‘कांग्रेसले निर्वाचनमा भाग लिन्छ, तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ’

काठमाडौँ, ८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन समयमै सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ । सोमबार काठमाडौँ क्षेत्र नम्बर ६ का कांग्रेस कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उहाँले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन आयोजना गरेर भए पनि पार्टीलाई निर्वाचनमा सहभागी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

महामन्त्री थापाले कांग्रेसजस्तो लोकतान्त्रिक र राष्ट्रिय जिम्मेवारी बोकेको पार्टीमा महाधिवेशन नियमित रूपमा हुनुपर्ने उल्लेख गर्दै त्यसमा ढिलाइ हुनु पार्टीका लागि सकारात्मक संकेत नभएको बताउनुभयो । उहाँले महाधिवेशन टार्ने उद्देश्यले केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइएको गुनासो पनि गर्नुभयो । पार्टीभित्र समयमै निर्णय नहुँदा कार्यकर्तामा अन्योल र असन्तुष्टि बढ्ने खतरा रहने उहाँको भनाइ थियो ।

उहाँले संविधानलाई सही दिशामा लैजानका लागि फागुन २१ गते निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । “संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी नेपाली कांग्रेसको हो,” महामन्त्री थापाले भन्नुभयो । निर्वाचनमार्फत जनताको अभिमत लिने प्रक्रिया लोकतन्त्रको मूल आधार भएकाले त्यसमा कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने उहाँको धारणा थियो । उहाँका अनुसार बदलिएको र सुधारिएको कांग्रेसले मात्र देश परिवर्तन गर्न सक्ने भएकाले १५औँ महाधिवेशन चाँडो सम्पन्न गर्नु अपरिहार्य छ ।

महामन्त्री थापाले वर्तमान अवस्थामा जनताले भ्रष्टाचार र कुशासनको अन्त्य खोजिरहेको उल्लेख गर्नुभयो । जनताको यही चाहनालाई सम्बोधन गर्न कांग्रेस दृढतापूर्वक अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । उहाँले कुनै पनि संस्थालाई दलीयकरण गर्ने गलत प्रवृत्तिलाई कांग्रेसले अन्त्य गर्दै सुशासन र पारदर्शिताको बाटो अपनाउनुपर्ने स्पष्ट गर्नुभयो । राज्यका निकायलाई निष्पक्ष र सक्षम बनाउने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको उहाँले बताउनुभयो ।

कांग्रेस राष्ट्रिय शक्ति भएकाले देशलाई सम्हाल्ने प्रमुख जिम्मेवारी पार्टीमाथि आएको महामन्त्री थापाको भनाइ थियो । उहाँले वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले केवल सत्ता राजनीति मात्र होइन, राष्ट्रिय हित र लोकतान्त्रिक मूल्यको रक्षा गर्ने भूमिकामा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

जनताको भरोसा जित्न पार्टीभित्रैबाट सुधार र अनुशासन आवश्यक रहेको उहाँको जोड थियो।महामन्त्री थापाले नागरिकमा बढ्दै गएको असन्तुष्टि र आक्रोशलाई पछिल्लो समय देखिएको जेन–जी आन्दोलनले प्रतिनिधित्व गरेको उल्लेख गर्नुभयो । युवापुस्ताको भावना, अपेक्षा र सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँको धारणा थियो ।

जेन–जी आन्दोलनले देखाएको मर्म र भावनाअनुसार राजनीतिक दलहरूले आफूलाई सच्च्याउँदै अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । युवाको आवाजलाई बेवास्ता गरे लोकतान्त्रिक प्रणाली नै कमजोर हुने खतरा रहने उहाँको चेतावनी थियो ।

उहाँले फागुन २१ गते निर्वाचन नभए देश पुनः अनिश्चिततातर्फ फर्कने सम्भावना रहेको पनि उल्लेख गर्नुभयो । राजनीतिक अस्थिरता, अन्योल र विश्वासको संकटबाट देशलाई जोगाउन निर्वाचन नै सबैभन्दा उपयुक्त उपाय भएको महामन्त्री थापाको भनाइ थियो । त्यसका लागि सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने भए पनि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँले स्पष्ट गर्नुभयो ।

सम्बोधनको क्रममा महामन्त्री थापाले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर संगठन मजबुत बनाउन आह्वान गर्नुभयो । आन्तरिक लोकतन्त्र सुदृढ गर्दै समयमै महाधिवेशन सम्पन्न गरी जनताको विश्वास जित्ने दिशामा कांग्रेस अघि बढ्नुपर्ने उहाँको निष्कर्ष थियो । कांग्रेस बलियो बने मात्र लोकतन्त्र, संविधान र देशको भविष्य सुरक्षित हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्