प्रतिनिधिसभा निर्वाचन : मतगणनामा रास्वपाको स्पष्ट अग्रता, अधिकांश क्षेत्रमा नयाँ राजनीतिक लहर

काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा प्रारम्भिक परिणामले रोचक राजनीतिक संकेत देखाएको छ। हालसम्म सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू ४१ निर्वाचन क्षेत्रमा अग्रस्थानमा देखिएका छन्।

यसैगरी नेकपा एमाले पाँच क्षेत्रमा, नेपाली कांग्रेस चार क्षेत्रमा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारहरू दुई क्षेत्रमा अग्रता कायम गरिरहेका छन्। मतगणनाको प्रारम्भिक प्रवृत्तिले यसपटकको निर्वाचनमा नयाँ राजनीतिक शक्तिको प्रभाव उल्लेखनीय रूपमा बढेको संकेत गरेको विश्लेषण हुन थालेको छ।

निर्वाचन आयोगका अधिकारीहरूका अनुसार देशका विभिन्न जिल्लामा मतगणना जारी छ। काठमाडौँ, रूपन्देही, मोरङ, भक्तपुर, चितवन, कास्की, झापा लगायतका निर्वाचन क्षेत्रमा प्रारम्भिक मतपरिणाम सार्वजनिक भइसकेका छन् भने केही स्थानमा मतगणना तीव्र गतिमा अघि बढिरहेको छ।

राजधानीमा रास्वपाको प्रभाव

विशेषगरी राजधानी काठमाडौँका अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता लिइरहेका छन्।

काठमाडौँ–१ मा रञ्जु न्यौपाने अगाडि रहेकी छन् भने काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ अग्रस्थानमा छन्। यसैगरी काठमाडौँ–१० मा प्रदीप विष्ट, काठमाडौँ–७ मा गणेश पराजुली, काठमाडौँ–३ मा राजुनाथ पाण्डे, काठमाडौँ–४ मा पुकार बम, काठमाडौँ–५ मा सस्मित पोखरेल तथा काठमाडौँ–६ मा शिशिर खनाल ले अग्रता कायम राखेका छन्।

त्यस्तै काठमाडौँ–२ मा सुनिल केसी पनि प्रारम्भिक मतगणनामा अगाडि देखिएका छन्।

राजधानीका धेरै क्षेत्रमा परम्परागत दलका उम्मेदवारहरू पछाडि परिरहेको प्रारम्भिक तथ्याङ्कले शहरी मतदातामा नयाँ विकल्पप्रतिको आकर्षण बढेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

अन्य जिल्लामा पनि अग्रता

रास्वपाले राजधानी बाहिर पनि उल्लेखनीय उपस्थिति देखाइरहेको छ।

रूपन्देही–२ मा सुलभ खरेल, धनुषा–३ मा मनिष झा, मोरङ–४ मा सन्तोष राजवंशी, महोत्तरी–१ मा प्रमोदकुमार महतो तथा भक्तपुर–१ मा रुकेश रञ्जित अगाडि छन्।

चितवन–२ मा रवि लामिछाने ले अग्रता लिइरहेका छन् भने कास्की–२ मा उत्तमप्रसाद पौडेल तथा कास्की–१ मा खड्कराज पौडेल अगाडि देखिएका छन्।

यसैगरी भक्तपुर–२ मा राजीव खत्री, बाँके–१ मा सुरेशकुमार चौधरी, चितवन–३ मा सोविता गौतम तथा ललितपुर–३ मा तोसीमा कार्की ले पनि अग्रता कायम राखेका छन्।

अन्य क्षेत्रमा कञ्चनपुर–२ मा दीपकराज बोहरा, दाङ–१ मा देवराज पाठक, मोरङ–१ मा यज्ञमणि न्यौपाने, स्याङ्जा–१ मा धनञ्जय रेग्मी तथा कास्की–३ मा बिना गुरुङ अग्रस्थानमा देखिएका छन्।

रौतहट–४ मा गणेश पौडेल, रूपन्देही–३ मा डा. लेखजंग थापा, बाँके–३ मा खगेन्द्र सुनार, झापा–२ मा इन्दिरा राना मगर तथा बारा–१ मा गणेश धिमाल ले अग्रता लिइरहेका छन्।

त्यस्तै झापा–५ मा बालेन्द्र शाह (बालेन), तनहुँ–१ मा स्वर्णिम वाग्ले, मोरङ–५ मा आशा झा तथा रूपन्देही–५ मा तौफिक अहमद खान पनि अग्रस्थानमा छन्।

कञ्चनपुर–१ मा जनक सिंह धामी, बर्दिया–२ मा श्रीधर पोख्रेल, धादिङ–१ मा आसिका तामाङ, पाल्पा–१ मा विमल पन्त, कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता, ललितपुर–२ मा जगदीश खरेल तथा मोरङ–३ मा गणेश कार्की ले पनि अग्रता लिइरहेका छन्।

अन्य दलहरूको स्थिति

यसैबीच प्रमुख दलहरू पनि केही क्षेत्रमा प्रतिस्पर्धामा देखिएका छन्।

नेपाली कांग्रेस चार क्षेत्रमा अग्रता कायम राखेको छ। ललितपुर–१ मा उदयशमशेर जबरा, कपिलवस्तु–३ मा अभिषेकप्रताप शाह तथा कैलाली–१ मा जनकराज चौधरी अगाडि देखिएका छन्।

त्यस्तै नेकपा एमाले का उम्मेदवारहरू पनि पाँच निर्वाचन क्षेत्रमा अग्रता कायम गरिरहेका छन्। रूपन्देही–४ मा प्रमोदकुमार यादव, बाँके–२ मा मोहम्मद इश्तियाक राई, स्याङ्जा–१ मा मीनप्रसाद गुरुङ, तेह्रथुम–१ मा भानुभक्त ढकाल तथा चितवन–१ मा दावा दोर्जे लामा अगाडि छन्।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले दुई क्षेत्रमा अग्रता लिइरहेका छन्। रुकुम पूर्व–१ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा कालिकोट–१ मा महेन्द्रबहादुर शाही अगाडि देखिएका छन्।

मतगणना जारी, अन्तिम परिणाम प्रतीक्षा

हाल देशका धेरै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्। प्रारम्भिक परिणामले देखाएको प्रवृत्ति अन्तिम नतिजासम्म कायम रहन्छ वा परिवर्तन हुन्छ भन्ने विषय भने मतगणनाको प्रगतिसँगै स्पष्ट हुँदै जानेछ।

यसपटकको निर्वाचनमा नयाँ राजनीतिक शक्ति र परम्परागत दलबीच प्रतिस्पर्धा तीव्र देखिएको छ। विशेषगरी शहरी क्षेत्रमा मतदाताको व्यवहारमा देखिएको परिवर्तनले नेपाली राजनीतिमा नयाँ समीकरण बन्न सक्ने संकेत गरेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।

अहिलेसम्मको मतपरिणामले मतदाताले परिवर्तन र नयाँ विकल्पको खोजी गरिरहेको सन्देश दिएको विश्लेषण हुँदै आएको छ। तर अन्तिम परिणाम सार्वजनिक भएपछि मात्रै आगामी संसद्को वास्तविक शक्ति सन्तुलन कस्तो रहनेछ भन्ने स्पष्ट हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्