काठमाडौँ, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूलाई जेनजी आन्दोलनको मर्म र म्याण्डेटलाई स्मरण गर्दै सहकार्यको बाटो रोज्न आह्वान गर्नुभएको छ ।
पार्टीको नवौँ केन्द्रीय समितिको चौथो विशेष बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा माओवादीका महासचिव नेत्रविक्रम चन्दले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र कानुनी जटिलतालाई समाधान नगरी निर्वाचनतर्फ जानु उपयुक्त नहुने धारणा सार्वजनिक गर्नुभएको छ ।
उहाँले समस्याहरू यथावत् राखेर गरिने निर्वाचनले देशलाई दिगो निकास दिन नसक्ने स्पष्ट पार्नुभयो ।
महासचिव चन्दले वर्तमान राजनीतिक संकटको समाधानका लागि गहिरो संरचनात्मक सुधार आवश्यक रहेको बताउँदै समाजवादी सङ्घीयताको मर्मअनुरूप राज्यको ढाँचा पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार अग्राधिकारसहितको सङ्घीय संरचना स्थापना गर्दै राज्यका सबै अङ्गलाई जनताको अपनत्व अनुभूत हुने गरी पुनःसंरचना गर्नु नै मुलुकको दीर्घकालीन स्थायित्वका लागि अपरिहार्य छ ।
उहाँले अन्तरिम कालको नेतृत्व आफ्नो पार्टीलाई जिम्मा दिइए आन्दोलनकारी जनता तथा सबै राजनीतिक शक्तिलाई स्वीकार्य हुने गरी समग्र निकास खोज्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
“यदि अन्तरिम नेतृत्व हाम्रो पार्टीलाई दिइन्छ भने आन्दोलनमा सहभागी जनताको भावनालाई केन्द्रमा राखेर सबै पक्षलाई चित्तबुझ्ने समाधानतर्फ पहल गर्नेछौँ,” महासचिव चन्दले भन्नुभयो । तर, सो अवस्था सम्भव नभए राजनीतिक शक्तिहरूबीच सहमतिको आधारमा उपयुक्त निकास खोजिनुपर्ने उहाँको सुझाव थियो ।
महासचिव चन्दले जेनजी आन्दोलनपछि पनि जनताले उठाउँदै आएका आधारभूत मागहरू सम्बोधन हुन नसक्नु दुःखद भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार आन्दोलनले उठाएका सवालहरू केवल सत्ता परिवर्तन वा निर्वाचनसँग मात्र सीमित नभई शासन प्रणाली, सुशासन र न्यायसँग गहिरो रूपमा जोडिएका छन् । यसर्थ, ती विषयलाई बेवास्ता गर्दै निर्वाचनमा मात्र केन्द्रित हुनु दीर्घकालीन समाधान नभएको उहाँको धारणा थियो।
सरकारप्रति सुझाव राख्दै महासचिव चन्दले भ्रष्टाचारको अन्त्य, सुशासनको प्रवद्र्धन र सार्वजनिक जवाफदेहितालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । उहाँले जनताको विश्वास पुनःस्थापना गर्न भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नु अपरिहार्य रहेको बताउनुभयो ।
“भ्रष्टाचार अन्त्य, भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही र संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचन कार्यकारी व्यवस्था स्थापना गर्नु जेनजी आन्दोलनको स्पष्ट म्याण्डेट हो,” महासचिव चन्दले भन्नुभयो । उहाँले पछिल्लो समय गठन भएको अन्तरिम सरकारले यी मूल एजेन्डालाई प्राथमिकतामा नराखी केवल निर्वाचनलाई मात्र केन्द्रमा राखेर काम गरिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
महासचिव चन्दले जनआन्दोलनको बलबाट उठेका एजेन्डालाई ओझेलमा पारेर गरिने राजनीतिक प्रक्रिया जनअपेक्षाअनुसार नहुने चेतावनी दिनुभयो । उहाँका अनुसार, जनताको आकाङ्क्षा सम्बोधन नगरी गरिने निर्वाचनले असन्तोष थप गहिरो बनाउने जोखिम रहन्छ ।
पत्रकार सम्मेलनमा उहाँले माओवादी पार्टी राजनीतिक स्थिरता, सामाजिक न्याय र समानतामूलक व्यवस्था स्थापनाका लागि प्रतिबद्ध रहेको पुनः स्पष्ट पार्नुभयो ।
महासचिव चन्दको अभिव्यक्तिले वर्तमान राजनीतिक परिस्थितिमा निर्वाचन, शासन प्रणाली र आन्दोलनका उपलब्धिहरूको संरक्षणबारे बहसलाई थप सशक्त बनाएको छ । उहाँले उठाउनुभएको संरचनात्मक सुधार र जनआन्दोलनको म्याण्डेटलाई केन्द्रमा राखेर समाधान खोज्ने प्रस्तावलाई राजनीतिक वृत्तमा गम्भीर रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्