काठमाडौं, १ फागुन । नबिल बैंकले आफ्ना ग्राहकलाई थप सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यका साथ राजधानीको कमलादीस्थित नबिल हाउसमा अत्याधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकिङ सेवामा डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै सुरु गरिएको यो लाउञ्जले ग्राहकलाई परम्परागत काउन्टरको झन्झटबिनै छरितो र प्रभावकारी सेवा दिने लक्ष्य लिएको बैंकले जनाएको छ ।
नयाँ डिजिटल लाउञ्जको उद्घाटन नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी र सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रूपमा गरेका हुन् । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरू प्रविन टिवडेवाला र अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृतद्वय भुपेन्द्र पाण्डे तथा आदर्श बजगाईं, नायब महाप्रबन्धकद्वय गणेशप्रसाद अवस्थी र ज्ञानेन्द्रप्रताप शाहलगायत उच्च व्यवस्थापन तहका अधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले डिजिटल लाउञ्जमार्फत ग्राहकले २४सै घण्टा बैंकिङ सेवा लिन सक्ने व्यवस्था मिलाइएको बताउनु भयो । उहाँले नबिल बैंक नवप्रवर्तन र डिजिटल प्रविधिको प्रयोगमा सधैं अग्रणी रहँदै आएको उल्लेख गर्दै भविष्यमा पनि प्रविधिमार्फत ग्राहक अनुभवलाई अझ सहज बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । डिजिटल बैंकिङको विस्तारले ग्राहकको समय, श्रम र लागत सबै बचत हुने बताउनु भयो ।
डिजिटल लाउञ्जमार्फत ग्राहकले एटीएम प्रयोग गरी नगद झिक्न सक्नेछन् भने क्यास डिपोजिट मेसिनमार्फत नगद जम्मा गर्न सक्ने सुविधा उपलब्ध छ । साथै, कियोस्क मेसिनको प्रयोग गरी चेकहरू डिजिटल माध्यमबाटै जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । एउटै स्थानबाट विभिन्न बैंकिङ सेवा लिन सकिने भएकाले ग्राहकलाई सेवा लिन लामो लाइनमा बस्नुपर्ने बाध्यता हट्ने विश्वास बैंकको छ ।
प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले डिजिटल लाउञ्जले बैंकिङ सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने बताउनु भयो । उहाँका अनुसार एउटै केन्द्रमा बहुउद्देश्यीय डिजिटल सेवा उपलब्ध गराउँदा ग्राहकको समय बचत हुनुका साथै सेवा सञ्चालन खर्चसमेत घट्नेछ । उहाँले डिजिटल प्रविधिमार्फत बैंक र ग्राहकबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
नबिल बैंकले यसअघि पनि केन्द्रीय कार्यालय र इटहरीमा यस्तै प्रकृतिका डिजिटल लाउञ्ज सञ्चालनमा ल्याइसकेको छ । कमलादीमा थपिएको नयाँ लाउञ्जसँगै बैंकले परम्परागत काउन्टरमा आधारित सेवाको निर्भरता क्रमशः घटाउँदै डिजिटल बैंकिङतर्फको यात्रालाई तीव्र बनाएको छ । बैंकले ग्राहक सुविधा, सेवा पहुँच विस्तार र प्रविधिको प्रभावकारी उपयोगमार्फत आफूलाई डिजिटल बैंकिङ केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।
हाल नबिल बैंकले देशभर २६८ शाखा सञ्जाल र ३२१ एटीएम मेसिनमार्फत करिब २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । चार दशकभन्दा बढी समयदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको बैंकले पछिल्लो समय दिगो बैंकिङ अवधारणालाई अंगाल्दै एनबैंकजस्ता डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएको छ । डिजिटल लाउञ्जको विस्तारले नबिल बैंकको प्रविधिमैत्री बैंकिङतर्फको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्