दोस्रो सतिसाले गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न

 

पथरी (मोरङ), ११ पुस । मोरङको केराबारी गाउँपालिका–६ मा आयोजना गरिएको दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले जितेको छ ।

मङ्गलबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

निर्धारित समयसम्म दुबै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलभरि दुवै टोलीले सशक्त आक्रमण र मजबुत रक्षा प्रस्तुत गरे पनि निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।

इन्ट्रा पथरी–११ ले पहिलो हाफमा पाएको पेनाल्टी अवसर सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरतर्फ धकेलिएको थियो ।

टाइब्रेकरमा इन्ट्रा पथरी–११ का मन्जिल खड्का, सञ्जय लिम्बू, नीरज परियार र सौर्य राउतले सफलतापूर्वक गोल गर्नुभयो। बेतना युनाइटेडका विवेक पौडेल र रुद्र कार्कीले गोल गर्न सफल भए पनि आशिष लावती र निमा तामाङको प्रहार गोलपोष्टमा लागेर फर्किँदा टोली उपविजेतामै सीमित हुन पुग्यो ।

उपाधिसँगै विजेता इन्ट्रा पथरी–११ ले नगद दुई लाख दुई हजार दुई सय बाइस रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बेतना युनाइटेड फुटबल क्लबले एक लाख एक हजार एक सय एघार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाएको छ ।

प्रतियोगिताले स्थानीय खेलाडीहरूको उत्साह अभिवृद्धि गर्नुका साथै फुटबलप्रतिको जनचासो थप बढाएको आयोजकले जनाएको छ ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका बेतना युनाइटेडका विवेक पौडेल ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो। प्रतियोगिताअन्तर्गत विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो । बेतना युनाइटेडका मुस्कान लिम्बू उत्कृष्ट गोलरक्षक, मौसम सुब्बा उत्कृष्ट मिडफिल्डर र निमा तामाङ उत्कृष्ट फर्वड घोषित हुनुभयो ।

यसैगरी, इन्ट्रा पथरी–११ का धिरेन क्षेत्री उत्कृष्ट डिफेन्स, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । मिक्चेन दास र सञ्जय लिम्बू सर्वाधिक गोलकर्ता घोषित हुँदा इन्ट्रा पथरी–११ कै गोलरक्षक समिर क्षेत्री प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो। आयोजकका अनुसार प्रतियोगिताले खेलाडीहरूको क्षमता अभिवृद्धि र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।

विजेता तथा उपविजेता टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, मोरङ जिल्ला फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी, केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगर तथा वडा नं ६ का वडाध्यक्ष उपेन्द्र लुङ्गेली मगरले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो ।

सतिसाले स्पोर्टिङ क्लब केराबारी–६, मोरङको आयोजनामा सम्पन्न उक्त गोल्डकप प्रतियोगिता सतिसाले स्पोर्टिङ क्लबकै खेलमैदानमा सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा विभिन्न जिल्लाबाट आएका टोलीहरूको सहभागिता रहेको थियो, जसले प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएको थियो ।

आयोजक संस्थाले प्रतियोगिता सफल बनाउन सहयोग पु¥याउने सबै निकाय, खेलाडी, प्रशिक्षक, दर्शक तथा स्वयंसेवकप्रति आभार व्यक्त गरेको छ । स्थानीय स्तरमा आयोजना गरिने यस्ता प्रतियोगिताले खेलकुद विकासका साथै युवा पुस्तालाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्