म्युजिकल सिनेमा ‘बानी’ को भिडियो सार्वजनिक

 

काठमाडौँ, १४ पौष ।नेपाली सिनेमा क्षेत्रमा चकलेटी अभिनेताका रूपमा परिचित आर्यन सिग्देल अभिनीत म्युजिकल सिनेमा ‘बानी’ सार्वजनिक गरिएको छ । अभिनयसँगै भावनात्मक अभिव्यक्तिमा केन्द्रित यस म्युजिकल कृतिले प्रेम, दूरी र बिछोडका संवेदनशील अनुभूतिलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

भिडियोले दर्शकलाई केवल दृश्यात्मक मनोरञ्जन मात्र होइन, भावनात्मक यात्रामा समेत लैजाने प्रयास गरेको देखिन्छ ।
दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार भएको ‘बानी’को कन्सेप्ट पनि उनकै हो ।

भावनात्मक गहिराइ बोकेको यस गीतले सम्बन्धभित्र विकसित हुने आत्मीयता, आशा र विछोडको पीडालाई संगीतमार्फत प्रभावकारी रूपमा व्यक्त गरेको छ । गीतको शब्द र धुनले प्रेमकथाको संवेदनशीलतालाई उजागर गर्दै श्रोता र दर्शक दुवैलाई छोइने बनाउने प्रयास गरेको छ ।

म्युजिक भिडियोमा आर्यन सिग्देलसँगै करुणा श्रेष्ठ रोमान्टिक भावमा देखिएकी छन् । भिडियोको कथावस्तु नेपालका एक युवक र सिक्किमकी एक युवतीबीच विकसित हुने प्रेम सम्बन्धमा आधारित छ । भौगोलिक दूरी, परिस्थितिजन्य उतार–चढाव र अन्ततः आउने बिछोडले कथालाई मार्मिक मोडमा पु¥याएको छ । प्रेमपछिका यथार्थ र भावनात्मक संघर्षलाई भिडियोले सशक्त रूपमा प्रस्तुत गरेको देखिन्छ ।

‘बानी’मा आर्यन सिग्देललाई फरक–फरक लुक्समा देख्न सकिन्छ । उनी कहिले रिसाहा त कहिले मायालु स्वभावमा प्रस्तुत हुँदै पात्रको आन्तरिक द्वन्द्व र भावनात्मक उतार–चढावलाई जीवन्त बनाएका छन् । यसअघि सार्वजनिक पोस्टर र टिजरले दर्शकको चासो बढाइसकेको यस म्युजिकल सिनेमामा संवाद लेखन दिनेश क्षेत्री र केशव भट्टराईले गरेका छन् ।

भिडियोमा आर्यन र करुणासँगै सबिन कट्टेल र सुस्मिता श्रेष्ठको अभिनय पनि रहेको छ । सह–कलाकारहरूको अभिनयले कथालाई थप सशक्त र विश्वसनीय बनाएको छ । उनीहरूले प्रेम, मित्रता र परिस्थितिजन्य संवेदनशीलतालाई स्वाभाविक रूपमा प्रस्तुत गरेका छन् ।

उत्सव दाहालको छायांकन रहेको ‘बानी’लाई दृश्यात्मक रूपमा आकर्षक बनाइएको छ । विकास दाहालको सम्पादनले कथालाई सन्तुलित गतिमा अघि बढाएको छ भने निर्देशक सुब्रत आचार्यले सम्पूर्ण म्युजिकल कृतिलाई एक भावनात्मक अनुभवका रूपमा प्रस्तुत गरेका छन् ।

‘बानी’ केवल एउटा प्रेमकथा मात्र नभई, प्रेमसँग गाँसिएका अनुभूति, सम्झना र बिछोडलाई संगीत र दृश्यको संयोजनमार्फत अनुभूत गराउने म्युजिकल सिनेमा बनेको छ ।

प्रतिक्रिया दिनुहोस्