राष्ट्र प्रेमले ओतप्रोत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक

काठमाडौँ, १८ माघ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको भाव बोकेको नयाँ राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक भएको छ। समसामयिक परिस्थिति र राष्ट्रियताको गहिरो अनुभूतिलाई समेटिएको यस गीतले देशप्रतिको माया, एकता र जिम्मेवारीको सन्देश प्रवाह गरेको छ।

गीतका शब्द स्वयं गायक सबिन खड्काकै हुन् भने संगीत चर्चित गायक तथा सर्जक बैकुण्ठ महतले तयार पारेका हुन्। गायनमा सबिन खड्कासँगै गायिका सुनितामी परियारको मधुर स्वरले गीतलाई थप भावुक र प्रभावशाली बनाएको छ।

माया–प्रेमका गीतहरूको भीडबीच राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर समयसापेक्ष सिर्जना ल्याउनु आफूलाई जिम्मेवारीपूर्ण लागेको गायक खड्काले बताएका छन्। उक्त गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा नबिना सिलवाल र कमल जिसीको मुख्य अभिनय रहेको छ । साथै लोकप्रिय गायक मोतिराज खनाल , मिना बेलबासे, आशा ढकाल, स्मारिका खड्का, डिबी पाण्डे, मणि अधिकारी, धुर्व बस्नेत, रोशन घिमिरे, हरि आचार्य, पुष्पा शाह, मुकुन्द घिमिरे, गणेश पाण्डे लगायत थुप्रै कलाकारहरूको सशक्त उपस्थिति भिडियोको अर्को आकर्षण बनेको छ।

‘द म्युजिक इरा’ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ सुरज भुसालले गरेका हुन् भने मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन्। भिडियो निर्देशन देवेन्द्र कुवरले गरेका हुन् र सम्पादन राजेश कुमारले गरेका छन्।

सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको गायक सबिन खड्काले जानकारी दिएका छन्। राष्ट्रप्रेम र एकताको भाव बोकेको यो गीतले नेपाली संगीत क्षेत्रमा अलग पहिचान बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्