काठमाडौँ, २३ पुस । अभिनेत्री गरिमा शर्माको अभिनय रहेको हिन्दी भाषाको नेपाली म्युजिक भिडियो ‘पेहली नजरकी रानी’ भव्य रूपमा सार्वजनिक गरिएको छ । उच्च लागतमा निर्माण गरिएको यो म्युजिक भिडियोको सम्पूर्ण छायांकन संयुक्त राज्य अमेरिकामा सम्पन्न गरिएको हो ।
शनिबार राजधानी काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिँदा कलाकार, सञ्चारकर्मी तथा संगीतप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।सार्वजनिक भिडियोमा अभिनेत्री गरिमा शर्मासँग मोडल तथा गायक रोशन अधिकारी मुख्य भूमिकामा फिचर्ड छन् ।
अमेरिकामा बसोबास गर्दै आएका अधिकारीले भिडियो निर्माणमा करिब ५५ हजार अमेरिकी डलर खर्च भएको दाबी गरेका छन् । हालको विनिमय दरअनुसार यो रकम नेपाली रुपैयाँमा करिब ७५ लाख हाराहारी पर्न जान्छ, जसले भिडियोको निर्माणस्तर र प्रस्तुतिमा गरिएको लगानीलाई स्पष्ट रूपमा देखाउँछ ।
अमेरिकाका विभिन्न आकर्षक र रमणीय लोकेशनमा छायांकन गरिएको ‘पेहली नजरकी रानी’ मा एक जोडीबीचको भावनात्मक र सुन्दर प्रेमकथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । भिडियोमा गरिमा शर्मा र रोशन अधिकारीलाई प्रेमिल मुद्रामा देखाइएको छ, जहाँ उनीहरूको भाव, अभिनय र केमेस्ट्रीले दर्शकलाई आकर्षित गर्छ । उच्च मेकिङ, सुन्दर दृश्य संयोजन र सिनेमाटिक प्रस्तुतिले भिडियोको समग्र गुणस्तरलाई थप मजबुत बनाएको छ ।
गीतका शब्द र धुनले प्रेमीले प्रेमिकाप्रति व्यक्त गर्ने कोमल भावना, आकर्षण र समर्पणलाई सरल तर प्रभावकारी रूपमा अभिव्यक्त गर्छन् । प्रेमको पहिलो अनुभूति, विश्वास र भावनात्मक नजिकपनलाई भिडियोका दृश्य र गीतका पंक्तिहरूले सशक्त रूपमा चित्रण गरेका छन् ।
यसले दर्शकलाई प्रेमकथासँग सहजै जोड्ने प्रयास गरेको देखिन्छ ।
यस गीतको शब्द र संगीत स्वयं गायक तथा मोडल रोशन अधिकारीले तयार गरेका हुन् । गायन, संगीत र अभिनयलाई एकैसाथ प्रस्तुत गर्दै अधिकारीले आफ्नो बहुआयामिक प्रतिभा देखाएका छन् ।
भिडियोको कोरियोग्राफी सुमन लामिछानेले गरेका छन्, जसले गीतको भावअनुसार कलाकारहरूको हाउभाउ र चालढाललाई आकर्षक बनाएका छन् । भिडियोको सम्पादन विवेक सुनारले गरेका हुन् भने कलरिङ मिलन विश्वकर्माले गरेका छन्, जसले दृश्यलाई अझै जीवन्त र आकर्षक बनाएको छ ।
छायांकनको जिम्मेवारी अमृत विश्वले सम्हालेका छन् । अमेरिकाका विविध प्राकृतिक र शहरी दृश्यलाई क्यामेरामा कैद गर्दै उनले भिडियोको सौन्दर्यलाई उल्लेखनीय रूपमा बढाएका छन् । भिडियो शान थापाको कन्सेप्टमा तयार गरिएको हो भने निर्देशन सिद्धार्थ विश्वले गरेका छन् । निर्देशक विश्वले प्रेमकथालाई सरल, सौम्य र दर्शकसँग भावनात्मक रूपमा जोडिने शैलीमा प्रस्तुत गरेका छन् ।
म्युजिक भिडियो छायांकनका लागि विशेष रूपमा नेपालबाट अमेरिका पुगेकी अभिनेत्री गरिमा शर्माले अनुभवी र पेशागत टिमसँग काम गर्न पाउँदा आफू अत्यन्तै सन्तुष्ट भएको प्रतिक्रिया दिइन् । राम्रो योजना, समन्वय र मेहनतका कारण उत्कृष्ट नतिजा प्राप्त भएको उनले बताइन्। अन्तर्राष्ट्रिय लोकेशन र व्यवस्थित टिमवर्कले भिडियोको स्तर बढाएको उनको भनाइ थियो ।
त्यस्तै, गायक, मोडल तथा संगीतकार रोशन अधिकारीले नेपाली गीत–संगीत र मनोरञ्जन क्षेत्र आफ्नो जीवनको अभिन्न अंग बनिसकेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सिर्जनात्मक यात्रामा लागिरहने प्रतिबद्धता व्यक्त गरे । ‘पेहली नजरकी रानी’ ले नेपाली म्युजिक भिडियोको अन्तर्राष्ट्रिय प्रस्तुति र सम्भावनालाई थप उजागर गरेको विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्