काठमाडौँ, २ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्न आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल पार्नु आजको प्रमुख राष्ट्रिय दायित्व भएको स्पष्ट गर्नुभएको छ ।
परिवर्तित राजनीतिक, सामाजिक र आर्थिक सन्दर्भमा नवपुस्ता मात्र नभई सम्पूर्ण नेपालीको सुरक्षित भविष्य सुनिश्चित गर्न निर्वाचन नै मुलुकलाई निकास दिने सबैभन्दा प्रभावकारी माध्यम भएको उहाँको धारणा छ ।
बिहीबार बाग्लुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले आयोजना गरेको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने, संविधानप्रति जनविश्वास मजबुत बनाउने र शासन प्रणालीलाई जनमुखी बनाउने दायित्व निर्वाचनसँग गाँसिएको बताउनुभयो ।
राष्ट्रपतिको सचिवालयका अनुसार उहाँले राजनीतिक स्थायित्व, सुशासन र विकासको मार्ग खोल्न सबै पक्षले निर्वाचनलाई साझा उत्तरदायित्वका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
“हामीले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेको संविधान र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीले शासनमा बसेकाहरूबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको जनचाहना पूरा हुनुपर्छ,” राष्ट्रपति पौडेलले भन्नुभयो, “यो ऐतिहासिक उपलब्धिलाई व्यवहारमा उतार्न निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा कर्तव्य हो।”
राष्ट्रपतिले निर्वाचनलाई केवल राजनीतिक प्रक्रिया मात्र नभई जनताको अपेक्षा र राज्यको दायित्वबीचको सेतुका रूपमा व्याख्या गर्नुभयो । उहाँका अनुसार नागरिकले राज्यबाट शान्ति, सुरक्षा, अवसर र समृद्धिको अनुभूति गर्न चाहेका छन्, र त्यो अनुभूति दिलाउने वैधानिक मार्ग निर्वाचन हो ।
लोकतान्त्रिक व्यवस्थामा जनताले आफ्नो मतमार्फत शासनप्रति विश्वास व्यक्त गर्ने र नेतृत्व चयन गर्ने अधिकार प्रयोग गर्नु नै प्रणालीको आत्मा भएको उहाँको भनाइ थियो ।
भ्रष्टाचार, ढिलासुस्ती र प्रशासनिक विकृतिले विकासको गतिलाई अवरुद्ध गरिरहेको वर्तमान सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले सुशासनलाई जनजीवनसँग जोड्ने आवश्यकता औँल्याउनुभयो ।
“जनताको हित र सेवालाई केन्द्रमा राखेर सुशासनको माध्यमबाट भ्रष्टाचार र विकृतिको अन्त्य गर्दै विकासलाई गति दिनु आजको अपरिहार्य आवश्यकता हो,” उहाँले भन्नुभयो । यस्तो सुधारको दिशामा अघि बढ्न निर्वाचनबाट आउने जनादेश निर्णायक हुने उहाँको विश्लेषण थियो ।
राष्ट्रपति पौडेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुष्चक्रमा पर्न नदिन आपसी समझदारी, समन्वय र सहकार्यबाट निर्वाचनलाई ‘महायज्ञ’का रूपमा सफल पार्न आग्रह गर्नुभयो । उहाँले राजनीतिक दल, राज्यका निकाय, नागरिक समाज र आम नागरिक सबैले आ–आफ्नो भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो ।
“लोकतन्त्र केवल प्रतिस्पर्धा होइन, सहअस्तित्व र सहकार्य पनि हो,” राष्ट्रपति पौडेलले भन्नुभयो, “राजनीतिक मतभेदका बीच पनि राष्ट्रिय हितका विषयमा साझा समझदारी आवश्यक छ । निर्वाचन सफल पार्नु त्यसैको एउटा महत्त्वपूर्ण परीक्षा हो।”
उहाँको यो अभिव्यक्तिलाई वर्तमान राजनीतिक परिवेशसँग जोडेर हेर्दा निर्वाचन सफल नहुँदा संवैधानिक प्रक्रिया र शासन प्रणाली नै थप जटिल बन्न सक्ने संकेतका रूपमा समेत बुझ्न सकिन्छ । राष्ट्रपतिले स्पष्ट रूपमा निर्वाचनलाई स्थायित्व र निकासको आधार मानेर सबैलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनमा युवा पुस्ताको भविष्यप्रति विशेष चासो व्यक्त गर्नुभयो । शिक्षा र रोजगारीको खोजीमा ठूलो संख्यामा युवा विदेश पलायन भइरहेको अवस्थालाई चिन्ताजनक ठहर गर्दै उहाँले यसको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“शिक्षा र रोजगारीका लागि युवा विदेश पलायन हुने समस्याले आज हामी सबैलाई चिन्तित तुल्याएको छ,” राष्ट्रपति पौडेलले भन्नुभयो, “शिक्षामा लगानी बढाएर स्वदेशमै रोजगारी, उत्पादन र उद्यमशीलताका नवीन आयामहरू विकास गर्नु हाम्रो साझा दायित्व हो।”
उहाँका अनुसार निर्वाचनबाट आउने नेतृत्वले युवाको ऊर्जा र क्षमतालाई स्वदेशमै उपयोग गर्न सक्ने नीति र कार्यक्रम अघि सार्नुपर्नेछ । त्यसका लागि शिक्षा, कृषि, उद्योग र प्रविधिलाई जोड्ने दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको उहाँले स्पष्ट गर्नुभयो ।
राष्ट्रपतिले राष्ट्र निर्माणको आधारशिला शिक्षा भएको उल्लेख गर्दै बदलिँदो विश्व परिवेशमा गुणस्तरीय, प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको बताउनुभयो । विद्यालयहरूले ज्ञान मात्र होइन, नैतिकता, सीप र संस्कार समेत सिकाउनुपर्नेमा उहाँको जोड थियो ।
“राष्ट्रको भविष्य शिक्षा प्रणालीसँग प्रत्यक्ष जोडिएको छ,” उहाँले भन्नुभयो, “सरकारले शिक्षालाई सधैँ प्राथमिकतामा राख्नुपर्छ । कृषिलाई आधुनिकीकरण, व्यावसायीकरण र औद्योगिकीकरण गर्न सक्ने शिक्षा आजको आवश्यकता हो।”राष्ट्रपति पौडेलले नवप्रवर्तन, अनुसन्धान र व्यावसायिक क्रियाकलापमार्फत शिक्षालाई उद्यमशीलतासँग जोड्दै जीवनोपयोगी बनाउनुपर्ने धारणा राख्नुभयो । यस्तो शिक्षाले मात्र युवालाई आत्मनिर्भर बनाउने र देशभित्रै अवसर सिर्जना गर्ने उहाँको विश्वास थियो ।
राष्ट्रपतिले निर्वाचनलाई केवल सत्ता हस्तान्तरणको प्रक्रिया नभई दीर्घकालीन समृद्धिको आधारका रूपमा चित्रित गर्नुभयो । उहाँका अनुसार जनताबाट निर्वाचित प्रतिनिधिले संविधानको मर्मअनुसार काम गर्न सके मात्र लोकतान्त्रिक प्रणालीप्रति विश्वास बढ्नेछ ।
संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रले दिएको अधिकार र जिम्मेवारीलाई व्यवहारमा उतार्न निर्वाचनको सफल आयोजना अपरिहार्य भएको उहाँको निष्कर्ष थियो । राष्ट्रपति पौडेलको सन्देशमा राजनीतिक स्थायित्व, सुशासन, शिक्षा सुधार, रोजगारी सिर्जना र विकासबीचको अन्तरसम्बन्ध स्पष्ट देखिन्छ ।
हीरक महोत्सवको अवसरमा दिएको राष्ट्रपति पौडेलको सम्बोधन औपचारिक समारोहभन्दा बाहिर गएर राष्ट्रिय सन्देशका रूपमा प्रस्तुत भएको देखिन्छ । निर्वाचनलाई लिएर उत्पन्न शंका, निराशा र थकानका बीच उहाँले नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा पुनःविश्वास जगाउने प्रयास गर्नुभएको छ ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न राष्ट्रपतिको यो आह्वानले राज्यका सबै अंग र नागरिकलाई आफ्ना भूमिका पुनःस्मरण गराउने अपेक्षा गरिएको छ । निर्वाचन सफल भएमा मात्र शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा व्यवहारमा रूपान्तरण हुने र त्यसबाट मुलुकले दीर्घकालीन निकास पाउने राष्ट्रपतिको स्पष्ट सन्देश रहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्