नेपाल एकदिवसीय सिरिज र एसिसी वुमन्स प्रिमियर कपमा विजयी

काठमाडौँ, २७ माघ । नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको शनिबार भएको दोस्रो खेल चार विकेटले जित्दै नेपालले सिरिजमाथि कब्जा जमाएको हो ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर क्यानडाले पहिला ब्याटिङ गर्ने निर्णय ग¥यो । क्यानडाले नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालले उक्त विजयी लक्ष्य ४५ दशमलव एक ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका तीन खेलाडीले अर्धशतकीय पारी खेले । कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८७ रन बनाए । उनले एक सय एक बल खेल्ने क्रममा चार छक्का र आठ चौका प्रहार गरे । यस्तै देव खनालले ८१ बलमा ७६ रन बनाए । उनले त्यसक्रममा दुई छक्का र सात चौका हाने भने  अनिलकुमार साहले तीन छक्का र सात चौकासहित ५० रनको योगदान दिए ।
भीम सार्कीले २३, पवन शर्राफले १४ र आशिफ शेखले १० रन बनाए । बलिङतर्फ क्यानडाका हर्ष थाकर र ईश्वरजोत सोहीले दुई–दुई तथा शाद विन जाफर र दिलप्रित बज्वाले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ८५ रनको योगफल बनायो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे ।
उनले ६२ बलमा १० चौका र दुई छक्का हाने । यस्तै नवनित धलिवालले ४६,  श्रेयश मोभ्वाले ४०, पर्गत सिंहले ३८, निकोलस कीर्तनले २०, उदय भगवान्ले २०, दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाईले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि रोहितकुमार पौडेल र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिए । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक सात रनको जित हासिल गरेको थियो । नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय सिरिज खेलेको हो ।
यसैगरी,  एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक ४० रनको योगदान दिइन् । उनले ३३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका हानिन् । यस्तै सीता रानामगरले अविजित ३६ रन बनाइन् । उनले ३८ बल खेल्दै एक छक्का र एक चौका प्रहार गरिन् । कविता कुँवरले चार रन जोडिन् ।  बलिङतर्फ हङकङकी इक्रा सहर र चान का यिङ क्यारीले एक एक विकेट लिइन् ।
मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन् । हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनायो । हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन् ।
उनले ३१ बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाइन् ।  बलिङतर्फ नेपालकी पूजा महतो र रुविना क्षेत्रीले दुई दुई तथा कविता जोशी र सीता रानामगरले एक एक विकेट लिइन् । नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), अप्सरी बेगम, डली भट्ट, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, पुजा महतो र रोमा थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्