कठमाडौं, २० माघ । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा बङ्गलादेशले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ । प्रतियोगिताको सोमबार सम्पन्न पहिलो खेलमा बङ्गलादेशले भारतलाई २–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको बङ्गलादेशले पहिलो हाफमै निर्णायक अग्रता बनायो । खेलको २९औँ मिनेटमा कप्तान अरपिता विश्वास अरपिताले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । भारतको रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै उनले बक्सभित्रबाट सट प्रहार गरी जाली चुमाएकी थिइन् ।
अग्रता लिएपछि थप आत्मविश्वासका साथ खेलेको बङ्गलादेशले खेलको ४०औँ मिनेटमा अर्को गोल थप्यो। अल्पी अक्तरले गोल गर्दै बङ्गलादेशको अग्रता दोब्बर बनाइन् । पहिलो हाफमै दुई गोलको स्पष्ट अग्रता बनाएपछि बङ्गलादेशले खेललाई आफ्नो नियन्त्रणमा राख्न सफल भयो । दोस्रो हाफमा भारतले खेलमा फर्कन विभिन्न प्रयास गरे पनि बङ्गलादेशको सुदृढ रक्षा र अनुशासित खेलका कारण कुनै पनि गोल फर्काउन सकेन ।
भारतले केही अवसर सिर्जना गरे तापनि फिनिसिङ कमजोर रहँदा गोलमा परिणत हुन सकेन । उता, बङ्गलादेशले रक्षात्मक रणनीतिसँगै काउन्टर आक्रमणमार्फत खेलको गति नियन्त्रणमा राख्यो ।
यो जितसँगै बङ्गलादेशले दुई खेलबाट ६ अंक जोड्दै प्रतियोगिताको अंक तालिकामा शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।
समान दुई खेल खेलेको भारत भने एक जित र एक हारसहित ३ अंक जोडेर दोस्रो स्थानमा सीमित छ ।
प्रतियोगिता अघि बढेसँगै बङ्गलादेशको निरन्तर प्रभावशाली प्रदर्शनले उसलाई उपाधिको प्रमुख दाबेदारका रूपमा प्रस्तुत गरेको छ भने बाँकी टोलीहरूका लागि प्रतिस्पर्धा अझ चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।
लिग चरण अन्तर्गत आजको अर्को खेल घरेलु टोली नेपाल र भुटानबीच हुने तालिका रहेको छ । दुबै टोली पहिलो खेलमा पराजित भएकाले आजको खेल उनीहरूका लागि प्रतियोगितामा पुनरागमनको अवसरका रूपमा हेरिएको छ।
नेपालले आफ्नो पहिलो खेलमा भारतसँग प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे पनि १–० गोल अन्तरले पराजित भएको थियो। उता, भुटान भने उद्घाटन खेलमै बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित हुँदै कठिन अवस्थामा पुगेको छ।
प्रतिक्रिया दिनुहोस्