काठमाडौँ, ११ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक सहकार्य र वैकल्पिक शक्ति निर्माणका उद्देश्यले विभिन्न राजनीतिक दलका नेता, जेनजी आन्दोलनका प्रतिनिधि तथा नयाँ शक्तिका अभियन्तासँग भेटवार्तालाई तीव्र बनाउनुभएको छ ।
बिहीबार बिहानदेखि साँझसम्म निरन्तर रूपमा भएका भेटघाट र छलफलले मेयर शाह सक्रिय संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको स्पष्ट संकेत दिनुभएको छ ।
यसै क्रममा बिहीबार अपराह्न मेयर शाहले जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग ललितपुरको कुपण्डोलस्थित आफ्ना निकट सहयोगी कुमार व्यञ्जनकारको निवासमा करिब २० मिनेट लामो छलफल गर्नुभएको थियो ।
उक्त भेटमा जेनजी आन्दोलनका विभिन्न समूहका अगुवा तथा प्रतिनिधिहरू सहभागी थिए । छलफलको क्रममा मेयर शाहले आफूले राजनीतिको नयाँ अध्याय सुरु गरेको र सबै वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेको जेनजी अगुवा प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।
“हामी वैकल्पिक शक्ति हौं, राजनीतिको नयाँ अध्याय सुरु गरेका छौं । सबै जना मिलेर जानुपर्छ,” मेयर शाहको भनाइ उद्धृत गर्दै ज्ञवालीले भन्नुभयो, “उहाँले जेनजीहरूलाई पनि एक भएर अघि आउन आग्रह गर्नुभयो।”
भेटका क्रममा केही जेनजी प्रतिनिधिहरूले सरकारसँग यसअघि भएका सम्झौताका विषयमा आफ्ना जिज्ञासा र धारणा राखेका थिए । ‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले जेनजी आन्दोलन र राष्ट्रपतिबीच औपचारिक सहमति आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
“राष्ट्रपतिसँग सम्झौता हुनुपर्छ, नभए काम गाह्रो हुन्छ । जेनजीहरू छुट्टाछुट्टै भएर अघि बढ्न सक्दैनन्,” गुरुङको भनाइ उद्धृत गर्दै एक सहभागीले जानकारी दिए ।
जेनजी प्रतिनिधि युजन राजभण्डारीका अनुसार मेयर शाहले स्वच्छ छवि भएका सबै युवाहरू राजनीतिमा सक्रिय भएर अगाडि आउनुपर्नेमा जोड दिनुभएको थियो । “सबै मिल्नुप¥यो, स्वच्छ छवि भएकाहरू अगाडि आउनुपर्छ,” मेयरको भनाइ उद्धृत गर्दै राजभण्डारीले बताउनुभयो ।
नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले पनि बैठकमा आफ्नो धारणा राख्दै युवाहरूले धेरै व्यक्तिगत त्याग गर्दै राजनीतिमा प्रवेश गरिरहेको उल्लेख गर्नुभएको थियो । “हामी मिड–ट्वान्टिजमै राजनीतिमा आउँदैछौं। धेरै कुरा त्यागेर आएका छौं । यो हाम्रो जीवनको ठूलो निर्णय हो, त्यसैले धेरै विषयमा मिलेर जानुपर्छ,” बमको भनाइ उद्धृत गरिएको छ ।
त्यस्तै, जेन फोर्सका संयोजक रोहनराज दंगालले मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँग सहकार्यको सम्भावनाबारे जानकारी गराएको बताउनुभयो । “रवि र कुलमान दुवै एक ठाउँमा आउने विषयमा सकारात्मक हुनुहुन्छ । तपाईंहरू पनि यसमा सकारात्मक रूपमा सहभागी हुनुस्,” मेयर शाहको भनाइ उद्धृत गर्दै दंगालले बताउनुउनुभयो ।
मेयर शाहले जेनजी समूहभित्र २५ वर्ष उमेर पूरा गरेका युवाहरूलाई आगामी निर्वाचनमा उम्मेदवार बनाउने विषयमा समेत छलफल गर्न सकिने संकेत गर्नुभएको थियो । “सबैलाई कसरी जिम्मेवारी दिने भन्ने विषयमा छलफल गरौंला,” उहाँको भनाइ रहेको सहभागीहरूले बताएका छन् ।
जेनजी प्रतिनिधिसँगको भेटअघि र पछि मेयर शाहले बिहीबार दिनभरि नै विभिन्न राजनीतिक नेतासँग लगातार भेटवार्ता गर्नुभएको छ । बिहान सबैभन्दा पहिले उहाँले ऊर्जामन्त्री कुलमान घिसिङसँग भेट गर्नुभएको थियो ।
उज्यालो नेपाल पार्टीमार्फत औपचारिक राजनीतिमा प्रवेश गरिसकेका घिसिङ र मेयर शाहबीच सहकार्यको विषय लगभग टुंगिएको बालेन निकट स्रोतले जनाएको छ ।
उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको भए पनि उक्त पार्टीलाई निष्क्रिय बनाएर घिसिङ ‘देश विकास पार्टी’ मा सामेल हुने वा दुवै पार्टी एकता गरेर अघि बढ्ने विकल्पमाथि छलफल भइरहेको जनाइएको छ ।
देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको पार्टी हो । यसका अध्यक्ष सन्ध्या खनाल हुनुहुन्छ भने चुनाव चिह्न ‘लौरो’ रहेको छ । यही लौरो चिह्नबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित हुनुभएको थियो ।
कुलमान घिसिङसँगको भेटपछि मेयर शाहले नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांसद सुनील शर्मासँग पनि छलफल गर्नुभएको थियो । त्यसपछि उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएको थियो । बालेन र रविबीच यसअघि सोमबार राति ‘वान अन वान’ भेट भएको थियो, जसपछि मेयर शाहले राजनीतिक भेटघाटलाई तीव्र बनाउनुभएको हो ।
उक्त भेटमा लामिछानेले बालेनलाई नै प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि बढाएर सहकार्य गर्ने प्रस्ताव गरेको बताइन्छ । तर ठोस प्रस्ताव नआएकाले मेयर शाहले आफ्नो तर्फबाट छुट्टै राजनीतिक समीकरण बनाउने तयारी थालेको निकट स्रोतको भनाइ छ । बिहीबारको भेट सकारात्मक भए पनि तत्काल निष्कर्ष ननिस्किएको र पुनः छलफल हुने जनाइएको छ ।
यसैगरी, मेयर शाहले पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा.बाबुराम भट्टराईसँग पनि भेटवार्ता गर्नुभएको छ । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा.भट्टराईले नयाँ र वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “नयाँ शक्ति निर्माणका लागि समन्वय गर्न मेयर बालेनले नेतृत्व लिनुपर्छ,” भट्टराईले बताउनुभयो ।
त्यसपछि मेयर शाहले हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारसँग पनि भेट गर्नुभएको छ । उक्त भेटमा भ्रष्टाचारविरुद्धको अभियान, सुशासन र नयाँ राजनीतिक शक्तिको आवश्यकता विषयमा छलफल भएको सुनारले जानकारी दिनुभयो ।
बिहीबार दिनभरि भएका यी ‘म्याराथन मिटिङ’ ले मेयर बालेन शाहले संसदीय राजनीतिमा सक्रिय रूपमा प्रवेश गरेको सशक्त सन्देश दिनुभएको छ । उहाँले नयाँ, स्वच्छ र वैकल्पिक शक्तिलाई एकीकृत गर्दै आगामी निर्वाचनमा देशव्यापी उम्मेदवारी दिने तयारी गरिरहेको बुझिएको छ ।
समानुपातिक सूची बुझाउने समय नजिकिँदै जाँदा मेयर शाहले छलफललाई तीव्र बनाएको बताइन्छ । निर्वाचन आयोगमा पुस १३ र १४ गते समानुपातिक बन्दसूची बुझाउनुपर्ने भएकाले देश विकास पार्टीले करिब ११० निर्वाचन क्षेत्रका उम्मेदवार तय गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।
यसअघि पनि मेयर शाहले कांग्रेस नेता चन्द्र भण्डारी, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, राप्रपाका ज्ञानेन्द्र शाही, जनमत पार्टीका सिके राउत, चिकित्सक डा. भगवान कोइराला लगायतसँग छलफल गरिसक्नुभएको छ । यी भेटवार्ताहरूले मुलुकको राजनीतिमा नयाँ समीकरण र वैकल्पिक शक्तिको सम्भावनाबारे बहसलाई थप गहिरो बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्