काठमाडौं, १५ फागुन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक आफ्नो स्थापनाको ४१औँ वर्षमा प्रवेश गरेको छ । चार दशकभन्दा बढी समयको संस्थागत यात्रामा बैंकले वित्तीय क्षेत्रभित्र सुदृढ उपस्थिति कायम गर्न सफल भएको दाबी गरेको छ । ग्राहक, सेयरधनी, नियामक निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीहरूको निरन्तर विश्वास, साथ र सहयोग नै संस्थाको स्थायित्व र विस्तारको मुख्य आधार बनेको बैंकले दावी गरेको छ ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडे ले बैंकको सफलतामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पु¥याउने सबै सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले प्रतिस्पर्धी बैंकिङ वातावरणबीच पनि संस्थाले पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अघि बढेको उल्लेख गर्नुभयो । आगामी दिनमा अझ नवप्रवर्तनमुखी, ग्राहककेन्द्रित र जिम्मेवार बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष पाँडेले वित्तीय सेवामा गुणस्तर र विश्वसनीयतालाई थप मजबुत बनाउने योजना रहेको बताउनु भयो ।
त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे ले डिजिटल रूपान्तरणलाई बैंकको भावी रणनीतिको केन्द्रमा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रविधिमा आधारित सेवा विस्तार, डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन तथा अनलाइन बैंकिङ पूर्वाधारको सुदृढीकरणमार्फत ग्राहक अनुभवलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाइनेछ । डिजिटल बैंकिङप्रति ग्राहकको आकर्षण बढिरहेको सन्दर्भमा नवप्रवर्तनलाई तीव्रता दिनु अपरिहार्य भएको बताउनु भयो ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतामा केन्द्रित चित्र पुस्तक प्रकाशनलाई निरन्तरता दिँदै आएको छ । विगत आठ वर्षदेखि जारी यस पहलअन्तर्गत ४०औँ वार्षिकोत्सवको अवसर पारेर बैंकले आफ्नो आठौँ संस्करणको चित्रकथा पुस्तक सार्वजनिक गरेको जनाएको छ । बालबालिकालाई लक्षित गरी तयार गरिएको उक्त पुस्तकमा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोत संरक्षण र विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) जस्ता समसामयिक विषयवस्तुलाई सरल र रोचक शैलीमा प्रस्तुत गरिएको छ ।
बैंकका अनुसार पछिल्ला वर्षहरूमा वातावरणमा देखिएको तीव्र परिवर्तनले मानव स्वास्थ्य, जैविक विविधता तथा पृथ्वीको समग्र सन्तुलनमा गम्भीर असर पारिरहेको छ । यस अवस्थाबारे भावी पुस्तालाई सचेत गराउन तथा वातावरण संरक्षणप्रति सकारात्मक सोच विकास गर्न पुस्तक प्रकाशन गरिएको हो । सामाजिक उत्तरदायित्वलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा अंगीकार गर्दै बैंकले शिक्षा, वित्तीय साक्षरता र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले सामुदायिक स्वास्थ्य क्षेत्रमा पनि योगदान पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा बैंकका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको जनाइएको छ । संस्थागत सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बैंकले जनाएको छ ।
सेवा सञ्जाल विस्तारतर्फ बैंकले देशव्यापी पहुँच मजबुत बनाएको छ । हाल बैंकले २६९ शाखा, २५७ एटीएम, ६५ एक्सटेन्सन काउन्टर तथा ६० शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । भौतिक पूर्वाधार विस्तारसँगै डिजिटल माध्यमबाट सेवा पहुँच बढाउने रणनीति बैंकले अघि सारेको छ ।
बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, नियामकीय मापदण्डको कडाइ तथा प्रविधिको तीव्र विकासबीच बैंकले आफ्नो रणनीतिलाई समयानुकूल परिमार्जन गर्दै आएको जनाएको छ । वित्तीय स्थायित्व, ग्राहक विश्वास र दीर्घकालीन वृद्धि सुनिश्चित गर्न नवप्रवर्तन, पारदर्शिता र उत्तरदायित्वलाई केन्द्रमा राख्दै अघि बढ्ने प्रतिबद्धता बैंक नेतृत्वले व्यक्त गरेको छ। ४१औँ वर्षमा प्रवेशसँगै संस्थाले सेवा गुणस्तर अभिवृद्धि, डिजिटल सशक्तीकरण र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्