आलोक स्मृति म्याराथनमा एफिएफका विष्ट प्रथम

 

नवलपरासी, १४ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नवलपुर जिल्लामा पहिलोपटक आयोजना गरिएको आलोक स्मृति म्याराथन दौड प्रतियोगितामा नेपाल पुलिस क्लब (एफिएफ)का सन्तोषविक्रम विष्ट प्रथम भएका छन् ।

जिल्लामा लामो दूरीको दौडलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले खेलकुद क्षेत्रसँगै सामाजिक र ऐतिहासिक चेतनालाई पनि उजागर गरेको छ ।

जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा सम्पन्न प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकी तथा प्रदेश एथ्लेटिक्स सङ्घ गण्डकीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो ।

पूर्ण म्याराथनअन्तर्गत ४२ किलोमिटर दूरी पार गर्दै सन्तोषविक्रम विष्टले दुई घण्टा ३५ मिनेट तीन सेकेन्डको समय निकाल्दै प्रथम स्थान हासिल गरे । उत्कृष्ट प्रदर्शनसहित उनले प्रतियोगितामा सहभागिता जनाएका अन्य अनुभवी धावकलाई पछि पार्न सफल भए ।

प्रतियोगितामा नेपाल आर्मीका धनु मानन्धर द्वितीय भएका छन् । उनले निर्धारित दूरी दुई घण्टा ३५ मिनेट ३४ सेकेन्डमा पूरा गरेका थिए । त्यस्तै, नेपाल आर्मीकै रिखुलाल सिञ्जालीले दुई घण्टा ४३ मिनेट नौ सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान प्राप्त गरे ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः नगद रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्रदान गरिएको छ । चौथो र पाँचौँ स्थान हासिल गर्ने शक्तिराम रोका र पञ्चराम बुढा मगरलाई प्रोत्साहनस्वरूप रु पाँच–पाँच हजार प्रदान गरिएको थियो ।

जिल्लाका कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकालाई छुने आलोक चक्रपथको परिक्रमा गर्दै म्याराथन आयोजना गरिएको हो । कावासोती नगरपालिका–३ बाट सुरु भएको दौड डण्डा, गिरुवारी, चोरमारा, कोल्हुवा, गोछडा हुँदै पुनः डण्डा क्षेत्रमा पुगेर समापन भएको थियो । खेलाडीहरूले प्राकृतिक, ग्रामीण र सहरी भू–भाग पार गर्दै दौड पूरा गरेका थिए, जसले प्रतियोगितालाई थप चुनौतीपूर्ण र आकर्षक बनाएको थियो ।

म्याराथन प्रतियोगितासँगै ‘दौडिन्छ नवलपुर’ अभियानअन्तर्गत पुरुषतर्फ १० किलोमिटर र महिलातर्फ पाँच किलोमिटर दूरीका दौड प्रतियोगिता पनि सम्पन्न भएका छन् । पुरुष १० किलोमिटर दौडतर्फ काठमाडौँका टङ्क कार्की प्रथम, कपिलवस्तुका अजय पाण्डे क्षेत्री द्वितीय र सङ्खुवासभाका तेन्जिङ शेर्पा तृतीय भएका छन् ।

 

त्यसैगरी महिला पाँच किलोमिटर दौडतर्फ दाङकी सुमित्रा चौधरी प्रथम, धनगढीकी देवकीकुमारी धामी द्वितीय र बैतडीकी मञ्जु धामी तृतीय भएका छन् । पुरुष र महिला दुवैतर्फका विजेतालाई क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कारसहित मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रजातान्त्रिक योद्धा यादवनाथ न्यौपाने (आलोक)को स्मृतिमा विसं २०५० मा आलोक चक्रपथ नामकरण गरी तीन पालिकालाई सडक सञ्जालले जोड्ने योजना अघि सारिएको थियो ।

तर हालसम्म चक्रपथ निर्माण सम्पन्न हुन नसकेकाले प्रदेश तथा सङ्घ सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले म्याराथन आयोजना गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुभयो । साथै, चक्रपथ आसपासका धार्मिक तथा पर्यटकीय क्षेत्रको खेलकुदमार्फत प्रचार–प्रसार गर्ने उद्देश्य पनि प्रतियोगिताको रहेको उहाँले बताउनुभयो ।

नवलपुरको नमूना सदरमुकामभित्र निर्माण गर्ने भनिएका विभिन्न खेलकुद संरचनामा अपेक्षित तदारुकता नदेखिएकाले यस विषयलाई सरोकारवालाको ध्यानमा ल्याउन पनि प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले पहिलोपटक आयोजना गरिएको यस प्रतियोगिताले जिल्लामा म्याराथन खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने आशा व्यक्त गर्दै आगामी दिनमा प्रदेशसँगको सहकार्यमा प्रतियोगितालाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्