नेपाल एसियाली पुरुष क्रिकेट छनोटको च्याम्पियन

 

काठमाडौं, २६ जेठ । नेपाली पुरुष क्रिकेट टोलीले एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको उपाधि जित्दै अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय सफलता हात पारेको छ । सिङ्गापुरमा सम्पन्न प्रतियोगिताको फाइनलमा हङकङलाई १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । वर्षाले प्रभावित बनेको खेलमा डकवर्थ–लुइस (डीएलएस) पद्धतिका आधारमा नेपाल विजयी घोषित भएको थियो ।

सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा नेपालले उत्कृष्ट ब्याटिङ र प्रभावशाली बलिङ प्रदर्शन गर्दै उपाधिमाथि कब्जा जमाएको हो । यस जितसँगै नेपालले प्रतियोगिताभर देखाएको उत्कृष्ट लयलाई उपाधिमा परिणत गर्न सफल भएको छ । नेपाल र हङकङ दुवै टोली यसअघि नै जापानमा हुने आगामी एसियाली खेलकुदका लागि छनोट भइसकेका थिए। तर फाइनल खेलले प्रतियोगिताको च्याम्पियन तय गर्ने भएकाले दुवै टोली जितका लागि मैदानमा उत्रिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रनको बलियो योगफल तयार गरेको थियो । हङकङका कप्तान अशुंमन रथले आक्रामक ब्याटिङ गर्दै ४५ बलमा ८० रनको शानदार इनिङ्स खेले । उनले ६ चौका र ६ छक्का प्रहार गर्दै नेपाली बलरमाथि दबाब सिर्जना गरेका थिए ।

यस्तै सहिद वासिफले २८ बलमा ५५ रन बनाउँदै टोलीलाई मजबुत अवस्थामा पु¥याए । वासिफले आफ्नो इनिङ्समा ७ चौका र ३ छक्का प्रहार गरेका थिए। शिव माथुरले २६ रनको योगदान दिएपछि हङकङले प्रतिस्पर्धात्मक स्कोर खडा गर्न सफल भएको थियो ।

नेपालका लागि बलिङतर्फ शेर मल्ल नायक सावित भए । उनले चार विकेट लिँदै हङकङको इनिङ्सलाई थप ठूलो बन्नबाट रोके । करण केसीले दुई विकेट हात पार्दा लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिए । अन्तिम ओभरहरूमा नेपाली बलरहरूले अनुशासित बलिङ गरेकाले हङकङ २०० रनको आँकडा पार गर्नबाट रोकिएको थियो ।

१८९ रनको लक्ष्य पछ्याएको नेपालले सुरुआतमा एक झट्का बेहोरे पनि त्यसपछि आक्रामक ब्याटिङ प्रदर्शन ग¥यो । ओपनर आसिफ शेख रनको खाता खोल्न नसकी आउट भए पनि अर्का ओपनर कुशल भूर्तेलले उत्कृष्ट इनिङ्स खेल्दै नेपाललाई बलियो अवस्थामा पु¥याए । उनले केवल ४० बलमा ८ चौका र ३ छक्काको मद्दतले ६५ रन बनाए । कुशलको आक्रामक ब्याटिङले नेपाली इनिङ्सलाई आवश्यक गति प्रदान गरेको थियो ।

कप्तान रोहित पौडेलले पनि जिम्मेवारीपूर्ण प्रदर्शन गर्दै २४ बलमा ३५ रन जोडे। उनले कुशलसँग मिलेर महत्वपूर्ण साझेदारी गरेका थिए । नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाइसकेको अवस्थामा वर्षा सुरु भयो । त्यसपछि खेल रोकिएको थियो ।

लामो समयसम्म मौसममा सुधार नआएपछि खेल पुनः सञ्चालन हुन सकेन। त्यसबेला डकवर्थ–लुइस पद्धतिअनुसार नेपाल निर्धारित लक्ष्यभन्दा अगाडि रहेको थियो। फलस्वरूप नेपाललाई १९ रनले विजयी घोषणा गरियो र उपाधि नेपाली टोलीको पोल्टामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्