै उहाँले लेख्नुभएको छ, “यो कुनै प्रतिशोध होइन, न्यायको सुरुवात हो।”

सरकारले पछिल्ला घटनाक्रमलाई विधिसम्मत ढंगले अगाडि बढाएको दाबी गर्दै गुरूङले अब देशले सुशासन र कानुनी शासनतर्फ नयाँ दिशा लिने विश्वास व्यक्त गर्नुभएको छ।

उता विपक्षी दलहरूले भने उच्चस्तरीय नेतामाथिको कारबाहीलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाउँदै विरोध जनाइरहेका छन्। पक्राउ घटनापछि देशको राजनीतिक वातावरण थप तातेको छ।

प्रतिक्रिया दिनुहोस्