काठमाडौँ, ९ माघ । नेपाली चलचित्र उद्योगका लागि महत्वपूर्ण उपलब्धिका रूपमा अभिनेता हरिवंश आचार्यको प्रमुख भूमिका रहेको चलचित्र ‘भूठान’ विश्वप्रसिद्ध ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा सार्वजनिक भएको छ । नेपालमा प्रदर्शनपछि अन्तर्राष्ट्रिय दर्शकसम्म पुग्ने लक्ष्यसहित यो चलचित्र अमेजनमा रिलिज हुनु नेपाली कथावस्तु र कलाकारिताका लागि अर्थपूर्ण कदम मानिएको छ ।
चलचित्रका निर्माता अविरल थापाका अनुसार ‘भूठान’ जनवरी ९ तारिखदेखि अमेजन प्राइम भिडियोमा अङ्ग्रेजी शीर्षक ‘द वल्ड्र्स ह्यापियस्ट म्यान’ नामबाट आधिकारिक रूपमा उपलब्ध छ । हालका लागि यो चलचित्र नर्थ अमेरिकाका दर्शकका लागि रिलिज गरिएको भए पनि क्रमशः अन्य क्षेत्र र प्लेटफर्ममा विस्तार गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ । अर्का निर्माता राजेन्द्र ठकुराठीका अनुसार विश्वव्यापी दर्शकसम्म चलचित्र पु¥याउने उद्देश्यअनुसार अन्तर्राष्ट्रिय वितरणका लागि थप पहल भइरहेको छ ।
गत वैशाखमा नेपालमा प्रदर्शनमा आएको ‘भूठान’ ले भूटानबाट विस्थापित भएर अमेरिका पुगेका भूटानी शरणार्थीको जीवनकथा केन्द्रमा राखेको छ । फिल्मले एक वृद्ध पात्रको दृष्टिकोणबाट पराइ भूमिमा बिताउनुपरेको जीवन, सांस्कृतिक विचलन, मानसिक द्वन्द्व र मातृभूमिप्रतिको गहिरो मोहलाई संवेदनशील ढङ्गले प्रस्तुत गर्छ । अमेरिकामा भौतिक सुविधा र सुरक्षित जीवन भए पनि धर्म, संस्कार र सांस्कृतिक जरा नमिल्दा उत्पन्न हुने एक्लोपन र उकुसमुकुस फिल्मको मूल भाव हो ।
कथावस्तुको केन्द्रमा रहेको वृद्ध पात्रले जीवनको उत्तरार्धमा आफ्नो जन्मभूमि भूटान फर्किन गरेको प्रयासले आप्रवासन, पहिचान र घर भन्ने अवधारणामाथि गम्भीर प्रश्न उठाउँछ । यही मानवीय संवेदना र विश्वव्यापी आप्रवासनको यथार्थले ‘भूठान’ लाई स्थानीय कथाभन्दा माथि उठाएर अन्तर्राष्ट्रिय दर्शकसँग जोड्ने सामथ्र्य दिएको देखिन्छ ।
चलचित्रमा हरिवंश आचार्यले गम्भीर र परिपक्व अभिनयमार्फत पात्रको मानसिक अवस्थालाई जीवन्त बनाएका छन् । उनको अभिनयलाई फिल्मको मुख्य शक्ति मानिएको छ । साथै, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिती प्याकुरेल, टम क्रेन र विमल सुवेदीको अभिनयले कथालाई थप विश्वसनीय बनाएको छ । विविध पृष्ठभूमिका कलाकारको संयोजनले फिल्मलाई बहुसांस्कृतिक आयाम दिएको देखिन्छ ।
‘भूठान’ को निर्देशन विनोद पौडेलले गर्नुभएको हो । सामाजिक विषयलाई मानवीय दृष्टिले प्रस्तुत गर्ने शैलीका कारण उहाँको निर्देशनलाई समीक्षकहरूले गम्भीर र सन्तुलित भनेका छन् । निर्माताको टोलीमा अविरल थापा, सुशाङ्क मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा रहेका छन्, जसले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै नेपाली फिल्मलाई फरक उचाइमा लैजाने प्रयास गरेका छन् ।
अमेजनजस्तो विश्वव्यापी ओटिटी प्लेटफर्ममा नेपाली चलचित्र समावेश हुनु केवल एउटा फिल्मको उपलब्धि मात्र होइन, समग्र नेपाली फिल्म उद्योगका लागि पनि अवसरको ढोका खोलिनु हो । यसले नेपाली कथावस्तु विश्वव्यापी दर्शकका लागि रुचिकर हुनसक्ने सम्भावनालाई बलियो बनाएको छ । ‘भूठान’ को ओटिटी यात्रा नेपाली सिनेमा अन्तर्राष्ट्रिय बजारमा विस्तार हुने क्रमको एक महत्वपूर्ण कडीका रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्