भलिबल प्रतियोगितामा आमचोकको ऐतिहासिक जित

 

टक्सार (भोजपुर), १ फागुन । भोजपुर नगरपालिकामा आयोजित तेस्रो मेयरकप भलिबल प्रतियोगिताको उपाधि यसपटक आमचोक गाउँपालिकाले आफ्नो नाममा लेखाएको छ । प्रतिस्पर्धात्मक मानिएको फाइनल खेलमा आमचोकले रामप्रसाद राई गाउँपालिकालाई सोझै तीन सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।

नगरपालिकाको वडा नं. ४ सिद्धेश्वर दावास्थित कृष्णलक्ष्मी स्पोट्र्स कम्प्लेक्स परिसरमा सम्पन्न फाइनल खेलमा आमचोकले २५–२२, २५–२३ र २५–२१ को सेट अन्तरले जित निकाल्यो । प्रत्येक सेटमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिए पनि निर्णायक क्षणमा संयमित प्रदर्शन गर्दै आमचोकले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

यस जितसँगै आमचोक गाउँपालिकाले नगद रु दुई लाख २२ हजार २२२ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको रामप्रसाद राई गाउँपालिकाले रु एक लाख ११ हजार १११ नगद हात पारेको आयोजकले जनाएको छ ।

माघ २६ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको थियो । प्रदेश प्रहरी कार्यालय विराटनगर, नयाँ श्रीनाथ गण (सेना), भोजपुर नगरपालिका, रामप्रसाद राई गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, पाख्रिबास नगरपालिका, बेलबारी नगरपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिका गरी विभिन्न स्थानीय तह र संस्थागत टोलीले प्रतिस्पर्धा गरेका थिए ।

जिल्ला तथा अन्तरजिल्ला स्तरका टोलीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको थियो । विशेषगरी स्थानीय तहबीचको खेल प्रतिस्पर्धाले ग्रामीण भेगमा खेलकुदप्रति बढ्दो आकर्षण झल्काएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कृत गरिएको छ । सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार नगद प्रदान गरिएको छ भने उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु सात हजारका दरले पुरस्कार प्रदान गरिएको आयोजक दावाँली मिलन क्लबले जनाएको छ ।

यस प्रकारको व्यक्तिगत सम्मानले खेलाडीको मनोबल उच्च बनाउने र स्थानीय स्तरमै प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
दावाँली मिलन क्लबको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिता कृष्णलक्ष्मी स्पोट्र्स कम्प्लेक्समा सञ्चालन गरिएको थियो ।

पछिल्ला वर्षहरूमा स्थानीय तहले खेलकुद गतिविधिलाई प्राथमिकतामा राख्दै यस्ता प्रतियोगिता आयोजना गर्न थालेका छन् । यसले ग्रामीण क्षेत्रमा खेल पूर्वाधारको उपयोग बढाउनुका साथै युवालाई खेलतर्फ आकर्षित गर्ने अवसर प्रदान गरेको छ ।

मेयरकप जस्ता प्रतियोगिताले स्थानीय तहबीच मैत्रीपूर्ण प्रतिस्पर्धा मात्र होइन, सामाजिक एकता र सामूहिक पहिचान सुदृढ गर्न पनि भूमिका खेल्ने गरेको खेलकर्मीहरू बताउँछन् । खेलकुदमार्फत अनुशासन, टीम भावना र स्वस्थ जीवनशैली प्रवद्र्धन हुने विश्वास पनि व्यक्त गरिएको छ ।

भोजपुर जस्ता पहाडी जिल्लामा नियमित रूपमा अन्तरपालिका स्तरका प्रतियोगिता आयोजना हुनु आफैंमा सकारात्मक संकेत हो । यसले प्रतिभाशाली खेलाडीलाई प्रदेश तथा राष्ट्रिय स्तरसम्म पुग्ने आधार तयार गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

तेस्रो संस्करणसम्म आइपुग्दा मेयरकप भलिबल प्रतियोगिताले जिल्लामा आफ्नो पहिचान स्थापित गरेको देखिन्छ । यस वर्ष आमचोक गाउँपालिकाले उपाधि जित्दै इतिहास रचेको छ भने अन्य सहभागी टोलीले पनि उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गर्दै प्रतियोगितालाई सफल बनाएका छन् ।

स्थानीय खेलकुद गतिविधि निरन्तर र व्यवस्थित रूपमा अघि बढेमा यस्ता प्रतियोगिता आगामी वर्षहरूमा अझ व्यापक र प्रभावकारी बन्ने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्