काठमाडौँ, ११ पुस । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२४औँ बोर्ड बैठक बुधबार सम्पन्न भएको छ । बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१ लाई तेस्रो संशोधनसहित पारित गर्ने महत्वपूर्ण निर्णय गरेको छ ।
उक्त निर्देशिकाले राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापन, सञ्चालन र समन्वयलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
बैठकले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितासँगै प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने सन्दर्भमा खेल सङ्ख्या र खेलाडी कोटाका विषयमा आवश्यक छलफल गरी सिफारिस गर्न कार्यकारी समितिलाई जिम्मेवारी दिएको छ ।
साथै, प्रतियोगिताको तयारीबारे प्रदेश खेलकुद परिषद् तथा विभागीय टोलीहरूलाई आवश्यक पत्राचार गर्ने निर्णयसमेत बैठकले गरेको छ । यस निर्णयले पारा खेलाडीहरूलाई समावेशी खेलकुदको अवसर प्रदान गर्दै राष्ट्रिय खेलकुदको दायरा विस्तार गर्ने विश्वास गरिएको छ ।
बैठकमा परिषद्लाई नेपाल सरकारबाट चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको वार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरिएको छ । साथै, परिषद्को आन्तरिक स्रोतबाट अनुमानित आय–व्यय विवरणलाई पनि स्वीकृति प्रदान गरिएको छ । यसले परिषद्का कार्यक्रमहरूलाई समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अन्तरराष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा ‘जेनजी शहीद स्मृति पार्क’ निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, सो परिसरभित्र रहेको अडिटोरियम हललाई ‘जेनजी स्मृति अडिटोरियम हल’ नामकरण गर्ने निर्णयसमेत गरिएको छ । यस निर्णयमार्फत हालैका जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका व्यक्तिहरूको स्मृतिलाई सम्मान गर्ने र भावी पुस्तालाई प्रेरणा दिने उद्देश्य राखिएको छ ।
बैठकले सन् २०२६ मा जापानमा आयोजना हुने २०औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ । उक्त प्रतियोगितामा नेपालको सहभागिताका लागि आवश्यक तयारी, खेलाडी छनोट, प्रशिक्षण तथा व्यवस्थापनका विषयमा सम्बन्धित निकायहरूबीच समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको खेलकुद पहिचान थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
बैठकमा युवा तथा खेलकुद मन्त्री गुप्ताले राष्ट्रिय खेलकुदको विकासका लागि दीर्घकालीन सोच र समन्वित प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
उहाँले खेलकुदलाई केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई स्वास्थ्य, अनुशासन र राष्ट्रिय गौरवसँग जोडिएको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा राखेपका उपाध्यक्ष ध्रुव आर्चाय, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का सदस्य सचिव रामचरित्र मेहता, राखेप बोर्डका सदस्यहरू तथा सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले खेलकुद पूर्वाधार विकास, खेलाडी प्रोत्साहन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रदर्शन सुधारका विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्ले हालैका निर्णयहरूमार्फत खेलकुद क्षेत्रमा समावेशिता, पारदर्शिता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउने लक्ष्य लिएको बताइएको छ । बैठकबाट भएका निर्णयहरू कार्यान्वयनमा आएपछि राष्ट्रिय खेलकुद गतिविधिहरू थप सशक्त र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्