हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

 

चितवन, १५ पुस । सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत आयोजित अनौठो र मनोरञ्जनात्मक हात्ती ‘सिङ्गल पेनाल्टी लिग टुर्नामेन्ट’मा कसरा पर्यटन व्यवसायी सङ्घकी हात्ती लक्ष्मीकली प्रथम भएकी छन् ।

हात्ती फुटबलको पेनाल्टी सुटआउट स्वरूपमा आयोजना गरिएको उक्त प्रतियोगितामा लक्ष्मीकलीले उत्कृष्ट प्रदर्शन गर्दै कुल १२ अङ्क (गोल) प्राप्त गरिन् ।

प्रतियोगिताको क्रममा लक्ष्मीकलीले विपक्षीका सात पेनाल्टी प्रहार रोक्न सफल भई दर्शकहरूको प्रशंसा बटुलिन् । हात्तीहरूबीचको यो अनौठो प्रतिस्पर्धाले महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष मनोरञ्जन प्रदान गरेको आयोजकहरूले बताएका छन् ।

हात्ती पेनाल्टी प्रतियोगिताका संयोजक विनोद तिम्सिनाका अनुसार क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनकी हात्ती बसन्तीकली (बी) दोस्रो स्थानमा रहिन् । उनले कुल १० अङ्क हासिल गर्दै ६ वटा पेनाल्टी जोगाउन सफल भइन् ।

त्यस्तै, सौराहा जिप तथा डुङ्गा बुकिङ सेन्टरकी मारुतीकलीले नौ अङ्क प्राप्त गर्दै तेस्रो स्थान हासिल गरिन् । उनले प्रतियोगिताभरि ११ वटा पेनाल्टी प्रहार रोक्न सफल भइन्, जुन प्रतियोगिताकै सबैभन्दा धेरै ‘सेभ’ हो ।

६ वटा हात्ती सहभागी उक्त प्रतियोगितामा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडकी चम्पाकली छ अङ्कसहित चौथो स्थानमा रहिन् । उनले तीन पेनाल्टी जोगाउन सफल भइन् । त्यस्तै, रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, सौराहाकी बसन्तीकली (ए) पाँचौँ स्थानमा रहिन्।

उनले पाँच अङ्क प्राप्त गर्दै तीन पेनाल्टी जोगाइन् । निकुञ्ज सफारी प्रालिकी पूजाकली दुई अङ्कसहित छैटौँ स्थानमा सीमित भइन्। उनले एक पेनाल्टी जोगाउन सफल भइन् ।

प्रतियोगिताको निष्पक्ष सञ्चालनका लागि निर्णायक समितिमा अवित गुरुङ र रोमन महतो रहनुभएको थियो भने रेफ्रीको भूमिकामा भीष्म चौधरी र सान्ते चौधरी रहनुभएको थियो । महोत्सवका तीनै दिन हात्ती पेनाल्टी खेल सञ्चालन गरिएको थियो ।

तीन दिनको कुल अङ्कका आधारमा अन्तिम नतिजा सार्वजनिक गरिएको हो । हात्ती पेनाल्टी प्रतियोगिता चितवन हात्ती तथा पर्यटन महोत्सवको प्रमुख आकर्षणका रूपमा परिचित हुँदै आएको छ ।

यसले सौराहा र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको आयोजकको विश्वास छ । पर्यटकहरूले हात्तीहरूको कौशल, अनुशासन र मनोरञ्जनात्मक खेल हेर्न पाउँदा उत्साह थपिएको बताइएको छ ।

क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा हरेक वर्ष सौराहामा हात्ती तथा पर्यटन महोत्सव आयोजना हुँदै आएको छ । सौराहास्थित बाघमारा चौरमा आयोजित तीनदिने महोत्सवमा रत्ननगर नगरपालिका संरक्षकका रूपमा रहेको थियो भने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सह–आयोजक रहेको थियो ।

महोत्सवमार्फत स्थानीय पर्यटन, संस्कृति र जैविक विविधताको प्रवद्र्धन गर्नुका साथै हात्ती संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकहरूले बताएका छन् । हात्ती खेल, सांस्कृतिक कार्यक्रम र विभिन्न प्रदर्शनीहरूले महोत्सवलाई अझ आकर्षक बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्