फिल्म ‘परिवर्तन’को ट्रेलर सार्वजनिक

काठमाडौँ, १ माघ । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘परिवर्तन’को ट्रेलर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो बढ्ने संकेत देखिएको छ ।

सोमबार राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममा सार्वजनिक गरिएको करिब तीन मिनेट लामो ट्रेलरले फिल्मको मूल स्वभाव, विषयवस्तु र प्रस्तुतिलाई स्पष्टसँग संकेत गर्छ । ट्रेलर हेर्दा ‘परिवर्तन’ सत्ता, शक्ति र बदलाको वरिपरि घुम्ने एक एक्सनप्रधान कथामा आधारित रहेको प्रस्ट देखिन्छ ।

ट्रेलरको केन्द्रमा अभिनेता सुशील श्रेष्ठ छन्, जसको पात्रले सत्ता प्राप्तिका लागि कुनै पनि हद पार गर्न तयार रहेको संकेत सुरुवातमै दिएको संवादले गर्छ ‘रगतको खोला बगोस् या देश नै जलोस्, मलाई फरक पर्दैन । मलाई चाहिएको एउटै कुरा हो सत्ता ।’

यही संवादले फिल्मको कथात्मक टोन र राजनीतिक–सामाजिक सन्दर्भलाई एकैचोटि दर्शकमाझ प्रस्तुत गरेको छ । सत्ता मोहले व्यक्ति र समाजलाई कहाँसम्म लैजान सक्छ भन्ने प्रश्न ट्रेलरले प्रत्यक्ष रूपमा उठाएको देखिन्छ ।

दृश्य संरचना र प्रविधिगत पक्षमा ट्रेलर सबल देखिएको छ । उच्च स्तरका एक्सन दृश्य, तीव्र गतिमा अघि बढ्ने दृश्यक्रम र प्रभावशाली ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई आकर्षक बनाएको छ ।

यसले फिल्मको मेकिङ पक्षमा निर्माताहरूले विशेष ध्यान दिएको संकेत गर्छ । नेपाली फिल्ममा पछिल्लो समय बढ्दो एक्सन विधाको प्रयोगलाई ‘परिवर्तन’ले थप अगाडि बढाउने अपेक्षा गरिएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक विजय केरुङले फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने दाबी गरे । उनका अनुसार ट्रेलर फिल्मको कथावस्तुकै प्रतिबिम्ब हो । “हामीले कथा अनुसार नै ट्रेलर तयार गरेका छौँ । यो केवल एक्सन मात्र होइन, सामाजिक सन्देश बोकेको फिल्म हो,” उनले भने ।

सत्ताको खेलमा संलग्न पात्रहरू कति निर्दयी र स्वार्थी हुन सक्छन् भन्ने यथार्थ फिल्ममार्फत देखाउन खोजिएको निर्देशक केरुङको भनाइ छ । उनका अनुसार फिल्मले युवापुस्तामा देखिएको आक्रोश, विद्रोही सोच र परिवर्तनको चाहनालाई पनि समेट्ने प्रयास गरेको छ ।

फिल्म ‘परिवर्तन’मा सुशील श्रेष्ठसँगै करिश्मा मानन्धर, अञ्जना बराइली, सरोज खनाल, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे, पुकार भट्टराई, यामनाथ खरेल, सिरु विष्ट, आशा पौडेल र आयुषा कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ । अनुभवी र नयाँ पुस्ताका कलाकारको मिश्रणले फिल्मको अभिनय पक्षलाई सन्तुलित बनाउने अपेक्षा गरिएको छ ।

निर्माण पक्षबाट हेर्दा फिल्मलाई दीपक सिवाकोटीले निर्माण गरेका हुन् । कथावस्तु पनि उनकै रहेको छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् । प्राविधिक टिम पनि उल्लेखनीय देखिन्छ ।

दक्षिण भारतीय फिल्म उद्योगमा साउन्ड डिपार्टमेन्टमा अनुभव सँगालेकी एम. गीता गुरप्पा फिल्मकी साउन्ड डिजाइनर हुन्, जसले फिल्मको ध्वनि पक्षलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने अपेक्षा गरिएको छ । छायांकन शिव ढकालले गरेका छन् भने द्वन्द्व निर्देशन श्री श्रेष्ठले सम्हालेका छन् ।

सम्पादन बन्दे प्रसादको रहेको छ र संगीत एसडी योगीले तयार पारेका छन् ।‘परिवर्तन’को ट्रेलरले नेपाली फिल्म उद्योगमा राजनीतिक–सामाजिक विषयवस्तुलाई एक्सनको माध्यमबाट प्रस्तुत गर्ने प्रयासको निरन्तरता देखाएको छ । सत्ता, बदला र परिवर्तनको त्रिकोणमा आधारित कथाले समसामयिक समाजका केही गम्भीर प्रश्न उठाउने संकेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्