नेपाल र क्यानडाबीच विश्वकप लिग–२ अघि नै द्विपक्षीय सिरिज हुने पक्का

 

काठमाडौँ, २४ माघ । नेपाल र क्यानडाबीच आइसीसी क्रिकेट विश्वकप लिग–२ अघि नै द्विपक्षीय सिरिज हुने पक्का भएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता फिर्ता पाएपछि क्यानडाले लिग–२ अन्तर्गत नेपालसँगै ८ टोलीसँग सिरिज खेल्नेछ । नेपाल र क्यानडाबीच लिग–२ अघि नै द्विपक्षीय सिरिज हुने पक्का भएपछि क्यानडाका कप्तान साद बिन जफर खुसी भएका छन । सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान जफरले नेपालको खेल टिभीमा नियमित हेर्ने गरेको र यहाँ खेल्न निकै उत्साहित रहेको अनुभव साटे ।‘हामीले नेपालले खेलेको खेल हेरिरहेका हुन्छौं ।

सधैं दर्शकको बाक्लो उपस्थिति देख्दा यो वातावरणमा खेल्दा कस्तो अनुभव होला भन्ने हुन्थ्यो । जब लिग–२ को तालिका आयो, नेपालमा हाम्रो खेल नदेख्दा दुखि थिएँ । तर दुई बोर्डको छलफलपछि यो सिरिज खेल्न पाउँदा निकै खुसी छु ।’‘हामी भर्खर ओडीआई सर्कलमा फर्केका छौं । हामी अबको ३ वर्षको तयारी नेपालमा आएर सुरु गर्न पाउँदा उत्साहित छु । नेपालभन्दा राम्रो अवसर सायदै थियो । मलाई लाग्छ हामीले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेर राम्रो क्रिकेट देखाउनेछौं ।’

क्यानडाले यसै साता हङकङ र मलेसियासँग त्रिकोणात्मक सिरीज खेलेर आएको थियो । हङकङमा भएको सिरिजमा मलेसियासँग फाइनलमा पराजित भएपनि कप्तान जफरले त्यस नतिजा प्रयोगको रुपमा लिएको बताए ।‘हामीले हङकङ सिरिजमा प्रयोग गरेका थियौं । हाम्रो लागि त्यो तयारी क्याम्प मात्र थियो । ६ नयाँ खेलाडीलाई अवसर दिएका थियौं । समग्रमा हङकङ सिरिज हाम्रो लागि राम्रो भयो ।’

कप्तान जफरले नेपाल टुरका लागि टोलीमा केहि चोटको समस्या रहेपनि बिस्तारै खेलाडी फर्कने बताए । बायाँ हाते बलर कलिम साना चोटबाट संघर्ष गरिरहेका छन् । तर नेपाल आएका खेलाडी उपलब्ध मध्यका उत्कृष्ट रहेको उनले बताए । प्रशिक्षक पुबुदु दासानायके नेपालको पछिल्लो लिग–२ यात्रामा टोलीको प्रशिक्षक थिए । झन्डै ७ महिने नेपालको बसाई उनको लागि भने यादगार रहेन ।

कठिन समयमा प्रशिक्षक बनेका उनले त्यसपछि परिवारसँग समय बिताउने कारण देखाउँदै क्यानडा फर्केका थिए । पुबुदु क्यानडा टोलीलाई नेपाल लिएर आउँदा उत्साहित देखिए । ‘हामीलाई निमन्त्रणा गरेकोमा क्यानलाई धन्यवाद दिन चाहन्छु । हामी दशकअघि विश्व वरीयतामा १२ औं स्थानमा थियौं । बिचमा राम्रो समय रहेन तर अब ओडीआईमा फर्किएका छौं ।’‘हाम्रो लिग–२ को पहिलो सिरिज यूएईमा छ । त्यसका लागि नेपाल हाम्रो लागि तयारी गर्न सबैभन्दा राम्रो ठाउँ हो ।

मलाई नेपालको समर्थक र वातावरणबारे राम्रो जानकारी छ ।’‘आशा छ नेपालले पनि छिट्टै क्यानडा भ्रमण गर्नेछ । हामी नेपालसँग लिग–२ बाहिर पनि सिरिज खेल्न चाहन्छौं । यसले दुवै टोलीलाई फाइदा पुग्नेछ ।’पुबुदुले नेपाल फर्कंदा आफ्नो लागि सधैं विशेष रहने बताए । ‘नेपाल फर्कनु सधैं विशेष हुन्छ । जस्तो अवस्था भएपनि नेपालको खेल हेर्दा आनन्द हुन्छ । मैले नेपालको गत वर्षको यात्रा पनि पछ्याएको थिएँ । नेपालको प्रगति देख्दा निकै खुसी लाग्छ । सहि ठाउँमा सहि व्यक्ति जस्तो पारस, मोन्टि, विनोद एकसाथ हुँदा राम्रो भएको छ ।’पुबुदुले नेपाली समर्थकमाझ खेल्नु हरेक टोलीका लागि राम्रो अनुभव रहेको बताउँदै क्यानको निमन्त्रणा पाउँदा निकै उत्साहित भएको अनुभव सुनाएका छन ।

यसैगरी, नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज खेल्ने क्यानडाको टोली घोषणा भएको छ ।नेपाल र क्यानडाबीच यसै साता ३ ओडीआई खेलको सिरिज सुरु हुँदैछ । विहीबार सुरु हुने सिरिजका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । त्यस्तै क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि टोली घोषणा गरेका छन् ।साद बिन जफरको कप्तानीमा रहेको टोलीमा अनुभवी खेलाडीहरु उपस्थित रहेका छन् ।

आरोन जोन्सन, श्रीमान्थ विजयरत्ने, नवानित धलिवल, कलिम साना डिलो हेलिगर र पर्गत सिंह टोलीमा छन् । अष्ट्रेलियाको उमेर समूह क्रिकेट खेलेका ओपनर म्याथु स्पुर्स भने टोलीमा छैनन् । नेपालले फेब्रुअरी ८, १० र १२ मा क्यानडासँग ओडीआई सिरिज खेल्दैछ ।

त्यस्तै नेपाल ए टोलीले पनि क्यानाडासँग सिरिज खेल्ने तालिका रहेको छ । क्यानले केहि दिनमा त्यसको विस्तृत विवरण सार्वजनिक गर्नेछ ।क्यानडाको टोलीमा साद बिन जफर (कप्तान), आरोन जोन्सन, डिलोन हेलिगर, दिल्प्रित बज्वा, हर्ष ठाकर, कलिम साना, नवानित धलिवल, निकोलस किर्तन, निखिल दत्त, पर्गत सिंह, शहिद अहम्दजाइ, श्रेयस मोभा, श्रीमान्थ विजयरत्ने, इश्वरजित सोहि र उदय भगवान रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस्