गृहमन्त्री अर्यालद्वारा विभिन्न जिल्लाका मतदानस्थलको अनुगमन

काठमाडौँ, १५ फागुन: गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र शान्ति सुरक्षाका बारेमा जानकारी लिन विभिन्न जिल्लाका मतदानस्थलको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।
उहाँसँग कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित उच्च अधिकारीको सहभागिता सहभागी थियो । उक्त टोलीले निर्वाचन सुरक्षाबारे विभिन्न जिल्लाका जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकार भएका निकायका प्रतिनिसँग छलफल र अन्तरक्रिया गरेको हो ।
अनुगमनमा सहभागी गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार मन्त्री अर्याल नेतृत्वको टोलीले आज बिहान दोलखाको बैदेश्वर गाउँपालिकामा रहेको मतदानस्थलको स्थलगत अनुगमन गरी सुरक्षा अवस्थाबारे समीक्षा गरेको थियो । त्यसपछि उक्त टोली ओखलढुङ्गा पुगेर निर्वाचन तयारी र शान्ति सुरक्षाबारे अन्तरक्रिया गरेको उहाँले जानकारी दिनुभयो ।
ती छलफलका क्रममा गृहमन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी रहेकाले सबैलाई ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।
गृहमन्त्री अर्यालले गैरकानुनी गतिविधिमा संलग्नलाई कानुनको दायरामा ल्याएर कडा कारबाही गरिने बताउनुभयो । धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न र उम्मेदवारको व्यक्तिगत सुरक्षामा विशेष ध्यान दिन उहाँले निर्देशन दिनुभयो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, निष्पक्ष हुने विश्वास व्यक्त गर्दै निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निर्वाचनको तयारी तथा जिल्लाको समग्र शान्ति सुरक्षाबारे जानकारी गराउनुभएको थियो । साथै उहाँहरूले जिल्लामा स्रोतसाधन तथा सुरक्षा टोलीको परिचालनको अवस्थाबारे अवगत गराउनुभएको थियो ।
मुख्य निर्वाचन अधिकृतहरूले निर्वाचनको तयारी शान्ति सुरक्षा, निर्वाचनका लागि कर्मचारी व्यवस्थापनलायत तयारी चुस्त र दुरुस्त रहेको तथा राजनीतिक पार्टीसँग प्रभावकारी समन्वय भइरहेको बताउनुभयो ।
पहाडी जिल्लाको अवलोकनपछि मन्त्री अर्यालको टोलीले तराई–मधेसका मोरङ, रौतहट र पर्सा जिल्लाका मतदानस्थलको निरीक्षण गर्दै सरोकार भएकाहरूसँग छलफल गरेको छ । पर्साको प्रतिनिधिसँगको छलफलमा बाराका जिल्ला सुरक्षा समिति तथा अन्य सरोकार भएका निकायका प्रतिनिधिको  सहभागिता थियो ।
अनुगमनका क्रममा रौतहटमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले तराई–मधेस क्षेत्रमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैको योगदान रहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचनसम्बन्धी कुनै कसुर भएमा निर्वाचन विरोधी तत्वलाई उन्मुक्ति दिन नहुनेमा जोड दिनुभयो । मन्त्री अर्यालले जिल्लामा निर्वाचन सुरक्षा तयारीको प्रबन्ध प्रभावकारी गरिएकामा गृह मन्त्रालयको तर्फबाट आभार प्रकट गर्नुभयो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले विभिन्न समूह र संस्थाले बेलाबखत धार्मिक तथा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास गरे पनि त्यसलाई नियन्त्रणमा लिएर शान्ति सुव्यवस्था कामय गरिएको उल्लेख गर्नुभयो ।
जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित, मुख्य निर्वाचन अधिकृत मनोज केसी र निर्वाचन अधिकृत सिताराम खड्काको पनि उपस्थिति थियो । मुख्य निर्वाचन अधिकृतले निर्वाचनको सबै तयारी भइसकेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीले सबै जिल्लाको वस्तुगत अवस्थाका बारेमा गृहमन्त्रीलाई जानकारी गराउनुभयो ।
अनुगमनमा गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजङ्ग केसी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडामगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सहप्रवक्ता रमा आचार्य, प्रहरी महानिरीक्षक विष्णु भट्टलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्