जानकी (बाँके), ११ माघः “मैले पाँच वर्षदेखि कान कम सुन्दै आएकी थिएँ । तर त्यही कम सुन्ने कानमा नै राति सुतेको बेला गोबरे कीरा पस्यो । त्यसपछि कान सुन्निएर साह्रै दुख्न थाल्यो । एक महिनासम्म असह्य पीडा सहेर बसेँ”, सल्यान कपुरकोट गाउँपालिका–३ की ६८ वर्षीया दिलकुमारी घर्तीले भन्नुभयो । उहाँका अनुसार कानमा कीरा पसेपछि नजिकैको मेडिकलमा जाँच गराए पनि समस्या समाधान हुन सकेन ।
“औषधि खाँदा दुखाइ केही समय कम हुन्थ्यो, तर फेरि दुखाइ उस्तै हुन्थ्यो”, घर्तीले पीडा सुनाउनुभयो ।
ग्रामीण भेगमा बसोबास गर्ने दिलकुमारीजस्ता नागरिकका लागि विशेषज्ञ सेवा पाउनु सहज छैन । टाढाको अस्पताल जान आर्थिक अवस्था, बाटोको कठिनाइ र उमेरले पनि समस्या थप्ने गरेको उहाँको अनुभव छ । “हामी गाउँलेहरू बेलाबेला गाउँमै बस्ने स्वास्थ्य शिविरको प्रतीक्षामा हुन्छौँ । सहर पुगेर उपचार गराउने हैसियत सबैसँग हुँदैन”, घर्तीले भन्नुभयो ।
गाउँमै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा जाँच गराएपछि भने उहाँले ठूलो राहत पाउनुभएको छ । “राति सुतेको बेला कीरा पसेको र समयमा उपचार नभएकाले कानभित्रको मांसपेशी नै सुन्निएको रहेछ, शिविरमा राम्रोसँग जाँच भयो”, घर्तीले भन्नुभयो ।
विगत पाँच वर्षदेखि सोही कीरा पसेर दुखिरहेको कान कम सुन्ने समस्या रहेको पनि उहाँले बताउनुभयो । “गाउँगाउँ पुग्ने स्वास्थ्य शिविरले घरआँगनमै उपचार गरिदिँदा हामीजस्ता गरिब र विपन्नका लागि निकै भरपर्दो र लाभदायक काम भएको छ”, दिलकुमारीले भन्नभयो ।
दिलकुमारीजस्तै कपुरकोट गाउँपालिका–४ की १७ वर्षीया समीक्षा डाँगी पनि कानको समस्याले एक महिनासम्म हैरान हुनुभएको थियो । “राति सुतेका बेला कानमा कीरा पसेको थियो । त्यसपछि निरन्तर दुखाइ भयो”, समीक्षाले भन्नुभयो । उहाँले गाउँकै मेडिकलमा उपचार गराए पनि निको नभएको बताउनुभयो । “यहाँ सामान्य औषधिमात्र पाइन्छ । ठूलो अस्पताल जान टाढा छ, खर्च पनि धेरै लाग्छ”, उहाँले भन्नुभयो ।
स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकको टोली आएपछि भने समीक्षालाई उपचारप्रति विश्वास बढेको छ । “शिविरमा राम्रोसँग जाँच गरियो, कानको उपचार गरेपछि अहिले धेरै आराम भएको छ”, उहाँले खुसी व्यक्त गर्नुभयो । समयमा उपचार नपाउँदा निकै गाह्रो भएको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “गाउँमै यस्तो शिविर नआएको भए समस्या झन् बढ्ने थियो । हामी ग्रामीण भेगमा बस्नेहरूका लागि शिविर नै सबैभन्दा भरपर्दो उपचार हो ।”
कानकै समस्याका कारण शिविरमा दिलकुमारी र समीक्षाजस्तै जाँच गराउन आउनुभएका ७१ वर्षीय रामप्रसाद शर्मा भन्नुहुन्छ, “म विगत चार वर्षदेखि कान पाक्ने रोगले ग्रस्त छु ।” लामो समयदेखि समस्या भए पनि नियमित उपचार गराउन सकिरहेको थिइनँ । उहाँले भन्नुभयो, “टाढाको अस्पताल जानआउनै धेरै समय लाग्ने र पैसा पनि उस्तै खर्च हुने । गाउँमै स्वास्थ्य शिविर बस्ला भनेर पर्खिरहेको थिएँ ।” शिविरमा गरिएको जाँचपछि उहाँ उपचारप्रति आशावादी देखिनुभयो ।
शर्मा जस्तै कान पाक्ने रोगको समस्या लिएर २१ जना उक्त शिविरमा जाँचका लागि आएका थिए । व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा बाँकेको प्राविधिक सहयोग तथा सल्यानको कपुरकोट गाउँपालिकाको आयोजनामा कपुरकोट आधारभूत अस्पतालमा नाक, कान र घाँटीसम्बन्धी स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा कुल एक सय ९० जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये ६२ पुरुष र एक सय २८ जना महिला थिए । जाँच गराएकामध्ये कान पाक्ने रोग भएका २२ र कानको शल्यक्रिया आवश्यक पर्ने ११ जनालाई थप उपचारका लागि व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा बाँकेमा रिफर गरिएको आयोजकले जनाएको छ । यसका साथै २७ जनाको श्रवणशक्ति परीक्षण गरिएको थियो ।
शिविरमा व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका स्वास्थ्य निर्देशक एवं नाक, कान र घाँटी रोग विशेषज्ञ डा अजय वैश्य, कान सहायक चिकित्सक एवं आउटरिच इन्चार्ज भीषण थारू तथा कान सहायक चिकित्सक दामोदर चौधरीले सेवा प्रदान गर्नुभएको थियो । डा वैश्यले भन्नुभयो, “ग्रामीण भेगका बिरामी लामो समयदेखि उपचारको पहुँचबाहिर रहेका हुन्छन् । गाउँमै आएर बिरामीको राम्रो र सफल जाँच गर्न पाउँदा हामीलाई पनि सन्तुष्टि मिलेको छ ।”
डा वैश्यका अनुसार यस्ता शिविरले प्रारम्भिक अवस्थामा रोग पहिचान गर्न र जटिल अवस्थाका बिरामीलाई समयमै रिफर गर्न ठूलो सहयोग पुर्याउँछ । “स्थानीय तहको सहकार्यमा सञ्चालन गरिएका स्वास्थ्य शिविर ग्रामीण नागरिकका लागि सबैभन्दा भरपर्दो उपचारको माध्यम बनेका छन्”, उहाँले भन्नुभयो । ग्रामीण भेगमा बसोबास गर्ने नागरिक अझै पनि नाक, कान र घाँटीसम्बन्धी समस्यालाई बेवास्ता गर्न बाध्य छन् ।
टाढाको बाटो, आर्थिक अभाव र चेतनाको कमीका कारण उपचार ढिला हुने गरेको स्थानीयको गुनासो छ । यस्तो अवस्थामा कपुरकोटमा सञ्चालन गरिएको स्वास्थ्य शिविरले स्थानीयवासीलाई घरआँगनमै विशेषज्ञ सेवा प्रदान गर्दै ठूलो राहत दिएको छ । दिलकुमारी, समीक्षा र रामप्रसादजस्ता सेवाग्राहीका अनुभवले गाउँगाउँ पुग्ने स्वास्थ्य शिविरको आवश्यकता र प्रभावकारिता स्पष्ट रूपमा देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्