काठमाडौं, ८ माघ । माघे संक्रान्तिको दिनदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’को टिम मोफसल यात्रामा निस्किएको छ । सिनेमाप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आएपछि निर्माण टिम अहिले मोफसलका विभिन्न सहरमा पुगेर दर्शकसँग भेटघाट गरिरहेको छ ।
मोफसल यात्राअन्तर्गत आइतबार निर्माण टिम पोखरा हुदै चितवनमा दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम तय गरिएको छ । यस यात्रामा सिनेमाका मुख्य कलाकार अभिनेता सौगात मल्ल, अभिनेत्री सृष्टि श्रेष्ठ र निर्माता महेश लामिछाने सहितको टोली सहभागी रहेको छ । मोफसलमा दर्शकसँग प्रत्यक्ष संवाद गर्दा उत्साहजनक प्रतिक्रिया पाइएकाले सिनेमाको व्यापार क्रमशः बढ्दै जाने निर्माण टिमको विश्वास छ ।
निर्माता महेश लामिछानेका अनुसार पोखरा र चितवनपछि टिम बुटवल, नेपालगञ्ज, धरान, विराटनगर, इटहरी, दमक र बिर्तामोड लगायतका सहरमा पुग्ने तयारीमा रहेको छ ।
यसै क्रममा ‘भाइरल गोर्खे’ सिनेमाको नयाँ गीत ‘डाँडा काँडा बन चाहारी’ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको यस गीतमा रोहित शाक्यको संगीत, जसोन कुँवरको शब्द रचना तथा त्रिशला गुरुङ र दीपक लिम्बुको स्वर रहेको छ ।
गीतको भिडियोमा अभिनेता सौगात मल्लसहित सिनेमाका मुख्य कलाकारहरू देखिएका छन् ।
गीतको भिडियोमा सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको पात्र गुमनाम भएपछि उसको जीवनमा आउने परिवर्तन र संघर्षलाई देखाइएको छ । यसले सिनेमाको कथावस्तु बुझ्न मद्दत गर्नुका साथै दर्शकको जिज्ञासा पनि बढाउने देखिन्छ ।
‘भाइरल गोर्खे’ सिनेमा सामाजिक सञ्जालमा भाइरल बन्ने मुख्य पात्र गोर्खे को संघर्ष, सपना र अनौठा व्यवहारको कथामा आधारित छ । सामाजिक सञ्जालले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको सिनेमामा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन् ।
यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ निर्देशन गरिसकेका निगम श्रेष्ठ ले यो सिनेमा निर्देशन गरेका हुन् । निर्देशक श्रेष्ठले समसामयिक र आम दर्शकसँग जोडिने विषय भएकाले दर्शकले सिनेमालाई मन पराउने विश्वास व्यक्त गरेका छन् ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको यस सिनेमामा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवी लगायत कलाकारहरूको अभिनय रहेको छ ।
सिनेमाका निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर हुन् भने सह–निर्मातामा निर्भाना फिल्म स्कुल, भुवन अधिकारी र निखिल पौडेल रहेका छन् । सिनेमाको छायांकन अमर महर्जन ले गरेका हुन् ।
‘भाइरल गोर्खे’ सिनेमा लमजुङको भुजुङ गाउँ, गोरखा र चितवन मा छायांकन गरिएको हो । सिनेमाको वितरण सुनिल मानन्धर ले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्